16
“आबीब महिनाको सम्झना राखेर परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु निस्तार-चाड मान्‍नू किनकि आबीब महिनामा नै परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई रातमा मिश्रबाट ल्याउनुभयो ।2 परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्नो पवित्र वासस्थानको रूपमा छान्‍नुहुने ठाउँमा गाईवस्तु र भेडा-बाख्राबाट उहाँको सामु निस्तार-चाडको बलि चढाउनू ।3 योसँगै खमिर हालेको रोटी नखानू । सात दिनसम्म अखमिरी रोटी अर्थात् कष्‍टको रोटी खानू । किनकि तिमीहरू हतारमा मिश्र देशबाट निस्केर आयौ । तिमीहरू मिश्र देशबाट निस्केर आएको दिनलाई याद राख्‍न तिमीहरूका जीवनभरि यसको पालन गर्नू ।4 सात दिनसम्म तिमीहरूका सबै सिमानाभित्र कुनै पनि खमिर देखिनुहुँदैन । पहिलो दिनको साँझमा तिमीहरूले चढाउने बलिको कुनै पनि मासु भोलि बिहानसम्म रहनुहुँदैन ।5 परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुहुने जुनसुकै सहरमा तिमीहरूले निस्तार-चाडको बलि नचढाउनू ।6 बरु, परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्नो पवित्र स्थानको रूपमा छान्‍नुहुने ठाउँमा त्‍यो चढाउनू । तिमीहरू मिश्रबाट निस्केर आएको वर्षको समय पारेर सूर्योदयको बेला साँझमा निस्तार-चाडको बलि चढाउनू ।7 परमप्रभु तिमीहरूका परमेश्‍वरले छान्‍नुहुने ठाउँमा त्‍यसलाई पोलेर खानू । तिमीहरू बिहान फर्केर आ-आफ्ना पालमा जानू ।8 छ दिनसम्म तिमीहरूले अखमिरी रोटी खानू । सातौँ दिनमा परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु पवित्र सभा हुनेछ । त्‍यस दिन तिमीहरूले कुनै काम नगर्नू ।9 तिमीहरूले आफ्ना लागि सात दिन गन्‍नू । पाकेको बाली काट्न सुरु गर्ने समयदेखि तिमीहरूले सात दिन गन्‍नू ।10 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको आशिष्‌मुताबिक तिमीहरूले दिने स्वैच्‍छिक बलिको योगदानसहित परमप्रभु तिमीहरूका परमेश्‍वरका लागि साताहरूको चाड मान्‍नू ।11 परमप्रभु तिमीहरूका परमेश्‍वरले पवित्र वासस्थानको रूपमा छान्‍नुहुने ठाउँमा तिमीहरू, तिमीहरूका छोराछोरी, तिमीहरूका कमारा-कमारी, सहरभित्र भएको लेवी र परदेशीसाथै तिमीहरूका बीचमा भएका अनाथ र विधवाले परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु आनन्‍द मनाओ ।12 तिमीहरू मिश्रमा कमारा थियो भनी तिमीहरूले याद गर्नू । तिमीहरूले यी विधिहरू मान्‍नू र पालन गर्नू ।13 तिमीहरूका खला र दाखको कोलबाट सबै फसल जम्मा गरिसकेपछि तिमीहरूले सात दिनसम्म छाप्रो-वासको चाड मान्‍नू ।14 तिमीहरू, तिमीहरूका छोराछोरी, तिमीहरूका कमारा-कमारी, लेवी र परदेशीसाथै तिमीहरूका सहरभित्र भएका अनाथ र विधवाले चाड अवधिमा आनन्‍द मनाओ ।15 परमप्रभु तिमीहरूका परमेश्‍वरले छान्‍नुहुने ठाउँमा उहाँको लागि सात दिनसम्म यो चाड मान्‍नू किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका सबै फसल र तिमीहरूका हातका सबै काममा आशिष् दिनुहुनेछ र तिमीहरू पूर्ण रूपमा आनन्‍दित हुनेछौ ।16 परमप्रभु तिमीहरूका परमेश्‍वरले छान्‍नुहुने ठाउँमा वर्षको तीन पटक तिमीहरूका सबै पुरुष उहाँको सामु खडा होओः अखमिरी रोटीको चाडमा, साताहरूको चाडमा र छाप्रो-वासको चाडमा । परमप्रभुको सामु कोही पनि रित्तो हात नजानू ।17 बरु, आफूले सकेजति हरेकले दिनू ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको आशिष्‌लाई तिमीहरूले जान्‍न सक ।18 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने तिमीहरूका सबै सहरमा न्‍यायकर्ता र अधिकारीहरू नियुक्त गर्नू । तिमीहरूका हरेक कुलबाट तिनीहरूलाई छान्‍नू, र तिनीहरूले मानिसहरूको निष्पक्ष न्‍याय गरून् ।19 तिमीहरूले जबरजस्ती न्‍याय हरण नगर । पक्षपात नगर न त घूस लेओ किनकि घूसले बुद्धिमानीहरूको आँखालाई अन्धो तुल्याई धर्मीहरूका वचनलाई बङ्‌ग्याइदिन्‍छ ।20 न्‍यायको मात्र पछि लाग ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूले दिनुहुने देशलाई अधिकार गरी त्‍यहाँ तिमीहरू बस्‍न सक्‍नेछौ ।21 तिमीहरूले आफ्ना लागि परमप्रभु तिमीहरूका परमेश्‍वरको वेदीको छेउमा अशेरा देवीको निम्ति कुनै पनि खम्बा खडा नगर्नू ।22 तिमीहरूले आफ्ना लागि कुनै चोखा ढुङ्‌गा खडा नगर्नू जसलाई परमप्रभु तिमीहरूका परमेश्‍वरले घृणा गर्नुहुन्‍छ ।”