15
“हरेक सात वर्षको अन्त्यमा कर्जाहरू रद्द गरिदिनू ।2 त्यो काम यसरी गरिनेछः हरेक ऋणदाताले आफ्नो छिमेकीलाई दिएको ऋण रद्द गरिदिनेछ । त्यसले आफ्नो छिमेकी वा भाइबाट ऋणको माग गर्दैन किनकि परमप्रभुको कर्जामाफीको घोषणा गरिएको छ ।3 तिमीहरूले परदेशीबाट चाहिँ यसको माग गर्न सक्छौ, तर तिम्रो भाइको ऋणचाहिँ फुक्का गरिदेओ ।4 तथापि, तिमीहरूका बीचमा कोही गरिब हुनुहुँदैन (किनकि परमप्रभुले तिमीहरूलाई सम्पत्तिको रूपमा अधिकार गर्न दिनुहुने देशमा तिमीहरूलाई निश्चय नै आशिष् दिनुहुनेछ) ।5 तर यसको लागि तिमीहरूले आज मैले तिमीहरूलाई दिएका यी सबै आज्ञा पालन गर्न परमप्रभु तिमीहरूका परमेश्वरको आवाज होशियारीसाथ सुन्नुपर्छ ।6 किनकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूसित प्रतिज्ञा गर्नुभएझैँ उहाँले तिमीहरूलाई आशिष् दिनुहुनेछ । तिमीहरूले धेरै जातिहरूलाई ऋण दिनेछौ, तर तिमीहरूले ऋण लिनेछैनौ । तिमीहरूले धेरै जातिहरूमाथि शासन गर्नेछौ, तर तिनीहरूले तिमीहरूमाथि शासन गर्नेछैनन् ।7 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिन लाग्नुभएको देशको कुनै पनि सहरभित्र तिमीहरूका बीचमा कुनै पनि भाइ गरिब भयो भने तिमीहरूको गरिब भाइप्रति तिमीहरूले आफ्नो हृदय कठोर पार्नु हुँदैन न त मुट्ठी बाँध्नु हुन्छ ।8 तर तिमीहरूले उसलाई निश्चय नै आफ्नो हात खुला गर्नू, र उसको खाँचोको लागि पर्याप्त मात्रामा ऋण दिनू ।9 ‘सातौँ वर्ष अर्थात् छुटकाराको वर्ष नजिकै छ’ भनी आफ्नो मनमा दुष्ट विचार ननिम्त्याउन होशियार होओ ताकि तिमीहरूका बीचमा भएको गरिब भाइप्रति लोभी नभएर तिमीहरूले उसलाई दिन सक । तिमीहरू लोभी भयौ भने त्यो पाप हुन्छ ।10 निश्चय नै तिमीहरूले उसलाई दिनू, र तिमीहरूले उसलाई दिँदा हृदयमा दुःख नमान्नू किनकि यसको साटो परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका सबै काम र तिमीहरूले हात हाल्ने सबै थोकमा आशिष् दिनुहुनेछ ।11 किनकि देशमा गरिबहरूको कहिल्यै अन्त्य हुनेछैन । त्यसकारण म तिमीहरूलाई आज्ञा दिन्छु, ‘तिमीहरूको देशमा खाँचोमा परेको तिमीहरूका भाइ र गरिबको लागि तिमीहरूले आफ्नो हात खुला राख्नू ।’12 तिमीहरूका हिब्रू भाइ या बहिनी तिमीकहाँ बेचिएको छ र त्यसले छ वर्षसम्म सेवा गरेको छ भने सातौँ वर्षमा तिमीहरूले त्यसलाई स्वतन्त्र भएर जान दिनू ।13 तिमीहरूले त्यसलाई स्वतन्त्र भएर जान दिँदा त्यसलाई रित्तो हात नपठाओ ।14 तिमीहरूका भेडा-बाख्रा, खला र दाखको कोलबाट त्यसलाई प्रशस्त मात्रामा लिएर जान देओ । परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष् दिनुभएमुताबिक त्यसलाई दिनू ।15 तिमीहरू मिश्र देशमा कमारा थियौ र परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई छुटकारा दिनुभएको थियो भनी तिमीहरूले याद गर्नू । त्यसकारण आज मैले तिमीहरूलाई यो आज्ञा दिँदै छु ।16 त्यसले तिमीहरू र तिमीहरूको घरलाई माया गरेकोले र तिमीहरूसित राम्ररी बसेकोले ‘म तपाईंहरूकहाँबाट जान्नँ’ भन्यो भने,17 एउटा सुतारो लिएर त्यसको कानको लोती ढोकामा लगाएर छेड्नू, र त्यो जीवनभरि तिमीहरूको कमारो हुनेछ । तिमीहरूका कमारीलाई पनि यसै गर्नू ।18 त्यसलाई फुक्का भएर जान दिन अप्ठ्यारो नमान्नू किनकि त्यसले छ वर्षसम्म तिमीहरूको सेवा गरेको छ र ज्यालादारी व्यक्तिले गर्ने दोब्बर काम गरेको छ । तिमीहरूले गर्ने सबै काममा परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष् दिनुहुनेछ ।19 तिमीहरूका गाईवस्तु र भेडा-बाख्राका सबै पहिले जन्मेकाहरूलाई परमप्रभु तिमीहरूका परमेश्वरको लागि अलग गर्नू । गाईवस्तुबाट पहिले जन्मेकाहरूलाई कुनै काम नगराउनू न त भेडा-बाख्राबाट पहिले जन्मेकाहरूबाट ऊन कत्रनू ।20 परमप्रभु तिमीहरूका परमेश्वरले छान्नुहुने ठाउँमा वर्षैपिच्छे उहाँको सामु तिमीहरू र तिमीहरूको घरानाले पहिले जन्मेकोलाई खानू ।21 त्यो लङ्गडा वा अन्धा वा त्यसमा कुनै किसिमको खोट छ भने तिमीहरूले त्यो परमप्रभु तिमीहरूका परमेश्वरको सामु नचढाउनू ।22 त्यसलाई तिमीहरूकै सहरभित्र खानू । हरिण वा मृगको मासु खाएझैँ शुद्ध र अशुद्ध व्यक्तिहरूले समान रूपमा खानू ।23 केवल तिमीहरूले यसको रगतचाहिँ नखानू । पानीझैँ गरी यसलाई भुइँमा पोखाइदिनू ।”