14
“तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरका मानिसहरू हौ । मृतकहरूका लागि तिमीहरूले आफ्नो शरीरमा चोट नपुर्‍याउनु न त आफ्नो शिरको अगाडिको भाग खौरनू ।2 किनकि तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको लागि अलग गरिएका जाति हौ, र परमप्रभुले पृथ्वीको सतहमा बसोबास गर्ने सबै जाति भन्‍दा उहाँको आफ्नै निज सम्पत्ति हुन तिमीहरूलाई छान्‍नुभएको छ ।3 तिमीहरूले कुनै घृणित खानेकुरो नखाओ ।4 तिमीहरूले खान हुने प्राणीहरू यी नै हुन्ः गोरु, भेडा र बोका,5 मृग, हरिण, बराँठ, जङ्‌गली बोका, चित्तल र पहाडी भेडा ।6 दुई भागमा खुर चिरिएका र उग्रने कुनै पनि पशु तिमीहरूले खान सक्छौ ।7 तथापि, दुई भागमा खुर चिरिएका र उग्रने यी प्राणीहरूचाहिँ नखानूः ऊँट, खरायो, शापान, किनभने तिनीहरूले उग्रन्‍छन् तर तिनीहरूको खुर चिरिएको हुँदैन । त्‍यसैले ती तिमीहरूका निम्ति अशुद्ध हुन् ।8 सुँगुर पनि तिमीहरूका लागि अशुद्ध हो किनकि त्‍यसको खुर चिरिएको हुन्‍छ तर त्‍यसले उग्रँदैन । त्‍यो तिमीहरूका निम्ति अशुद्ध हो । सुँगुरको मासु नखानू, र तिनीहरूका सिनु नछुनू ।9 पानीमा बस्‍ने यी जलजन्‍तुहरूमध्‍ये पखेटा र कत्ला भएका तिमीहरूले खान सक्छौ ।10 तर पखेटा र कत्ला नभएकाहरूचाहिँ तिमीहरूले नखानू । ती तिमीहरूका लागि अशुद्ध हुन् ।11 तिमीहरूले सबै शुद्ध पक्षी खान सक्छौ ।12 तर तिमीहरूले यी पक्षीहरूचाहिँ नखानूः गरुड, गिद्ध, कालो गिद्ध,13 सबै थरीका रातो चील, कालो चील ।14 तिमीहरूले कुनै पनि किसिमको काग,15 र अस्ट्रिच, ठूलो लाटोकोसेरो, समुद्री चरो, सबै थरीका बाज,16 सानो लाटोकोसेरो, ठूलो लाटोकोसेरो, सेतो लाटोकोसेरो, मरुभूमिको लाटोकोसेरो,17 माछा मार्ने चील र जल कौवा खानुहुँदैन ।18 तिमीहरूले सारस, कुनै पनि किसिमको बकुल्ला, फाप्रे चरो र चमेरो खानुहुँदैन ।19 बथान-बथानमा उड्ने सबै किरा तिमीहरूका लागि अशुद्ध हुन् । तिमीहरूले ती खानुहुँदैन ।20 तर पखेटा भएका सबै शुद्ध प्राणी तिमीहरूले खान सक्छौ ।21 आफै मरेको कुनै पनि थोक नखानू । तिमीहरूका सहरहरूभित्र बस्‍ने परदेशीलाई त्‍यो दिन सक्छौ र त्‍यसले खान सक्छ वा यो परदेशीलाई बेच्‍न सक्छौ । किनकि तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको लागि अलग गरिएका जाति हौ । बाख्राको पाठो माउको दूधमा नपकाउनू ।22 वर्षैपिच्‍छे तिमीहरूको खेतबाट आउने सबै उब्जनीबाट निश्‍चय नै दशांश छुट्‌ट्‌याउनू ।23 परमप्रभु तिमीहरूका परमेश्‍वरले जुन ठाउँलाई आफ्नो पवित्र वासस्थानको रूपमा चुन्‍नुहुन्‍छ, त्‍यही ठाउँमा उहाँको सामु तिमीहरूको अन्‍न, नयाँ मद्य, तेल र तिमीहरूका गाईवस्तुसाथै भेडा-बाख्राको पहिले जन्‍मेकाहरूको दशांश खानू । परमप्रभु तिमीहरूका परमेश्‍वरलाई सधैँ आदर गर्न सिक्‍नू ।24 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष् दिनुभएपछि उहाँको पवित्र स्थानको रूपमा छान्‍नुहुने ठाउँमा दशांश लिएर जान तिमीहरूलाई निकै टाढा भयो र तिमीहरूले त्‍यहाँसम्म दशांश लैजान सकेनौ भने,25 तिमीहरूले त्‍यसलाई बेचेर पैसा आफ्नो हातमा लिन सक्छौ अनि परमप्रभु तिमीहरूका परमेश्‍वरले छान्‍नुहुने ठाउँमा जान सक्छौ ।26 त्‍यहाँ तिमीहरूले इच्‍छा लागेअनुसार खर्च गर्न सक्छौः गोरुको लागि वा भेडाको लागि वा दाखमद्यको लागि वा कडा दाखमद्यको लागि वा तिमीहरूको इच्‍छाअनुसार अन्‍य जुनसुकै थोकको लागि । त्‍यहाँ तिमीहरूले परमप्रभु तिमीहरूका सामु खानेछौ अनि तिमीहरू र तिमीहरूको घराना रमाउनेछौ ।27 तिमीहरूका सहरहरूभित्र भएको लेवीलाई नत्‍याग किनकि त्‍यससित तिमीहरूसँग झैँ कुनै हिस्सा वा सम्पत्ति छैन ।28 तिमीहरूले हरेक तीन वर्षको अन्‍त्‍यमा वर्ष-वर्षको उब्जनीको सबै दशांश ल्याउनू, र त्‍यसलाई तिमीहरूका सहरभित्र भण्डारण गर्नू ।29 लेवीसित तिमीहरूसँगै कुनै हिस्सा वा सम्पत्ति नभएकोले लेवीसाथै तिमीहरूका सहरहरूभित्र भएका परदेशी, अनाथसाथै विधवा आएर ती खाऊन् अनि तृप्‍त होऊन् । यसो गर ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूले गर्ने सबै कुरामा तिमीहरूलाई आशिष् देऊन् ।”