18
“पूजाहारीहरू अर्थात् लेवीहरू र सबै लेवी कुलको इस्राएलीहरूसित कुनै हिस्सा वा अंश हुनेछैन । तिनीहरूले आफ्नो अंशको रूपमा आगोद्वारा चढाइएका परमप्रभुका बलिहरू खाऊन् ।2 आफ्ना दाजुभाइहरूका बीचमा तिनीहरूको कुनै अंश नहोस् । तिनीहरूलाई प्रतिज्ञा गरिएअनुसार परमप्रभु नै तिनीहरूका अंश हुनुहुन्छ ।3 गोरु वा भेडा बलिदान गर्ने मानिसहरूबाट पूजाहारीहरूले पाउने भाग यही होः कुम, दुई वटा गाला र आन्द्रा-भुँडी ।4 तिमीहरूको अन्न, नयाँ मद्य, तेलको पहिलो फलसाथै तिमीहरूको भेडाको पहिलो ऊन तिमीहरूले पूजाहारीलाई दिनू ।5 किनकि परमप्रभु तिमीहरूका परमेश्वरले परमप्रभुको नाउँमा सेवा गर्न त्यो र त्यसका छोराहरूलाई सदाको लागि चुन्नुभएको छ ।6 इस्राएलको कुनै पनि सहरमा बसेको कुनै एउटा लेवीले आफ्नो सारा हृदयले इच्छा गरेर परमप्रभुले छान्नुहुने ठाउँमा आयो भने7 परमप्रभुको सामु खडा हुने त्यसका सबै लेवी दाजुभाइले जस्तै गरी त्यसले परमप्रभु त्यसका परमेश्वरको नाउँमा सेवा गरोस् ।8 त्यसको आफ्नो परिवारको सम्पतिको बिक्रीबाट आएको अतिरिक्त त्यसले पनि खानको लागि समान हिस्सा पाउनुपर्छ ।9 जब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिन लाग्नुभएको देशमा आउँछौ तब तिमीहरूले ती जातिहरूका घृणित कुराहरूको देखासिकी गर्न नसिक्नू ।10 तिमीहरूका बीचमा आफ्नो छोरा या छोरीलाई आगोमा बलि गर्ने, शकून-अपशकून बताउने, जोखना हेर्ने, वा गिलासमा भएको चिन्हहरू पढ्ने वा टुनामुना गर्ने,11 मोहनी लगाउने, आत्मासित सल्लाह लिने वा भाग्य बताउने वा मरेकाहरूका आत्मासित कुरा गर्ने कोही पनि नपाइयोस् ।12 किनकि जसले यी कुराहरू गर्छ, त्यो परमप्रभुको दृष्टिमा घृणित हुन्छ । यी घृणित कामहरूको कारणले गर्दा नै परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूकै सामु तिनीहरूलाई धपाउँदै हुनुहुन्छ ।13 तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरको सामु निष्खोट हुनुपर्छ ।14 किनकि तिमीहरूले हराउने जातिहरूले जादूगरी, शकून-अपशकूनको अभ्यास गर्नेहरूको कुरा सुन्छन् । तर परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई त्यसो गर्न अनुमति दिनुभएको छैन ।15 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका बीचबाट तिमीहरूका दाजुभाइबाट म जस्तै एक जना अगमवक्ता खड गर्नुहुनेछ । तिनको कुरा सुन्नू ।16 होरेबमा सभाको दिनमा तिमीहरूले यसो भन्दै परमप्रभु तिमीहरूका परमेश्वरलाई बिन्ती चढायौ, ‘हामीले फेरि परमप्रभु हाम्रा परमेश्वरको आवाज सुन्न नपरोस् न त उहाँको यो डरलाग्दो आगो देख्न परोस् नत्रता हामी मर्नेछौँ ।’17 परमप्रभुले मलाई भन्नुभयो, ‘तिनीहरूले भनेका कुरा ठीक छ ।18 म तिनीहरूकै दाजुभाइहरूका बीचबाट तँ जस्तै एक जना अगमवक्ता खडा गर्नेछु । म त्यसको मुखमा मेरा वचन हालिदिनेछु र त्यसले मैले तँलाई आज्ञा गरेका सबै वचन बोल्नेछ ।19 त्यसले मेरो नाउँमा बोल्ने मेरा वचन नसुन्ने कोही पनि मारिनेछ ।20 तर मेरो नाउँमा अहंकारी भएर मैले आज्ञा नगरेको वचन बोल्ने वा अन्य देवताहरूको नाउँमा बोल्ने अगमवक्ता मारिनैपर्छ ।’21 तिमीहरूले आ-आफ्ना हृदयमा सोधौला, ‘परमप्रभुले बोल्नुभएको वचन होइन भनेर हामीले कसरी थाहा पाउने ?’22 परमप्रभुको नाउँमा बोल्ने अगमवक्ताले बोल्दा तिमीहरूले परमप्रभुको सन्देश थाहा पाउनेछौ ।”