11
“त्‍यसकारण परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्नू, र उहाँका निर्देशन, उहाँका विधिविधानहरू र उहाँका आज्ञाहरू सधैँ पालन गर्नू ।2 ख्याल गर, कि म तिमीहरूका छोराछोरीहरूसित बोलिरहेको छैनँ जसले परमप्रभु परमेश्‍वरलाई चिनेका छैनन्, न त उहाँको दण्ड, उहाँको महान्‌ता, उहाँको शक्तिशाली हात वा फैलिएको पाखुरा,3 चिन्हहरू र कार्यहरू देखेका छैनन् जुन उहाँले मिश्रमा त्‍यहाँका राजा फारो र तिनका सबै देशमा गर्नुभयो ।4 उहाँले मिश्रका सेना, तिनीहरूका घोडाहरू वा तिनीहरूका रथहरू र तिनीहरूले तिमीहरूलाई खेद्‌दा कसरी नर्कटको समुद्रको पानीले तिनीहरूलाई डुबायो र आजको दिनसम्म कसरी परमप्रभुले तिनीहरूलाई नष्‍ट गर्नुभयो5 वा तिमीहरू यस ठाउँसम्म नआइपुगुञ्‍जेलसम्म उहाँले तिमीहरूलाई उजाड-स्थानमा के गर्नुभयो भनी तिनीहरूले देखेनन् ।6 रूबेनवंशी एलिआबका छोराहरू दातान र अबीरामलाई सारा इस्राएलको बीचमा परमप्रभुले के गर्नुभयो र कसरी धरतीले आफ्नो मुख बाएर तिनीहरू, तिनीहरूका घरानाहरू, तिनीहरूका पालहरू र तिनीहरूको पछि लाग्‍ने हरेक जीवित वस्तुलाई निल्यो भनी तिनीहरूले देखेनन् ।7 तर परमप्रभुले गर्नुभएका सबै महान् कामहरू तिमीहरूका आँखाले देखेका छन् ।8 त्‍यसकारण आज मैले तिमीहरूलाई दिएका सबै आज्ञा पालन गर ताकि तिमीहरू बलिया भई तिमीहरूले पारि गई अधिकार गर्ने देशलाई अधिकार गर्न सक,9 र परमप्रभुले तिमीहरू तिमीहरूका पिता-पुर्खाहरूका सन्‍तानहरूलाई दिन्‍छु भनी तिनीहरूलाई प्रतिज्ञा गर्नुभएको दूध र मह बहने देशमा तिमीहरूको आयु लामो हुन सकोस् ।10 किनकि तिमीहरू अधिकार गर्न जान लागेको देश मिश्र देश जस्‍तो होइन जहाँबाट तिमीहरू आयौ, जहाँ तिमीहरूले बीउ रोप्यौ र बारीमा झैँ खुट्टाले पानी हाल्यौ ।11 तर तिमीहरू अधिकार गर्न जाने देश पहाड र बेँसीहरू भएको देश हो जहाँ आकाशका पानीले जमिन भिजाउँछ ।12 यो परमप्रभु तिमीहरूका परमेश्‍वरले देखरेख गर्नुहुने देश हो । परमप्रभु तिमीहरूका परमेश्‍वरका आँखा वर्षको सुरुदेखि अन्‍त्‍यसम्म सदैव यसमाथि हुन्‍छ ।13 तिमीहरूका सारा हृदय र सारा प्राणले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न र उहाँको सेवा गर्न आज मैले तिमीहरूलाई दिएका आज्ञाहरू तिमीहरूले दत्तचित्तसाथ पालन गर्‍यौ भने,14 म तोकिएको ऋतुमा तिमीहरूको देशमा अगिल्लो वृष्‍टि र पछिल्लो वृष्‍टि पठाउनेछु, ताकि तिमीहरूले तिमीहरूको अन्‍न, नयाँ मद्य र तेल जम्मा गर्न सक ।15 म तिमीहरूका गाईवस्तुहरूका लागि खर्कमा घाँस दिनेछु, र तिमीहरू खाएर तृप्‍त हुनेछौ ।16 ध्‍यान देओ, नत्रता तिमीहरू ठगिनेछौ र अन्‍तैतिर लागेर अन्‍य देवताहरूको पूजा गर्नेछौ र तिनीहरूको सामु निहुरनेछौ ।17 अनि परमप्रभुको क्रोध तिमीहरूको विरुद्धमा दन्कनेछ, र उहाँले आकाशलाई बन्‍द गरिदिनुहुनेछ अनि वृष्‍टि रोकिनेछ र जमिनले फसल उत्पादन गर्नेछैन र परमप्रभुले तिमीहरूलाई दिनुहुने असल देशबाट तिमीहरू चाँडै नै नष्‍ट हुनेछौ ।18 त्‍यसकारण, मेरा यी वचनहरू तिमीहरूका हृदय र मनमा भण्डारण गर; तिमीहरूका हातमा चिन्हको रूपमा बाँध र ती तिमीहरूका आँखाका बीचमा फेटा होऊन् ।19 ती आफ्ना छोराछोरीहरूलाई सिकाओ र तिमीहरू घरमा बस्दा, बाटोमा हिँड्दा र सुत्दा अनि उठ्दा तिनको चर्चा गर ।20 तिमीहरूको घरको ढोकाको चौकोसमा र सहरका द्वारहरूमा तिनलाई लेख,21 ताकि स्वर्ग माथि भएसम्म र पृथ्वी तल रहेसम्म परमप्रभुले तिमीहरूलाई दिन्‍छु भनी तिमीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरूका आयु र तिमीहरूका छोराछोरीहरूका आयु लम्बिन सकोस् ।22 किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न, उहाँका सबै मार्गमा हिँड्न र उहाँमा टाँसिन मैले तिमीहरूलाई दिएका आज्ञाहरू तिमीहरूले दत्तचित्तसाथ पालन गर्‍यौ भने,23 परमप्रभुले तिमीहरूकै सामु यी सबै जातिलाई धपाइदिनुहुनेछ, र तिमीहरूले तिमीहरू भन्‍दा महान् र शक्तिशाली जातिहरूलाई पराजित गर्नेछौ ।24 तिमीहरूका खुट्टाका पैतलाले टेकेको हरेक भूमि तिमीहरूको हुनेछ - उजाड-स्थानदेखि लेबनानसम्म, यूफ्रेटिस नदीदेखि पश्‍चिम समुद्रसम्म तिमीहरूको सिमान हुनेछ ।25 कुनै मानिस तिमीहरूको सामु खडा हुन सक्दैन । परमप्रभु तिमीहरूका परमेश्‍वरले भन्‍नुभएझैँ तिमीहरूले कुल्चने सारा भूमिमा उहाँले तिमीहरूको डर र त्रास हालिदिनुहुनेछ ।26 हेर, आज म तिमीहरूका सामु आशिष् र श्राप राख्छु ।27 परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू पालन गर्‍यौ भने तिमीहरूले आशिष् पाउनेछौ,28 र परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू पालन नगरी आज मैले दिएको आज्ञाबाट तिमीहरू तर्केर तिमीहरूले नचिनेका अन्‍य देवताहरूको पछि लाग्यौ भने तिमीहरूले सराप पाउनेछौ ।29 जब परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई तिमीहरूले अधिकार गर्ने देशमा ल्याउनुहुन्‍छ तब तिमीहरूले आशिष्‌चाहिँ गीरीज्‍जीम डाँडामा र श्रापचाहिँ एबाल डाँडामा घोषणा गर्नू ।30 के यी डाँडाहरू पर्दनपारि, पश्‍चिमी सडकको पश्‍चिमपट्टि, अराबामा बस्‍ने कनानीहरूको देशमा गिलगालको नजिक मोरेका फँलाटका रुखहरूको छेउमा छैनन् र ?31 किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएको देशलाई अधिकार गर्न तिमीहरू यर्दन पारि जानुपर्छ र यसलाई अधिकार गरी तिमीहरू त्‍यहाँ बस्‍नेछौ ।32 आज मैले तिमीहरूका सामु राखिदिएका सबै विधिविधान पालन गर्नू ।”