12
“परमप्रभु तिमीहरूका पिता-पुर्खाहरूका परमेश्वरले तिमीहरूलाई अधिकार गर्न दिनुभएको देशमा तिमीहरू बाँचुञ्जेलसम्म तिमीहरूले मान्नुपर्ने विधिविधानहरू यी नै हुन् ।2 जुन जातिहरूलाई तिमीहरूले पराजित गर्छौ तिनीहरूले अग्ला पर्वतहरू, डाँडाहरू र हरेक हरियो रूखमुनि पूजा गर्ने तिनीहरूका देवताहरूलाई निश्चय नै नष्ट पारिदिनू ।3 तिनीहरूका वेदीहरू भत्काइदिनू र तिनीहरूका ढुङ्गाका मूर्तिहरूलाई टुक्राटुक्रा पारिदिनू र तिनीहरूका अशेरा देवीका खम्बाहरू जलाइदिनू । खोपेर बनाइएका तिनीहरूका देवताका मूर्तिहरू काटिदिनू र त्यस ठाउँबाट तिनीहरूका नाउँ मेटिदिनू ।4 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई त्यसरी आराधना नगर्नू ।5 तर जुन ठाउँ परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो नाउँ राख्न तिमीहरूका सबै कुलबाट चुन्नुहुन्छ त्यही नै त्यो ठाउँ हुनेछ जहाँ तिमीहरू बस्छौ र त्यहीँ नै तिमीहरू जानेछौ ।6 त्यहीँ नै तिमीहरूले आफ्ना होमबलि, भेटी, दशांश, तिमीहरूका हातका भेटी, भाकलका भेटी, स्वैच्छिक भेटी र तिमीहरूका गाईवस्तु र भेडा-बाख्राका पहिले जन्मेकाहरूलाई ल्याउनेछौ ।7 त्यहीँ नै तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरको सामु खानेछौ र तिमीहरू र तिमीहरूका घरानाहरूले हात लगाएका हरेक कुराको बारेमा आनन्द मनाउनेछौ जहाँ परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष् दिनुभएको छ ।8 आज यहाँ हामीले गरिरहेका कुनै पनि कुरा नगर्नू । अहिले हरेकलाई आफ्नो दृष्टिमा जे ठीक लाग्छ, त्यसले त्यही गरिरहेको छ ।9 किनकि तिमीहरू अझै पनि विश्राम अर्थात् परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने उत्तराधिकारमा आएका छैनौ ।10 तर जब तिमीहरू यर्दन पारी जान्छौ र परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई सम्पत्तिको रूपमा दिनुहुने देशमा बस्छौ तब उहाँले तिमीहरूलाई तिमीहरूका चारैतिर भएका सबै शत्रुबाट विश्राम दिनुहुनेछ ताकि तिमीहरू सुरक्षितसाथ बस्न सक ।11 अनि जुन ठाउँमा परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो नाउँ राख्न छान्नुहुन्छ त्यहीँ नै मैले तिमीहरूलाई आज्ञा दिने हरेक थोक ल्याओ अर्थात् तिमीहरूका होमबलि, भेटी, दशांश र तिमीहरूका हातका भेटी, परमप्रभुको निम्ति तिमीहरूले चढाउने भाकलका सबै स्वैच्छिक भेटी ल्याओ ।12 तिमीहरू, तिमीहरूका छोराहरू, तिमीहरूका छोरीहरू, तिमीहरूका कमारा-कमारीहरू र तिमीहरूका सहरभित्र हुने लेवीहरू परमप्रभु तिमीहरूका परमेश्वरको सामु रमाउनेछौ । तिमीहरूका बीचमा बस्ने लेवीहरूसित कुनै हिस्सा वा सम्पत्ति हुँदैन ।13 तिमीहरूका होमबलिहरू तिमीहरूले देख्ने हरेक ठाउँमा नचढाउन होशियार बस ।14 तर परमप्रभुले तिमीहरूका कुलबाट छान्नुहुने एउटा ठाउँमा तिमीहरूले आफ्ना होमबलिहरू चढाउनू र त्यहीँ नै मैले तिमीहरूलाई आज्ञा गरेका हरेक कुरा गर्नू ।15 तथापि, परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको आशिष्लाई स्वीकार गरी तिमीहरूलाई इच्छा लागेअनुसार तिमीहरूका सहरहरूभित्र तिमीहरूले पशु मारेर खान सक्छौ । हरिण र मृगजस्ता प्राणीका मासुहरू शुद्ध र अशुद्ध दुवै थरीका मानिसहरूले खान सक्छन् ।16 तर तिमीहरूले रगतचाहिँ नखाओ । यसलाई पानीझैँ भुइँमा पोखाइदेओ ।17 तिमीहरूको अन्न, नयाँ मद्य, तेल, गाईवस्तु वा भेडा-बाख्राका पहिले जन्मेकाहरूको दशांश तिमीहरूले सहरहरूभित्र खानुहुँदैन । तिमीहरूले गर्ने भाकलसँगै चढाउने कुनै पनि बलिदानको मासु नखाओ न त स्वैच्छिक भेटी वा तिमीहरूका हातले चढाउने भेटीबाट खाओ ।18 बरु, तिमी, तिम्रा छोराछोरी, तिम्रा कमारा-कमारी र तिम्रा सहरहरूभित्र बस्ने लेवीहरूले परमप्रभु तिमीहरूका परमेश्वरले छन्नुहुने ठाउँमा तिनलाई खानू । तिमीहरूले हात लगाउने हरेक कुराको बारेमा तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरको सामु रमाउनेछौ ।19 तिमीहरू आफ्नो देशमा बसुञ्जेलसम्म लेवीहरूलाई नभुल्नमा ध्यान देओ ।20 परमप्रभु तिमीहरूका परमेश्वरले प्रतिज्ञा गर्नुभएबमोजिम उहाँले तिमीहरूका सिमानाहरू बढाउनुहुँदा मासु खाने तिमीहरूको इच्छाको कारणले तिमीहरूले ‘म मासु खानेछु’ भन्दा तिमीहरूले इच्छा लागेअनुसार खान सक्छौ ।21 परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो नाउँ राख्न छान्नुहुने ठाउँ तिमीहरूबाट ज्यादै टाढा भयो भने मैले तिमीहरूलाई आज्ञा दिएअनुसार परमप्रभुले तिमीहरूलाई दिनुभएका गाईवस्तु र भेडा-बाख्राबाट केहीलाई मार्नू, र तिमीहरूको मनले इच्छा गरेअनुसार तिमीहरूले आफ्ना सहरहरूभित्र तिनलाई खान सक्छौ ।22 तिमीहरूले हरिण र मृगलाई खाएझैँ तिनीहरूलाई खान सक्छौ । अशुद्ध र शुद्ध मानिसहरूले समान रूपमा खान सक्छन् ।23 केवल रगत नखाने कुरामा निश्चित होओ किनकि रगत जीवन हो । मासुसँगै जीवन नखाओ ।24 तिमीहरूले रगत नखाओ । यसलाई पानीलाई झैँ भुइँमा खन्याइदिनू ।25 तिमीहरूले रगत नखाओ । तिमीहरूले परमप्रभुको दृष्टिमा जे ठीक छ त्यो गर्यौ भने तिमीहरू र तिमीहरूका छोराछोरीहरूको भलो हुनेछ ।26 तर तिमीहरूसित भएका थोकहरू र भाकलका भेटीहरू जुन परमप्रभुका हुन्, ती लिएर परमप्रभुले छान्नुहुने ठाउँमा जाओ ।27 त्यहाँ परमप्रभु तिमीहरूका परमेश्वरको वेदीमा तिमीहरूले होमबलिसाथै मासु र रगत चढाओ । तिमीहरूका बलिदानको रगत परमप्रभु तिमीहरूका परमेश्वरको वेदीमा खन्याऊ र मासुचाहिँ तिमीहरूले खाओ ।28 मैले तिमीहरूलाई आज्ञा गरेका यी सबै वचनलाई ध्यान दिएर पालन गर ताकि परमप्रभु तिमीहरूका परमेश्वरको दृष्टिमा तिमीहरूले जे ठीक र असल छ त्यही गर्दा तिमीहरू र तिमीहरूका छोराछोरीहरूको सदैव भलो होस् ।29 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका सामु ती जातिहरूलाई निष्कासन गर्नुहँदा तिमीहरू त्यहाँ गई तिनीहरूलाई पराजित गर्ने छौ र तिनीहरूको देशमा बस्नेछौ ।30 होशियार बस, कि तिमीहरूका सामु तिनीहरू नष्ट गरिएपछि तिनीहरूलाई पछ्याउने पासोमा नपर्नू । ‘यी जातिहरूले कसरी तिनीहरूका देवताहरूको पूजा गर्छन् म पनि त्यस्तै गर्नेछु’ भन्दै तिनीहरूका देवताहरूको चासो लिने पासोमा नपर्नू ।31 तिमीहरूले त्यसरी परमप्रभु तिमीहरूका परमेश्वरको आराधना नगर्नू किनकि तिनीहरूले आफ्ना देवताहरूलाई परमप्रभुको दृष्टिमा घृणित हुने(added word, ‘हुने’ पहिला थिएन) हरेक कुरो र उहाँले घृणा गर्ने कुराहरू गरेका छन् । तिनीहरूले आफ्ना छोराछोरीहरू आफ्ना देवताहरूका निम्ति आगोमा होम दिन्छन् ।32 मैले जे-जे आज्ञा दिन्छु, त्यसको पालन गर । यसमा नथप न त यसबाट हटाउने काम गर ।”