10
“त्यस बेला परमप्रभुले मलाई भन्नुभयो, ‘पहिले जस्तै ढुङ्गाका दुई वटा पाटी काट्, र पर्वतमा मकहाँ उक्लेर आइज अनि काठको एउटा सन्दूक बना ।2 तैँले फुटाएका पहिलेका पाटीहरूमा भएका वचनहरू म यी पाटीहरूहरूमा लेख्नेछु, र तैँले तिनलाई सन्दूकमा राख्नू ।’3 त्यसैले मैले बबुल काठको एउटा सन्दूक बनाएँ, र पहिले जस्तै ढुङ्गाका दुई वटा पाटी काटेँ अनि मेरो हातमा ती दुई वटा पाटी लिएर पर्वतमा उक्लेँ ।4 पर्वतमा सभाको दिनमा आगोको बीचबाट परमप्रभुले तिमीहरूलाई बोल्नुभएका दश आज्ञा उहाँले पहिले जस्तै ती पाटीहरूमा लेख्नुभयो र मलाई दिनुभयो ।5 म फर्केर पर्वतबाट तल ओर्लें, र मैले बनाएका सन्दूकमा ती पाटीहरू राखेँ । परमप्रभुले आज्ञा गर्नुभएझैँ ती त्यहाँ थिए ।6 (इस्राएलीहरू बिरोथ-बने-याकानबाट हिँडेर मोसेरामा आए । त्यहाँ हारून मरे, र त्यहीँ गाडिए । तिनको ठाउँमा तिनका छोरा एलाजारले पूजाहारीको पद सम्हाले ।7 त्यहाँबाट तिनीहरू गुदगुदासम्म हिँडे र गुदगुदाबाट खोलाहरू भएको योतबातामा आए ।8 त्यस बेला परमप्रभुको नाउँमा मानिसहरूलाई आशिष् दिन र उहाँको सेवाको लागि उहाँको सामु खडा हुनका लागि परमप्रभुको करार बोक्न उहाँले लेवी कुललाई छान्नुभयो जस्तो आजसम्म चलिआएको छ ।9 त्यसकारण, आफ्ना दाजुभाइहरूसँगै लेवीसित जमिनको कुनै हिस्सा वा सम्पत्ति हुँदैन । परमप्रभु तिमीहरूका परमेश्वरले तिनलाई भन्नुभएझैँ परमप्रभु नै तिनको सम्पत्ति हुनुहुन्छ)10 “पहिले जस्तै म चालीस दिन र चालीस रातसम्म पर्वतमा बसेँ । त्यस बेला पनि परमप्रभुले मेरो कुरा सुन्नुभयो ।11 परमप्रभुले मलाई मार्ने इच्छा गर्नुभएन । परमप्रभुले मलाई भन्नुभयो, ‘उठ् र मानिसहरूलाई यात्रामा अगुवाइ गर्न तिनीहरूको अगि जा । मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिनेछु भनी प्रतिज्ञा गरेको देशमा तिनीहरू जानेछन् र त्यसको अधिकार गर्नेछन् ।’12 अब हे इस्राएली हो, परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूबाट चाहनुभएका कुराहरू यी नै हुन्ः परमप्रभु तिमीहरूका परमेश्वरको भय मान; उहाँका सबै मार्गमा हिँड; उहाँलाई प्रेम गर; परमप्रभु तिमीहरूका परमेश्वरलाई आफ्नो सारा हृदय र सारा प्राणले आराधना गर;13 परमप्रभुका आज्ञा र विधिविधानहरू पालन गर जुन तिमीहरूका भलाइको निम्ति आज मैले तिमीहरूलाई दिँदै छु ।14 हेर, आकाश, आकाशमण्डलहरू, पृथ्वी र तिनमा भएका सबै परमप्रभु तिमीहरूका परमेश्वरकै हुन् ।15 परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूलाई प्रेम गर्नमा उहाँ खुसी हुनुभयो र उहाँले तिमीहरू, तिमीहरूका सन्तानहरू र त्यसपछि आउनेहरूलाई चुन्नुभयो जस्तो तिमीहरू देख्छौ ।16 त्यसकारण, तिमीहरूका हृदयको खतना गर, र अबदेखि उसो हठी नहोओ ।17 किनकि परमप्रभु तिमीहरूका परमेश्वर नै देवहरूका परमेश्वर र प्रभुहरूका प्रभु, महान् परमेश्वर, शक्तिशाली र भययोग्य हुनुहुन्छ जसले कसैको पक्षपात गर्नुहुन्न र घूस लिनुहुन्न ।18 उहाँले अनाथ र विधवाहरूको पक्षमा न्याय गर्नुहुन्छ, र परदेशीलाई भोजन र वस्त्र दिएर प्रेम देखाउनुहुन्छ ।19 त्यसकारण परदेशीलाई प्रेम गर । किनकि तिमीहरू पनि मिश्र देशमा परदेशी नै थियौ ।20 परमप्रभु तिमीहरूका परमेश्वरको भय मान । उहाँको आराधना गर । उहाँमै टाँसिरहो, र उहाँको नाउँमा मात्र शपथ खाओ ।21 उहाँ तिमीहरूको प्रशंसा हुनुहुन्छ, उहाँ तिमीहरूका परमेश्वर हुनुहुन्छ जसले तिमीहरूका आँखाले देख्ने गरी यी महान् र भययोग्य कुराहरू गर्नुभएको छ ।22 तिमीहरूका सत्तरी जना पिता-पुर्खा मिश्रमा गएका थिए । अहिले परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आकाशका ताराहरूजत्तिकै असङ्ख्य बनाउनुभएको छ ।”