9
“हे इस्राएली हो, सुन । तिमीहरू भन्दा महान् र शक्तिशाली जातिहरू अनि आकाशै छुने पर्खाल लगाएका ठूला-ठूला सहरहरूमाथि अधिकार गर्न आज तिमीहरूले यर्दन पार गर्नै लागेका छौ ।2 तिनीहरू महान् र अग्ला छन् जो अनाकका छोराहरू हुन् जसको बारेमा तिमीहरूलाई थाहै छ र ‘अनाकका छोराहरूको सामु को खडा हुन सक्छ ?’ भनी तिमीहरूले सुनेकै छौ ।3 त्यसकारण, आज यो जानिराख कि परमप्रभु तिमीहरूका परमेश्वर नै भस्म गर्ने आगो जस्तै तिमीहरू भन्दा अगिअगि जानुहुन्छ । उहाँले तिनीहरूलाई नष्ट पार्नुहुनेछ, र तिमीहरूको अधीनमा ल्याउनुहुनेछ । त्यसैले परमप्रभुले तिमीहरूलाई भन्नुभएझैँ तिमीहरूले तिनीहरूलाई धपाउनेछौ, र तिनीहरूलाई चाँडै नै नष्ट पार्नेछौ ।4 तिमीहरूकै सामु परमप्रभु तिमीहरूका परमेश्वरले तिनीहरूलाई निकाल्नुभएपछि आफ्नो हृदयमा यसो नभन, ‘मेरो धार्मिकताको कारणले गर्दा परमप्रभुले मलाई यो देश अधिकार गर्न ल्याउनुभएको छ ।’ बरु यी जातिहरूको दुष्टताको कारणले परमप्रभुले तिनीहरूलाई तिमीहरूकै सामु धपाउँदै हुनुहुन्छ ।5 तिमीहरूको धार्मिकता वा तिमीहरूको हृदयको सोझोपनको कारणले गर्दा तिमीहरूले तिनीहरूको देश अधिकार गर्न लागेका होइनौ, तर यी जातिहरूको दुष्टताको कारणले गर्दा तिमीहरूका परमेश्वरले तिमीहरूकै सामुन्ने तिनीहरूलाई धपाउँदै हुनुहुन्छ ताकि उहाँले तिमीहरूका पुर्खाहरू अब्राहाम, इसहाक र याकूबसित शपथ खानुभएको वचनलाई सत्य साबित गर्न सकून् ।6 त्यसकारण यो जानिराख, कि तिमीहरूको धार्मिकताको कारणले परमप्रभु तिमीहरूका परमेश्वरले यो असल देश तिमीहरूलाई अधिकारको लागि दिन लाग्नुभएको होइन किनकि तिमीहरू त हठी मानिसहरू हौ ।7 उजाड-स्थानमा तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई कसरी क्रोधित तुल्यायौ भनी याद राख । तिमीहरूले मिश्र देश छाडेदेखि तिमीहरू यस ठाउँमा नआउञ्जेलसम्म तिमीहरू परमप्रभुको विरुद्धमा विद्रोही बनेका छौ ।8 साथै, हेब्रोनमा तिमीहरूले परमप्रभुलाई क्रोधित तुल्यायौ, र तिमीहरूलाई नाशै पार्ने गरी उहाँ क्रुद्ध हुनुभयो ।9 परमप्रभुले तिमीहरूसित बाँध्नुभएका करारका शिला-पाटीहरू लिन म पर्वतमा उक्लँदा म चालीस दिन चालीस रातसम्म पर्वतमा बसेँ । मैले न रोटी खाएँ, न पानी पिएँ ।10 परमप्रभुले मलाई आफ्नै औँलाले लेख्नुभएका दुई वटा शिला-पाटी दिनुभयो । सभाको दिनमा आगोको बीचबाट परमप्रभुले पर्वतमा बोल्नुभएका सबै वचन तिनमा लेखिएका थिए ।11 ती चालीस दिन र चालीस रातको अन्त्यमा परमप्रभुले मलाई करारका दुई वटा शिला-पाटी दिनुभयो ।12 परमप्रभुले मलाई भन्नुभयो, ‘उठेर छिटो गरी यहाँबाट तल जा किनकि तैँले मिश्रबाट ल्याएका तेरा मानिसहरूले आफैलाई भ्रष्ट पारेका छन् । मैले तिनीहरूलाई आज्ञा गरेको मार्गबाट तिनीहरू चाँडै नै तर्केर गएका छन् । तिनीहरूले आफ्नो निम्ति ढलौटे मूर्ति बनाएका छन् ।’13 यसबाहेक, परमप्रभुले मलाई भन्नुभयो, ‘मैले यी मानिसहरूलाई देखेको छु र तिनीहरू हठी छन् ।14 मलाई एक्लै छोडिदे ताकि मैले तिनीहरूलाई नष्ट गर्नू सकूँ र स्वर्गमूनिबाट तिनीहरूको नाउँ मेटाइदिन सकूँ र तँबाट नै तिनीहरू भन्दा महान् र शक्तिशाली जाति बनाउन सकूँ ।’15 त्यसैले म फर्केर पर्वतबाट ओर्ली आएँ, अनि पर्वत जलिरहेको थियो । करारका दुई वटा शिला-पाटी मेरा हातमा थिए ।16 मैले हेरेँ र तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको विरुद्धमा पाप गरेका थियौ । तिमीहरूले आफ्नो निम्ति बाछाको ढलौटे मूर्ति बनाएका थियौ । परमप्रभुले तिमीहरूलाई आज्ञा गर्नुभएको मार्गबाट तिमीहरू चाँडै नै तर्केर गएका थियौ ।17 मैले ती दुई वटा शिला-पाटीलाई लिएर मेरा हातबाट फालिदिएँ । मैले तिमीहरूकै सामु तिनलाई टुक्राटुक्रा पारिदिएँ ।18 फेरि, मैले न रोटी खाएँ न पानी पिएँ । परमप्रभुको दृष्टिमा दुष्ट काम गरेर उहाँलाई चिढ्याई तिमीहरूका सबै पापको कारणले गर्दा चालीस दिन र चालीस रातसम्म म परमप्रभुको सामु लम्पसार परेँ ।19 किनकि तिमीहरूलाई नाशै पार्ने गरी तिमीहरूको विरुद्धमा भएको परमप्रभुको रीस र कडा बेखुसीको कारणले म भयभीत भएँ । तर त्यस बेला पनि परमप्रभुले मेरो कुरा सुन्नुभयो ।20 हारूनलाई नष्ट गर्ने गरी उहाँ तिनीसित ज्यादै रिसाउनुभयो । त्यस बेला मैले हारूनको लागि पनि प्रार्थना गरेँ ।21 मैले तिमीहरूको पाप अर्थात् तिमीहरूले बनाएको बाछो लिएर त्यसलाई जलाइदिएँ अनि त्यसलाई चकनाचुर पारेर धूलोपीठो पारिदिएँ । मैले त्यस धूलोलाई पर्वतबाट आउने खोलामा फालिदिएँ ।22 तबेरा, मस्साह र किब्रोथ-हत्तावामा तिमीहरूले परमप्रभुलाई क्रोधित तुल्यायौ ।23 परमप्रभुले तिमीहरूलाई कादेश-बर्नेमा यसो भनी पठाउनुहुँदा, ‘मैले तिमीहरूलाई दिएको देशमा गएर त्यसलाई अधिकार गर’ तिमीहरूले परमप्रभु तिमीहरूको परमेश्वरको आज्ञाको विरुद्धमा विद्रोह गर्यौ, अनि उहाँको कुरा मानेनौ वा सुनेनौ ।24 मैले तिमीहरूलाई चिनेको दिनदेखि नै तिमीहरू परमप्रभुको विरुद्धमा बागी भएका छौ ।25 परमप्रभुले तिमीहरूलाई नष्ट गर्नुहुने थियो भनी उहाँले भन्नुभएकोले म चालीस दिन चालीस रातसम्म उहाँको सामु लम्पसार परेँ ।26 मैले परमप्रभुलाई यसो भनी प्रार्थना चढाएँ, ‘हे परमप्रभु परमेश्वर, तपाईंले आफ्ना मानिसहरू अर्थात् तपाईंको सम्पत्तिलाई नष्ट नगर्नुहोस् जसलाई तपाईंले आफ्नो महान्ताद्वारा छुटकारा दिनुभएको छ र आफ्नो शक्तिशाली हातले मिश्रबाट ल्याउनुभएको छ ।27 तपाईंका दासहरू अब्राहाम, इसहाक र याकूबलाई सम्झनुहोस् । यो जातिको हठलाई नहेर्नुहोस् न त तिनीहरूका दुष्टता र पापलाई नै हेर्नुहोस् ।28 नत्रता तपाईंले हामीलाई जुन देशबाट ल्याउनुभयो त्यसले भन्ला, “परमप्रभुले प्रतिज्ञा गर्नुभएको देशमा उहाँले तिनीहरूलाई लैजान नसक्नुभएकोले र उहाँले तिनीहरूलाई घृणा गर्नुभएकोले तिनीहरूलाई उजाड-स्थानमा मार्न उहाँले तिनीहरूलाई बाहिर ल्याउनुभएको छ ।29 तथापि तिनीहरू तपाईंका मानिसहरू र तपाईंको सम्पत्ति हुन् जसलाई तपाईंले आफ्नो महाशक्ति र तपाईंको शक्तिको प्रदर्शनीद्वारा बाहिर ल्याउनुभयो’ ।”