8
“आज मैले तिमीहरूलाई दिने सबै आज्ञा मान्‍नू ताकि तिमीहरू बाँच्‍न सक र वृद्धि हुन सक अनि परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएको देशमा गएर त्‍यसलाई अधिकार गर्न सक ।2 तिमीहरूलाई विनम्र पार्न र तिमीहरूले उहाँका आज्ञाहरू मान्‍छौ कि मान्‍दैनौ भनेर तिमीहरूका हृदयमा भएको कुरा जाँच गर्न परमप्रभु तिमीहरूका परमेश्‍वरले यी चालीस वर्षसम्म तिनीहरूलाई उजाड-स्थानमा डोर्‍याउनुभएका उहाँका सबै मार्गलाई सम्झनू ।3 उहाँले तिमीहरूलाई विनम्र तुल्याउनुभयो; भोकले पीडित तुल्याउनुभयो र मन्‍न खुवाउनुभयो जसलाई तिमीहरूले चिनेका थिएनौ न त तिमीहरूका पिता-पुर्खाहरले चिनेका थिए । मानिस रोटीले मात्र नभई परमप्रभुको मुखबाट निस्केको हरेक कुराले बाँच्दछ भनी तिमीहरूलाई बुझाउन उहाँले यसो गर्नुभयो ।4 ती चालीस वर्षसम्म तिमीहरूका लुगा च्‍यातिएर झरेन न त तिमीहरूको गोडा सुन्‍नियो ।5 बुबाले आफ्नो छोरोलाई अनुशासनमा राखेझैँ परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अनुशासनमा राख्‍नुहुन्‍छ भनी तिमीहरूले आफ्नो हृदयमा ख्याल राख्‍नू ।6 उहाँका मार्गहरूमा हिँडी उहाँलाई आदर गर्न सक भनेर तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको आज्ञा मान्‍नू ।7 किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई बेसीँ र पर्वतहरू हुँदै खोलानाला र मूल भएको असल देशमा ल्याउँदै हुनुहुन्‍छ ।8 यो गहूँ र जौ अनि दाख र जैतून अनि अनार र जैतून रूखहरूसाथै मह पाउने देश हो ।9 यो त्‍यही देश हो जहाँ तिमीहरूलाई अन्‍नको अभाव हुनेछैन र त्‍यहाँ कुनै थोकको कमी हुनेछैन । यस देशका ढुङ्‌गाहरू फलामका छन् र त्‍यहाँका पहाडहरूबाट तिमीहरूले तामा निकाल्नेछौ ।10 तिमीहरू खाएर अघाउने छौ, अनि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको असल देशको लागि तिमीहरूले उहाँलाई धन्‍यको भन्‍नेछौ ।11 आज मैले तिमीहरूलाई दिएका उहाँका आज्ञाहरू, उहाँका विधिविधानहरूलाई बेवास्ता नगर्न र परमप्रभु तिमीहरूका परमेश्‍वरलाई नभुल्न होशियार होओ ।12 नत्रता तिमीहरूले अघाउञ्‍जेल खाँदा र तिमीहरूले घरहरू बनाई तिनमा बस्दा तिमीहरूको हृदय घमण्डले फुल्नेछ ।13 तिमीहरूका गाईवस्तु र भेडा-बाख्राहरू गुणात्मक रूपमा वृद्धि हुँदा र तिमीहरूका सुन र चाँदीको वृद्धि हुँदा र तिमीहरूसित भएका सबै थोकको वृद्धि हुँदा14 तिमीहरूको हृदय घमण्डले फुली मिश्र देश अर्थात् दासत्वको देशबाट तिमीहरूलाई ल्याउनुहुने परमप्रभु तिमीहरूका परमेश्‍वरलाई तिमीहरूले नभुल्नलाई होशियार बस ।15 उहाँलाई नबिर्स जसले तिमीहरूलाई विषालु सर्प र बिच्‍छीहरू भएको, पानी नपाइने विशाल र डरलाग्दो उजाड-स्थानबाट ल्याउनुभयो, जसले तिमीहरूका निम्ति चट्टानबाट पानी निकाल्नुभयो ।16 तिमीहरूलाई नम्र बनाउन र तिमीहरूको जाँच गरी अन्‍त्‍यमा तिमीहरूको भलाइ गर्न उहाँले तिमीहरूलाई उजाड-स्थानमा तिमीहरूका पिता-पुर्खाहरूले कहिल्यै नजानेका मन्‍न खुवाउनुभयो ।17 तर तिमीले हृदयमा सोचौला, ‘मेरो शक्ति र मेरो शक्तिशाली हातले मैले यी सबै सम्पत्ति थुपारेको हुँ ।’18 तर परमप्रभु तिमीहरूका परमेश्‍वरलाई याद गर्नू किनकि उहाँले नै तिमीहरूलाई सम्पत्ति थुपार्ने शक्ति दिनुहुन्‍छ । उहाँले नै तिमीहरूका पिता-पुर्खाहरूसित बाँध्‍नुभएको करार स्थापित गर्नुहुन्‍छ जुन आजको दिनसम्म छ ।19 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई बिर्सी अन्‍य देवी-देवताहरूको पछि लागेर तिनीहरूको पूजा गर्‍यौ र तिनीहरूको आराधना गर्‍यौ भने तिमीहरू निश्‍चय नै मर्नेछौ भनी म आज तिमीहरूको विरुद्धमा गवाही दिन्‍छु ।20 परमप्रभु तिमीहरूका परमेश्‍वरको आवाजलाई ध्‍यान दिएनौ भने तिमीहरूकै सामु परमप्रभुले नष्‍ट गर्नुभएका जातिहरू जस्‍तै तिमीहरू नष्‍ट हुनेछौ ।”