7
“परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई तिमीहरूले अधिकार गर्ने देशमा ल्याउनुहुँदा उहाँले तिमीहरूकै सामु तिमीहरू भन्‍दा महान् र शक्तिशाली सात जाति हित्ती, गिर्गाशी, एमोरी, कनानी, परिज्‍जी, हिव्वी र यबूसीहरूलाई धपाउनुहुनेछ ।2 तिमीहरूले तिनीहरूलाई पराजित गर्दा परमप्रभु तिमीहरूका परमेश्‍वरले नै तिनीहरूलाई तिमीहरूकहाँ सुम्पिदिनुहुनेछ र तिमीहरूले तिनीहरूलाई पूर्ण रूपमा नष्‍ट गर्नू । तिनीहरूसित कुनै करार नबाँध्‍नू, र तिनीहरूलाई कृपा नदेखाउनू ।3 तिनीहरूसित विवाहको कुनै बन्‍दोवस्त नमिलाउनू । तिमीहरूले आफ्ना छोरीहरू तिनीहरूका छोराहरूलाई नदिनू, र आफ्ना छोराहरूका निम्ति तिनीहरूका छोरीहरू नलिनू ।4 किनकि तिनीहरूले तिमीहरूका छोराहरूले अरू देवी-देवताहरूलाई पूजून् भनेर मलाई पछ्याउनबाट तिनीहरूलाई तर्काउनेछन् । त्‍यसैले परमप्रभुको क्रोध तिमीहरूको विरुद्धमा दन्कनेछ, र उहाँले तत्काल तिमीहरूलाई नष्‍ट गर्नुहुनेछ ।5 तिनीहरूसित यसरी व्यवहार गर्नूः तिनीहरूका वेदीहरू भत्काइदिनू; तिनीहरूका ढुङ्‌गाका खम्बाहरू टुक्राटुक्रा पारिदिनू; तिनीहरूका अशेरा देवीका खम्बाहरू काटेर ढालिदिनू र तिनीहरूका मूर्तिहरू आगोमा जलाइदिनू ।6 किनकि तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरका निम्ति अलग गरिएका जाति हौ । उहाँले तिमीहरूलाई पृथ्वीको धरातलमा भएका अन्‍य कुनै पनि जातिहरू भन्‍दा उहाँको जातिको रूपमा अधिकार हुन चुन्‍नुभएको छ ।7 अरू जातिहरू भन्‍दा तिमीहरू सङ्ख्यामा धेरै भएकाले परमप्रभुले तिमीहरूलाई प्रेम देखाउनुभएको होइन वा चुन्‍नुभएको होइन किनकि तिमीहरू सबै जाति भन्‍दा सङ्ख्यामा थोरै छौ ।8 तर उहाँले तिमीहरूलाई प्रेम गर्नुहुने भएकोले र उहाँले तिमीहरूका पिता-पुर्खाहरूसित खानुभएको शपथ पूरा गर्ने इच्‍छा गर्नुभएकोले तिमीहरूलाई चुन्‍नुभएको हो ।9 त्‍यसकारण, परमप्रभुले तिमीहरूलाई शक्तिशाली हातले बाहिर ल्याउनुभएको छ, र दासत्वको घर अर्थात् मिश्रका राजा फारोको हातबाट छुटकारा दिलाउनुभएको छ । तसर्थ, परमप्रभु तिमीहरूका परमेश्‍वर नै विश्‍वासयोग्य परमेश्‍वर हुनुहुन्‍छ जसले उहाँलाई प्रेम गर्ने र उहाँका आज्ञाहरू मान्‍ने हजारौँ पुस्तासम्म आफ्ना करार पूरा गर्नुहुन्‍छ र विश्‍वासयोग्य हुनुहुन्‍छ भनी जान ।10 तर उहाँको अवहेलना गर्नेहरूलाई उहाँले बदला लिनुहुनेछ वा तिनीहरूलाई नष्‍ट गर्नुहुनेछ । उहाँको अवहेलना गर्नेहरू जोकसैप्रति पनि उहाँ सहनशील हुनुहुन्‍न । उहाँले त्‍यसको बदला लिनुहुनेछ ।11 त्‍यसकारण मैले तिमीहरूलाई दिएका आज्ञा र विधिविधानहरू पालन गर र मान ।12 तिमीहरूले यी विधिविधानहरू सुनेर पालन गर्‍यौ भने परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका पिता-पुर्खाहरूसित बाँध्‍नुभएको करार र विश्‍वसनीयता उहाँले पूरा गर्नुहुनेछ ।13 उहाँले तिमीहरूलाई प्रेम गर्नुहुनेछ; आशिष् दिनुहुनेछ र गुणात्मक रूपमा वृद्धि गराउनुहुनेछ । तिमीहरूलाई दिन्‍छु भनी तिमीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएको देशमा उहाँले तिमीहरूको शरीरको फल, भूमिको फल, तिमीहरूको अन्‍न, तिमीहरूको नयाँ दाखमद्य, तिमीहरूको तेल, तिमीहरूको गाईवस्तु र तिमीहरूको बगाललाई वृद्धि गरी आशिष् दिनुहुनेछ ।14 अरू सबै जाति भन्‍दा तिमीहरू सुखी हुनेछौ । तिमीहरूका बीचमा कोही पनि निसन्‍तान हुनेछैन, र तिमीहरूका गाईवस्तुमध्‍ये एउटै पनि बैला हुनेछैन ।15 परमप्रभुले तिमीहरूबाट सबै रोग लैजानुहुनेछ । तिमीहरूले जानेका मिश्रका कुनै पनि खराब रोगहरू तिमीहरूमाथि आउनेछैनन्, तर तिमीहरूलाई घृणा गर्नेहरूमाथि उहाँले ती ल्याउनुहुनेछ ।16 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने सबै जातिलाई नष्‍ट गर्नू, र तिनीहरूलाई दया नदेखाउनू । तिनीहरूका देवी-देवताको पूजा नगर्नू किनकि त्‍यो तिमीहरूका निम्ति पासो हुनेछ ।17 ‘यी जातिहरू सङ्ख्यामा हामी भन्‍दा धेरै भएकाले हामीले कसरी धपाउन सकौँला’ भनी तिमीहरूले आफ्ना हृदयमा सोच्‍यौ भने पनि18 तिनीहरूदेखि नडराओ । परमप्रभु तिमीहरूका परमेश्‍वरले फारो र सबै मिश्रीलाई के गर्नुभयो भनी तिमीहरूले याद राख्‍नू ।19 भयानक दुःखकष्‍ट, चिन्ह, आश्‍चर्य, शक्तिशाली हात र फैलिएको पाखुरा जसद्वारा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई ल्याउनुभयो, सो तिमीहरूका आँखाले देख्यौ । तिमीहरू डराएका ती सबै जातिलाई पनि परमप्रभु तिमीहरूका परमेश्‍वरले त्‍यसै गर्नुहुनेछ ।20 यसबाहेक, परमप्रभु तिमीहरूका परमेश्‍वरले तिनीहरू बाँकी रहुञ्‍जेलसम्म र तिमीहरूको उपस्थितिबाट नष्‍ट नहोस् भनी तिनीहरू लुकेसम्म तिनीहरूका बीचमा अरिङ्‌गाल पठाउनुहुनेछ ।21 तिनीहरूदेखि नडराओ किनकि परमप्रभु परमेश्‍वर तिमीहरूका बीचमा हुनुहुन्‍छ जो महान् र भययोग्य हुनुहुन्‍छ ।22 परमप्रभु परमेश्‍वरले तिमीहरूकै सामुन्‍ने तिनीहरूलाई अलिअलि गरेर धपाउनुहुनेछ । तिमीहरूले तिनीहरूलाई एकै चोटि पराजित गर्नेछैनौ नत्रता जङ्‌गली जनावरहरू तिमीहरूका बीचमा धेरै हुनेछन् ।23 तर तिमीहरू तिनीहरूसित युद्ध गर्न जाँदा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिनीहरूमाथि तिमीहरूलाई विजयी तुल्याउनुहुनेछ ।24 उहाँले तिनीहरूका राजाहरूलाई तिमीहरूको शक्तिमुनि ल्याउनुहुनेछ र तिमीहरूले आकाशमुनि तिनीहरूका नाउँ मेटिदिनेछौ । तिनीहरूलाई नष्‍ट नगरुञ्‍जेलसम्म कोही पनि तिमीहरूका सामु खडा हुन सक्दैन ।25 खोपेर बनाइएका तिनीहरूका देवी-देवताहरूका प्रतिमूर्तिहरू जलाइदिनू । तिनलाई ढाक्‍ने सुनचाँदीको लोभ गरेर ती आफ्नो निम्ति नराख्‍नू । तिमीहरूले त्‍यसो गर्‍यौ भने तिमीहरू त्‍यसद्वारा पासोमा पर्नेछौ किनकि यो परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्ति घृणित कुरो हो ।26 तिमीहरूका घरमा कुनै पनि घृणित वस्तु ल्याएर त्‍यसको पूजा गर्न नथाल्नू । त्‍यसलाई पूर्ण रूपमा घृणा गर्नू र तिरस्कार गर्नू किनकि यो विनाशको निम्ति अलग गरिएको हो ।”