26
“तिमीहरूले मूर्तिहरू नबनाउनू, र आफ्नो निम्ति कुनै खोपिएको मूर्ति वा प्रतिमूर्ति खडा नगर्नू, र आफ्नो भूमिमा खोपिएको ढुङ्‌गाको प्रतिमूर्ति बनाएर त्‍यसलाई दण्डवत् नगर्नू, किनभने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।2 तिमीहरूले मेरो शबाथ मान्‍नू र मेरो पवित्रस्थानको आदर गर्नू । म परमप्रभु हुँ ।3 यदि तिमीहरू मेरा नियमहरूअनुसार हिँड्‌यौ र मेरा आज्ञाहरू पालन गरेर तीअनुसार चल्यौ भने,4 म तिमीहरूलाई ठीक मौसममा झरी दिनेछु, र भूमिले आफ्नो उब्जनी दिनेछ र भूमिका रूखहरूले आफ्ना फल दिनेछन् ।5 दाख बटुल्‍ने समयसम्मै तिमीहरूले दाइँ गर्नेछौ, र रोपाइँको समयसम्मै दाख बटुल्‍नेछौ । तिमीहरूले भरपेट रोटी खानेछौ र भूमिमा तिमीहरूले जहाँ आफ्नो घर बसाल्छौ त्‍यहाँ सुरक्षितसाथ जिउनेछौ ।6 म देशमा शान्‍ति ल्याउनेछु, र तिमीहरू कुनै डरबिना नै निदाउनेछौ । म तिमीहरूका देशबाट हिंसक पशुहरूलाई हटाइदिनेछु, र तिमीहरूका देशमा तरवार प्रहार हुनेछैन ।7 तिमीहरूले आफ्ना दुश्मनहरूलाई लखेट्‍नेछौ, र तिमीहरूको तरवारको प्रहारले तिमीहरूकै अगि तिनीहरू लड्‍नेछन् ।8 तिमीहरूका पाँच जनाले सयलाई, र सयले हजार जनालाई लखेट्‍नेछन्, र तिमीहरूको तरवारको प्रहारले तिमीहरूका दुश्मनहरू तिमीहरूकै अगि लड्‍नेछन् ।9 म तिमीहरूमाथि कृपादृष्‍टि लगाउनेछु र तिमीहरूलाई फलवन्‍त बनाएर तिमीहरूको सङ्ख्या वृद्धि गर्नेछु । म मेरो करार तिमीहरूसँग स्थापना गर्नेछु ।10 तिमीहरूले लामो समयसम्म भण्डार गरेको खाने कुरा खानेछौ । तिमीहरूले भण्डार गरेको खाने कुरा बाहिर निकालेर नयाँ फसलको निम्ति ठाउँ तयार गर्नेछौ ।11 म मेरो वेदी तिमीहरूकै बीचमा राख्‍नेछु, र म तिमीहरूलाई घृणा गर्नेछैनँ ।12 म तिमीहरूका बीचमा हिँड्‍डुल गर्नेछु, र म तिमीहरूका परमेश्‍वर हुनेछु, र तिमीहरू मेरा मानिसहरू हुनेछौ ।13 तिमीहरू मिश्रमा दास भइनरहोस् भनेर त्‍यस देशबाट तिमीहरूलाई निकालेर बाहिर ल्याउने परमप्रभु तिमीहरूका परमेश्‍वर म नै हुँ । मैले तिमीहरूका जुवाका काठहरू भत्‍काइदिएको छु र तिमीहरूलाई ठाडो भएर हिँड्ने तुल्याएको छु ।14 तर तिमीहरूले मेरा कुरा सुनेनौ, र मेरा यी सबै आज्ञाहरू मानेनौ,15 र मेरा विधि र नियमहरूलाई घृणा गरेर इन्‍कार गर्‍यौ, र मेरा सबै आज्ञाहरू पालन नगरेर मेरो करारलाई तोड्‍यौ भने,16 म तिमीहरूका बीचमा आतङ्‌क फैलाउनेछु, आँखालाई नष्‍ट गर्ने र प्राणलाई शिथिल गराउने रोगहरू र ज्वरोहरू पठाउनेछु । तिमीहरूले छरेका बीउ व्यर्थ हुनेछन्, किनभने तिमीहरूका शत्रुहरूले त्‍यसको उब्जनी खानेछन् ।17 म मेरो मुहार तिमीहरूबाट फर्काउनेछु, र तिमीहरूका शत्रुले तिमीहरूलाई पराजय गर्नेछन् । तिमीहरूलाई घृणा गर्ने मानिसहरूले तिमीहरूमाथि शासन गर्नेछन्, र कसैले तिमीहरूलाई नखेदे तापनि तिमीहरू भाग्‍नेछौ ।18 यी सबैपछि पनि तिमीहरूले मेरो कुरा सुनेनौ भने, म तिमीहरूका पाप भन्‍दा सात गुणा बढी सजाय तिमीहरूलाई दिनेछु ।19 आफ्नो शक्तिमाथिको तिमीहरूको घमण्डलाई म तोडिदिनेछु । तिमीहरूमाथिको आकाशलाई फलामझैँ र तिमीहरूको भूमिलाई काँसोझैँ बनाउनेछु ।20 तिमीहरूको मेहनत व्यर्थ हुनेछ, किनभने तिमीहरूको भूमिले आफ्नो फसल दिनेछैन, र तिमीहरूका भूमिका रूखहरूले आफ्ना उब्जनी दिनेछैनन् ।21 यदि तिमीहरू मेरो विरुद्ध भयौ र मेरो कुरा सुनेनौ भने, तिमीहरूका पापहरूको बदलामा म सात गुणा विपत्ति ल्याउनेछु ।22 म तिमीहरूकहाँ डर लाग्‍दा पशुहरू पठाउनेछु, र तिनीहरूले तिमीहरूका छोराछोरीहरू चोरी लैजानेछन्, र तिमीहरूका गाईवस्तुलाई नष्‍ट गर्नेछन्, र तिमीहरूको सङ्ख्यामा कमी ल्याउनेछन् । यसरी तिमीहरूका मार्गहरू विराना हुनेछन् ।23 यी कुराहरू हुँदाहुँदै पनि तिमीहरूले मेरा सुधारहरूलाई स्वीकारेनौ र मेरो विरुद्धमा हिँड्न छोडेनौ भने,24 म तिमीहरूका विरुद्ध हुनेछु, र तिमीहरूका पापका कारण म तिमीहरूलाई सात गुणा दण्ड दिनेछु ।25 म तिमीहरूमाथि तरवार प्रहार गर्नेछु र तिमीहरूले करार भङ्‌ग गरेको कारण त्‍यस तरवारले बदला लिनेछ । तिमीहरू आफ्ना सहरहरूमा भेला गराइनेछौ, र तिमीहरूका बीचमा मैले एउटा रोग पठाउनेछु, र तिमीहरूका दुश्‍मनका हातमा तिमीहरूलाई सुम्‍पनेछु ।26 जब म तिमीहरूका भोजनको आपूर्ति रोकिदिनेछु, दश जना स्‍त्रीले एउटै भाँडोमा तिमीहरूका निम्ति रोटी बनाउने छन्, र वजनअनुसार तिनीहरूले तिमीहरूका रोटी वितरण गर्नेछन् । तिमीहरूले खाने त छौ, तर तृप्‍त हुनेछैनौ ।27 यी कुराहरू हुँदाहुँदै पनि तिमीहरूले मेरो कुरा सुनेनौ र मेरो विरुद्ध हिँडिरह्यौ भने,28 म क्रोधित हुनेछु र तिमीहरूको विरुद्ध हुनेछु, र तिमीहरूका पाप भन्‍दा सात गुणा बढी दण्ड म दिनेछु ।29 तिमीहरूले आफ्ना छोराछोरीहरूका मासु खानेछौ ।30 म तिमीहरूका डाँडाका थानहरू नाश गर्नेछु, तिमीहरूका धूपका वेदीहरू भत्‍काइदिनेछु, र तिमीहरूका लाशहरू तिमीहरूका मृत मूर्तिहरूमाथि फालिदिनेछु, र म तिमीहरूलाई तिरस्कार गर्नेछु ।31 म तिमीहरूका सहरहरूलाई भग्‍नावशेषमा परिणत गरिदिनेछु र तिमीहरूका पवित्र स्थलहरू नष्‍ट गरिदिनेछु । म तिमीहरूका बलिदानहरूका सुगन्धबाट प्रसन्‍न हुनेछैनँ ।32 म तिमीहरूका देशलाई ध्वस्त पारिदिनेछु । त्‍यहाँ बस्‍ने तिमीहरूका दुश्‍मनहरूले त्‍यस्तो विनाश देखेर आश्‍चर्यचकित हुनेछन् ।33 म तिमीहरूलाई जाति-जातिहरूका बीचमा तितरबितर पारिदिनेछु, र मेरो तरवार निकालेर तिमीहरूको पछि लाग्‍नेछु । तिमीहरूको देश त्‍यागिने छ र तिमीहरूका सहरहरू विनाश हुनेछन् ।34 त्‍यो देश जबसम्म त्‍यागिएको हुन्‍छ र जबसम्म तिमीहरू दुश्‍मनको भूमिमा हुन्‍छौ, तबसम्म त्‍यो देशले शबाथ मनाउनेछ । त्‍यस समयसम्म देशले विश्राम गर्नेछ र आफ्नो शबाथ मनाउनेछ ।35 त्‍यो जबसम्म त्‍यागिएको हुन्‍छ, त्‍यो विश्राममा हुन्‍छ । तिमीहरू त्‍यहाँ बसोबास गर्दा तिमीहरूका शबाथसँगै त्‍यसले यस्तो विश्राम पाएको थिएन ।36 तिमीहरूका दुश्‍मनका देशमा छोडिएकाहरूका हृदयहरूमा यस्तो डर हालिदिनेछु, कि हावाले पात हल्‍लाउँदा आउने आवाजले तिमीहरूलाई झस्‍काउनेछ, र तिमीहरू तरवारबाट टाढा भागेझैँ दौडनेछौ । कसैले तिमीहरूलाई नखेदेको भए पनि तिमीहरू लड्‍नेछौ ।37 कसैले नखेदेको भए तापनि तिमीहरू तरवारबाट टाढा भागेझैँ भाग्‍नेछौ र एक-अर्कासँग ठोकिनेछौ । तिमीहरूसँग आफ्ना दुश्‍मनहरूको अगाडि उभिने तागत हुनेछैन ।38 तिमीहरू जाति-जातिहरूका बीचमा नष्‍ट हुनेछौ, र तिमीहरूका दुश्‍मनको भूमिले तिमीहरूलाई निल्‍नेछ ।39 तिमीहरूमध्‍ये बाँकी रहेकाहरू तिमीहरूका दुश्‍मनको देशमा आफ्ना पाप र आफ्ना पुर्खाहरूको पापका कारण खतम हुनेछन् ।40 तर यदि तिनीहरूले आफ्ना र आफ्ना पुर्खाहरूका पाप, मप्रति विश्‍वासहीन भएर गरेका विद्रोह, र मेरो विरुद्धको हिँडाइलाई स्वीकारे भने -41 जसले गर्दा म तिनीहरूको विरुद्ध भएँ र तिनीहरूलाई मैले तिनीहरूका दुश्‍मनको देशमा ल्याएँ - र यदि तिनीहरूका कठोर कठोर हृदय नम्र भए, अनि तिनीहरूले आफ्ना पापका कारण दण्डहरू स्वीकारे भने,42 मैले याकूब, इसहाक र अब्राहामसँग गरेको मेरो करारको सम्झना गर्नेछु, र त्‍यो देशलाई पनि सम्झनेछु ।43 त्‍यो देश तिनीहरूद्वारा त्‍यागिनेछ, र यसैकारण त्‍यो त्‍यागिएको समयमा त्‍यसले शबाथ मनाउनेछ । तिनीहरू आफैले मेरा आज्ञाहरू इन्‍कार गरेका र मेरा नियमहरूलाई घृणा गरेका हुनाले तिनीहरूले आफ्ना पापको दण्ड पाउनेछन् ।44 यी सबै कुरा हुँदाहुँदै पनि तिनीहरू आफ्ना दुश्‍मनको भूमिमा हुँदा म तिनीहरूलाई इन्‍कार गर्नेछैनँ, न त तिनीहरूलाई पूर्ण रूपमा नष्‍ट गर्न र तिनीहरूसँगको मेरो करारबाट टाढा हुनको निम्ति तिनीहरूलाई घृणा गर्नेछु, किनभने म परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ ।45 तर तिनीहरूका खातिर मैले तिनीहरूका पुर्खाहरूसँग बाँधेको करारको सम्झना म गर्नेछु, जुन पुर्खाहरूलाई म तिनीहरूका परमेश्‍वर हुन सकूँ भनेर मैले मिश्र देशबाट बाहिर ल्याएँ । म परमप्रभु हुँ ।46 परमप्रभुले सीनै पर्वतमा मोशाद्वारा उहाँ र इस्राएलका मानिसहरूका बीचमा दिनुभएका आज्ञाहरू, विधिहरू र नियमहरू यी नै हुन् ।