27
परमप्रभुले मोशालाई भन्नुभयो,2 “इस्राएलका मानिसहरूलाई भन्, ‘यदि कसैले परमप्रभुलाई विशेष प्रतिज्ञा गर्दछ भने, त्यसको मूल्य यसरी निर्धारण गर्नू ।3 बीसदेखि साठी वर्षसम्मको पुरुषको लागि पवित्रस्थानका शेकेलबमोजिम चाँदीका पचास शेकेल मूल्य तोकिदिनू ।4 सोही उमेरको स्त्रीको निम्ति भने मूल्य तीस शेकेल होस् ।5 पाँच वर्षदेखि बीस वर्षसम्मको पुरुषको लागि मूल्य बीस शेकेल र स्त्रीको लागि दश शेकेल निर्धारण गर्नू ।6 एक महिनादेखि पाँच वर्षसम्मको पुरुषको लागि मूल्य पाँच शेकेल र स्त्रीको लागि तीन शेकेल निर्धारण गर्नू ।7 साठी वर्षमाथिको पुरुषको लागि मूल्य पन्ध्र शेकेल र स्त्रीको लागि दश शेकेल निर्धारण गर्नू ।8 तर प्रतिज्ञा गर्ने मानिसले तोकिएको मूल्य तिर्न सकेन भने, त्यो मानिस पूजाहारीकहाँ प्रकट गरियोस्, र पूजाहारीले भाकल गर्ने मानिसको क्षमताअनुसार मूल्य निर्धारण गरिदिनेछ ।9 यदि कसैले परमप्रभुको निम्ति कुनै पशु बलिदान गर्न चाहन्छ, र यदि उहाँले त्यो स्वीकार्नुभयो भने, त्यो पशु त्यसको निम्ति छुटाइनेछ ।10 त्यो मानिसले त्यस पशुलाई नसाटोस्, असललाई खराबको निम्ति र खराबलाई असलको निम्ति । यदि त्यसले एउटालाई अर्कोको निम्ति साटेमा त्यो र जसको निम्ति त्यो साटिएको थियो, दुवै नै पवित्र हुनेछन् ।11 तथापि, यदि त्यस मानिसले परमप्रभुलाई दिन्छु भनी प्रतिज्ञा गरेको पशु अशुद्ध छ र परमप्रभुले त्यो स्वीकार्नुभएन भने, त्यस मानिसले पशुलाई पूजाहारीकहाँ ल्याओस् ।12 पूजाहारीले बजार मूल्यअनुसार त्यसको मूल्य निर्धारण गरोस् । पूजाहारीले त्यस पशुको मूल्य जति निर्धारण गर्दछ, त्यो नै त्यसको मूल्य हुनेछ ।13 यदि त्यसको मालिकले त्यसलाई छुटाउन चाह्यो भने, त्यसले त्यसको छुटकाराको मूल्यमा पाँचौँ भाग थपोस् ।14 जब कुनै मानिसले आफ्नो घर परमप्रभुको निम्ति पवित्र उपहारको रूपमा अलग गर्दछ भने, पूजाहारीले त्यो असल छ वा छैन भनेर हेरी त्यसको मूल्य निर्धारण गरोस् । पूजाहारीले त्यसको मूल्य जति निर्धारण गर्दछ, त्यति नै त्यसको मूल्य हुनेछ ।15 तर आफ्नो घरलाई परमप्रभुको निम्ति अलग गर्ने मालिकले त्यो छुटाउन चाहेमा त्यसले त्यसको छुटकाराको मूल्यमा पाँचौँ भाग थपोस् र त्यो त्यसकै हुनेछ ।16 यदि कुनै मानिसले आफ्नो केही जमिन परमप्रभुको निम्ति अलग गर्दछ भने, त्यो जमिनमा छर्न सकिने बीउको परिमाणअनुसार त्यसको मूल्य निर्धारण हुन्छ । एक मुरी जौको मूल्य चाँदीका बीस शेकेल बराबर हुनेछ ।17 यदि त्यसले त्यो जमिन पुनर्स्थापनाको वर्षमा अलग गर्दछ भने, त्यसको मूल्य तोकिएबमोजिम हुनेछ ।18 तर त्यसले आफ्नो जमिन पुनर्स्थापनाको वर्षपछि अलग गर्दछ भने, पूजाहारीले अर्को पुनर्स्थापनाको वर्ष आउनलाई बाँकी भएका वर्षहरूका आधारमा त्यो जमिनको मूल्य तय गरोस्, र मूल्य निर्धारण गर्दा त्यसको मूल्य घटाइयोस् ।19 यदि त्यो जमिन अलग गर्ने मानिसले त्यो छुटाउन चाहेमा त्यसले त्यसको मूल्यमा पाँचौँ भाग थपोस्, र त्यो त्यसको हुनेछ ।20 तर यदि त्यसले त्यो जमिनलाई छुटाएन, वा त्यसले त्यो जमिन कुनै अर्को मानिसलाई बेचेको भए, त्यो अब फेरि छुटाउन मिल्दैन ।21 त्यो भूमि पुनर्स्थापनाको वर्षमा स्वतन्त्र हुँदा परमप्रभुको निम्ति पूर्ण रूपमा दिइएको जमिनझैँ त्यो परमप्रभुको निम्ति पवित्र उपहार हुनेछ । त्यो पूजाहारीको हुनेछ ।22 यदि कुनै मानिसले आफूले किनेको जमिन परमप्रभुको निम्ति अलग गर्दछ, तर त्यो जमिन त्यसको परिवारको जमिनको भाग होइन भने,23 पूजाहारीले पुनर्स्थापनाको वर्षसम्म त्यसको मूल्य कति हुन्छ त्यो निर्धारण गरोस्, र त्यो मानिसले त्यस दिन परमप्रभुको निम्ति पवित्र उपहारको रूपमा त्यसको मूल्य तिरोस् ।24 पुनर्स्थापनाको वर्षमा त्यो जमिन जसबाट किनिएको थियो अर्थात् त्यस जमिनको मालिककहाँ नै फिर्ता जानेछ ।25 सबै मूल्याङ्कन पवित्रस्थानको शेकेलको वजनको आधारमा गरियोस् । बीस गेरा एक शेकेल बराबर हुनेछ ।26 पशुहरूमा पहिलो जन्मनेलाई कसैले पनि अलग नगर्नू, किनभने पहिलो जन्मने पहिलैबाट परमप्रभुकै हो । चाहे त्यो साँढे होस् वा भेडा, त्यो परमप्रभुको हो ।27 यदि त्यो अशुद्ध पशु हो भने, त्यसको मूल्यमा पाँचौँ भाग थपेर त्यसको मालिकले त्यो किन्न सक्नेछ । यदि त्यो पशुको छुटकारा भएन भने, तोकिएको मूल्यमा त्यो बेचियोस् ।28 तर कुनै मानिसले आफूसँग भएका सबै सम्पत्तिबाट परमप्रभुलाई अर्पण गरेको कुरा, चाहे त्यो मानिस वा पशु, वा आफ्नो पारिवारिक जमिन जेसुकै भए पनि त्यो बेचिनु वा छुटाउनुहुँदैन । अर्पण गरिएको सबै कुरा परमप्रभुको निम्ति पवित्र हुन्छ ।29 नाशको निम्ति अर्पण गरिएको मानिसको निम्ति कुनै मोल नतिर्नू । त्यो मानिस मारिनुपर्छ ।30 भूमिको सबै दशांश, चाहे भूमिमा उब्जेका अन्न वा रूखहरूका फल जे भए पनि त्यो परमप्रभुकै हो । त्यो परमप्रभुको निम्ति पवित्र हुन्छ ।31 यदि कसैले आफ्नो दशांश छुटाउँछ भने, त्यसले त्यसको मूल्यमा पाँचौँ भाग थपोस् ।32 बथान वा बगाल, वा गोठालोको लौरोमुनिबाट जाने हरेक पशुको दश भागमा एक भाग परमप्रभुको निम्ति अलग गरिनुपर्छ ।33 गोठालोले असल वा खराब पशु नछुटाओस्, र त्यसले एउटाको निम्ति अर्को नबद्लोस् । यदि त्यसले त्यो परिवर्तन गरेमा त्यो र जसको निम्ति त्यो बद्लिएको थियो, दुवै नै पवित्र हुनेछन् । त्यो छुटाउन सकिने छैन’ ।34 परमप्रभुले सीनै पर्वतमा इस्राएलका मानिसहरूका निम्ति दिनुभएका आज्ञाहरू यी नै हुन् ।