1
याकूबसँगै मिश्रमा आउने इस्राएलका छोराहरूका नाउँ यी नै हुन्ः2 रूबेन, शिमियोन, लेवी र यहूदा,3 इस्साखार, जबूलून, र बेन्‍यामीन,4 दान, नप्‍ताली, गाद र आशेर ।5 याकूबका जम्मा सन्‍तानको सङ्ख्या सत्तरी जना थियो । योसेफ पहिले नै मिश्रमा थिए ।6 त्‍यसपछि योसेफ, तिनका सबै दाजुहरू र त्‍यो सबै पुस्ता मरे ।7 इस्राएलीहरू फल्दै-फुल्दै र सङ्ख्यामा अत्‍यधिक बढ्दै गए, अनि तिनीहरू शक्तिशाली भए र तिनीहरूद्वारा देश भरियो ।8 त्‍यसपछि योसेफको बारेमा थाहा नपाउने नयाँ राजाले शासन गर्न थाले ।9 तिनले आफ्ना मानिसहरूलाई भने, “हेर, इस्राएलीहरू सङ्ख्यामा हामी भन्‍दा बढी भएका छन् र तिनीहरू हामी भन्‍दा शक्तिशाली भएका छन् ।10 आओ, तिनीहरूसित बुद्धिमानीपूर्वक काम गरौँ नत्रभने तिनीहरूको सङ्ख्या वृद्धि भइरहनेछ । युद्ध भयो भने तिनीहरू हाम्रा शत्रुहरूसित मिल्न गई हाम्रै विरुद्धमा लड्नेछन् र देश छाडेर जानेछन् ।11 त्‍यसैले तिनीहरूलाई कठोर काम लगाएर तिनीहरूमाथि थिचोमिचो गर्न तिनीहरूले नाइकेहरू खटाए । इस्राएलीहरूले पिताम र रामसेस नामक भण्डारका सहरहरू बनाए ।12 तर जति मिश्रीहरूले इस्राएलीहरूमाथि थिचोमिचो गरे त्‍यति नै तिनीहरूको सङ्ख्या बढ्दै गएर तिनीहरू फैलन थाले । त्‍यसैले मिश्रीहरू इस्राएलीहरूसित डराउन थाले ।13 मिश्रीहरूले इस्राएलीहरूलाई निर्दयतापूर्वक काममा लगाए ।14 मिश्रीहरूले मसला र इँटको कामसाथै खेतका कठिन कामहरू गर्न लगाएर तिनीहरूका जीवनै खल्लो बनाइदिए । तिनीहरूले लगाएका कामहरू कठिन थिए ।15 तब मिश्रका राजाले शिप्रा र पूआ नाम गरेका हिब्रू सुँडेनीहरूलाई भने,16 “हिब्रू स्‍त्रीहरूले बच्‍चा जन्‍माउने बेलामा तिमीहरूले तिनीहरूको हेरचाह गर्दा अवलोकन गर । छोरो रहेछ भने तिमीहरूले त्‍यसलाई मार ।17 तर छोरी रहेछ भने त्‍यसलाई जीवितै राख ।” तर सुँडेनीहरू परेमश्‍वरदेखि डराउँथे । त्‍यसैले तिनीहरूले मिश्रका राजाले आज्ञा दिएबमोजिम गरेनन्, बरु तिनीहरूले छोराहरूलाई पनि जीवितै राखे ।18 मिश्रका राजाले तिनीहरूलाई बोलाएर भने, “तिमीहरूले किन यसो गरेर छोराहरूलाई पनि जीवितै राखेका छ्यौ ?19 ती सुँडेनीहरूले फारोलाई जवाफ दिए, “हिब्रू स्‍त्रीहरू मिश्री स्‍त्रीहरूजस्ता छैनन् । तिनीहरू हट्टाकट्टा छन् र सुँडेनी पुग्‍नु भन्‍दा पहिले नै तिनीहरूले बच्‍चा जन्‍माइसकेका हुन्‍छन् ।20 परमेश्‍वरले यी सुँडेनीहरूलाई जोगाउनुभयो । इस्राएलीहरू सङ्ख्यामा बढ्दै गए र तिनीहरू शक्तिशाली भए ।21 सुँडेनीहरू परमेश्‍वरदेखि डराएकाले उहाँले तिनीहरूलाई परिवार दिनुभयो ।22 फारोले आफ्ना सबै मानिसलाई आज्ञा दिए, “जन्‍मेको हरेक छोरोलाई तिमीहरूले नदीमा फ्याँक्‍नू, तर छोरीलाई भने जीवितै राख्‍नू ।”