1
परमप्रभुले मोशालाई भेट हुने पालबाट बोलाएर यसो भन्नुभयो,2 “इस्राएलका मानिसहरूलाई यस्तो भन्नू, ‘तिमीहरूका बीचबाट कसैले परमप्रभुको निम्ति बलि ल्याउँदा गाई-गोरुको बथान वा भेडा-बाख्राका बगालबाट पशु ल्याउनू ।3 यदि त्यसको बलि गाई-गोरुको होमबलि हो भने, त्यसले निष्खोट गोरु ल्याओस् । परमप्रभुको अगि ग्रहणयोग्य होस् भनेर त्यसले त्यो भेट हुने पालको प्रवेशद्वारमा चढाओस् ।4 त्यसले आफ्नो हात त्यस होमबलिको टाउकोमाथि राखोस्, र त्यसपछि त्यसको खातिर त्यो प्रायश्चितको रूपमा ग्रहण हुनेछ ।5 त्यसपछि त्यसले त्यो गोरुलाई परमप्रभुको अगि मारोस् । हारूनका छोराहरू अर्थात् पूजाहारीहरूले त्यसको रगत भेट हुने पालको प्रवेशद्वारमा रहेको वेदीमा चढाई छर्कून् ।6 तब त्यसले त्यो होमबलिको छाला काढेर त्यसलाई टुक्राटुक्रा गरी काटोस् ।7 अनि पूजाहारी हारूनका छोराहरूले वेदीमाथि आगो लगाऊन् र त्यस आगोमा दाउराहरू राखून् ।8 हारूनका छोराहरू, अर्थात् पूजाहारीहरूले वेदीको दाउरामाथिको आगोमा ती टुक्राहरू, टाउको र बोसो मिलाएर राखून् ।9 तर त्यसका भित्री भागहरू र खुट्टाहरूलाई त्यसले पानीले धोओस् । त्यसपछि पूजाहारीले वेदीमा भएका सबै कुराहरूलाई होमबलिको रूपमा जलाऊन् । त्यसले मेरो निम्ति मीठो सुगन्ध निकाल्नेछ; त्यो मेरो निम्ति चढाइएको होमबलि हुनेछ ।10 यदि त्यसको होमबलि भेडाहरू वा बाख्राहरूमध्येबाट हो भने, त्यसले एउटा निष्खोट भाले चढाओस् ।11 त्यसले त्यो परमप्रभुको अगि वेदीको उत्तर पट्टिको भागमा मारोस् । हारूनका छोराहरू, अर्थात् पूजाहारीहरूले त्यसको रगत वेदीको वरिपरि छर्कून् ।12 त्यसपछि त्यसले त्यो टुक्राटुक्रा गरी काटोस्, र पूजाहारीले त्यसको टाउको र बोसोलाई वेदीको दाउरामाथिको आगोमा मिलाएर राखोस्,13 तर त्यसका आन्द्राभुँडी र खुट्टाहरूलाई भने त्यसले पानीले धोओस् । त्यसपछि पूजाहारीले ती सबै चढाओस्, र वेदीमा जलाओस् । यो होमबलि हो, र यसले परमप्रभुको निम्ति मीठो सुगन्ध दिनेछ; यो उहाँलाई चढाइएको होमबलि हो ।14 यदि परमप्रभुको निम्ति त्यसको बलि पक्षीहरूको होमबलि हो भने, त्यसले एउटा ढुकुर वा परेवाको बचेरा ल्याओस् ।15 पूजाहारीले त्यो वेदीमा ल्याओस्, त्यसको टाउको निमोठेर चुँडाओस्, र त्यसलाई वेदीमा जलाओस् । त्यसपछि त्यसको रगत वेदीको छेउमा बहाइयोस् ।16 त्यसले त्यसका आन्द्राभुँडीलाई त्यसका मलसहित बाहिर निकाली वेदीको पूर्वपट्टि खरानी राखिने ठाउँमा फ्याँकोस् ।17 त्यसले पखेटाबाट त्यसलाई च्यातोस्, तर त्यसले त्यसलाई दुई टुक्रा नगरोस् । त्यसपछि पूजाहारीले त्यो वेदीको दाउरामाथिको आगोमा जलाओस् । यो एउटा होमबलि हुनेछ, र यसले परमप्रभुको निम्ति मीठो सुगन्ध दिनेछ; यो नै आगोबाट चढाइएको बलि हुनेछ’ ।”