2
“ ‘कसैले परमप्रभुको निम्ति अन्नबलि ल्याउँदा, त्यसको बलि मसिनो पीठोको होस्, र त्यसले त्यसमा तेल खन्याओस् र त्यसमा धूप हालोस् ।2 त्यसले त्यो भेटी हारूनका छोराहरू, अर्थात् पूजाहारीहरूकहाँ लगोस्, र त्यहाँ तेल र धूपसहित त्यस मसिनो पीठोबाट पूजाहारीले एक मुट्ठी निकालोस् । त्यसपछि बलिको रूपमा पूजाहारीले त्यसलाई जलाओस् । त्यसले परमप्रभुको निम्ति मीठो सुगन्ध दिनेछ; यो उहाँको निम्ति आगोद्वारा गरिएको बलि हुनेछ ।3 अन्नबलिबाट जे बाँकी रहन्छ त्यो हारून र तिनका छोराहरूको हुनेछ । परमप्रभुको निम्ति आगोबाट गरिएका बलिहरूमध्ये यो अति पवित्र हुनेछ ।4 चुलोमा पकाइएको अखमिरी अन्नबलि चढाउँदा, त्यो तेल मिसाइएको मसिनो पीठोको नरम रोटी होस्, वा त्यो तेल लगाइएको अखमिरी कडा रोटी होस् ।5 यदि तिमीहरूको अन्नबलि च्याप्टो फलामको तावामा पकाइएको हो भने, त्यो तेल मिसाइएको अखमिरी मसिनो पीठोको होस् ।6 त्यसलाई टुक्राटुक्रा पार्नू र त्यसमा तेल खन्याउनू । यो अन्नबलि हो ।7 यदि तिमीहरूको अन्नबलि तावामा पकाइएको हो भने, त्यो मसिनो पीठो र तेलबाट बनाउनू ।8 यी कुराहरूले बनाइएको अन्नबलि तिमीहरूले परमप्रभुकहाँ ल्याउनू, र त्यो पूजाहारीकहाँ लगियोस्, अनि त्यसले त्यो वेदीमा लैजाओस् ।9 त्यसपछि पूजाहारीले त्यस अन्नबलिबाट केही झिकेर वेदीमा जलाओस् । यो आगोद्वारा गरिएको बलि हुनेछ, र यसले परमप्रभुको निम्ति मीठो सुगन्ध दिनेछ ।10 अन्नबलिबाट बाँकी रहेका सबै हारून र त्यसका छोराहरूको हुनेछ । आगोद्वारा परमप्रभुलाई चढाइएका बलिहरूमध्ये यो परमप्रभुको निम्ति अति पवित्र हुनेछ ।11 तिमीहरूले परमप्रभुलाई चढाउने कुनै पनि अन्नबलि खमिरद्वारा बनाइनुहुँदैन, किनभने परमप्रभुको निम्ति आगोद्वारा गरिएको बलिमा खमिर वा मह नजलाउनू ।12 तिमीहरूले ती परमप्रभुलाई पहिलो फलहरूको भेटीको रूपमा चढाउनू, तर वेदीमा मीठो सुगन्ध दिनलाई ती प्रयोग नहोऊन् ।13 तिमीहरूले आफ्ना सबै अन्नबलिहरूमा नून मिसाउनू । आफ्नो अन्नबलिमा आफ्ना परमेश्वरको प्रतिज्ञाको नून कहिल्यै नछुटाउनू । आफ्ना सबै भेटीहरूमा तिमीहरूले नून चढाउनू ।14 परमप्रभुलाई पहिलो फलहरूको अन्नबलि चढाउँदा, आगोमा सेकाइएको र पिसिएको ताजा अन्न चढाउनू ।15 त्यसपछि त्यसमा तेल र धूप राख्नू । यो अन्नबलि हो ।16 त्यसपछि पूजाहारीले पिसिएको अन्न, तेल र धूपबाट केही जलाओस् । यो परमप्रभुको निम्ति आगोद्वारा गरिएको बलि हो’ ।”