3
“ ‘यदि कसैले गाई-गोरुको बथानबाट कुनै पशुको मेलबलिको भेटी चढाउँछ भने, त्यसले परमप्रभुको अगि निष्खोट साँढे वा गाई चढाओस् ।2 त्यसले बलिको टाउकोमा आफ्नो हात राखोस् र त्यसलाई भेट हुने पालको प्रवेशद्वारमा नै मारोस् । त्यसपछि हारूनका छोराहरू अर्थात् पूजाहारीहरूले त्यसको रगत वेदीको वरिपरि छर्कून् ।3 त्यस मानिसले परमप्रभुको अगि आगोद्वारा मेलबलि चढाओस् । भित्री भागहरू र दुई वटा मृगौलालाई ढाक्ने वा तीसँगै जोडिएको,4 र कम्मरसँगै भएको बोसो, र कलेजोको भागलाई मृगौलासमेत त्यसले निकालोस् ।5 हारूनका छोराहरूले त्यो वेदीको दाउरामाथिको आगोमा होलबलिसँगै जलाओस् । यसले परमप्रभुको निम्ति मीठो सुगन्ध निकाल्नेछ; यो उहाँको निम्ति आगोद्वारा गरिएको बलि हुनेछ ।6 यदि परमप्रभुको निम्ति कुनै मानिसको मेलबलि भेडा-बाख्राको बगालबाट हो भने, त्यसले निष्खोट भाले वा पोथी चढाओस् ।7 यदि त्यसले बलिको निम्ति थुमा चढाउँछ भने, त्यसले त्यो परमप्रभुको अगि चढाओस् ।8 त्यसले बलिको टाउकोमाथि आफ्नो हात राखोस् र भेट हुने पालको सामु मारोस् । त्यसपछि हारूनका छोराहरूले त्यसको रगत वेदीको वरिपरि छर्कून् ।9 त्यस मानिसले मेलबलिलाई परमप्रभुको निम्ति होमबलिझैँ चढाओस् । मेरुदण्डको तल्लो भागको सम्पूर्ण बोसो र आन्द्राभुँडीलाई ढाक्ने र तीसँगै भएको जम्मै बोसो,10 र दुई वटा मृगौला र कम्मरसँगै भएको बोसो, र कलेजोको भागलाई मृगौलाहरूसँगै त्यसले निकालोस् ।11 त्यसपछि पूजाहारीले परमप्रभुको निम्ति भोजनको होमबलिझैँ वेदीमा ती सबै जलाओस् ।12 यदि कुनै मानिसको बलि बाख्रा हो भने, त्यसले त्यो परमप्रभुकहाँ चढाओस् ।13 त्यसले आफ्नो हात त्यस बाख्राको टाउकोमाथि राखोस् र भेट हुने पालको सामु मारोस् । त्यसपछि हारूनका छोराहरूले त्यसको रगत वेदीको वरिपरि छर्कून् ।14 त्यस मानिसले आगोद्वारा चढाइएको आफ्नो बलिलाई परमप्रभुकहाँ ल्याओस् । त्यसले भित्री भागहरूलाई ढाक्ने र तीसँगै भएको बोसोलाई निकालोस् ।15 त्यसले दुई वटा मृगौला, तीसँगै भएको बोसो र कम्मरसँगै भएको बोसोलाई कलेजोको भागसँगै निकालोस् ।16 पूजाहारीले भोजनको होमबलिझैँ ती सबै वेदीमा मीठो सुगन्ध निकाल्नको निम्ति जलाओस् । सबै बोसोचाहिँ परमप्रभुको हो ।17 तैँले आफ्नो घर बनाउने हरेक ठाउँमा र तेरा मानिसहरूको पुस्तौँ-पुस्तामा यो सदाको निम्ति एउटा विधि होस्, र तैँले बोसो र रगत नखानू’ ।”