40
तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो,2 “नयाँ वर्षको पहिलो महिनाको पहिलो दिनमा तैँले पवित्र वासस्थान अर्थात् भेट हुने पाल खडा गर्नू ।3 तैँले यसभित्र गवाहीको सन्‍दूक राख्‍नू, र यसलाई पर्दाले छेक्‍नू ।4 तैँले टेबिललाई भित्र ल्याएर यसमाथि राखिने थोकहरू मिलाएर राख्‍नू । त्‍यसपछि तैँले सामदान भित्र ल्याएर दियाहरू मिलाउनू ।5 तैँले गवाहीको सन्‍दूकको सामुन्‍ने सुनको धूपको वेदी राख्‍नू, र पवित्र वासस्थानको प्रवेशद्वारमा पर्दा राख्‍नू ।6 तैँले पवित्र वासस्थान अर्थात् भेट हुने पालको प्रवेशद्वारको सामुन्‍ने होमबलिको लागि वेदी राख्‍नू ।7 तैँले भेट हुने पाल र वेदीका बीचमा ठूलो बाटा राख्‍नू र त्‍यसभित्र पानी हाल्नू ।8 चोकको वरिपरि घेरा हाली यसको प्रवेशद्वारमा पर्दा झुण्ड्‌याउनू । तैँले अभिषेक गर्ने तेल लिई पवित्र वासस्थान र यसभित्र भएको हरेक थोकलाई अभिषेक गर्नू ।9 तैँले यसलाई र यसका सबै सरसामान मेरो लागि अलग गर्नू । तब यो पवित्र हुनेछ ।10 तैँले होमबलिको निम्ति वेदी र यसका सबै भाँडाकुँडालाई अभिषेक गर्नू । तैँले वेदी मेरो निम्ति अलग गर्नू र त्‍यो मेरो लागि अति पवित्र हुनेछ ।11 तैँले काँसाको बाटा र यसको खुट्टा अभिषेक गरेर यसलाई मेरो लागि अलग गर्नू ।12 तैँले हारून र त्‍यसका छोराहरूलाई भेट हुने पालको प्रवेशद्वारमा ल्याई तिनीहरूलाई पानीले नुहाइदिनुपर्छ ।13 मेरो लागि अलग गरिएका पोशाकहरू तैँले हारूनलाई लगाइदिनू र त्‍यसले पूजाहारी बनेर मेरो सेवा गरोस् भनेर त्‍यसलाई अभिषेक गरी मेरो निम्ति अलग गर्नू ।14 त्‍यसका छोराहरूलाई ल्याई तिनीहरूलाई लबेदा पहिराइदिनू ।15 पूजाहारी बनेर तिनीहरूले मेरो सेवा गरून् भनेर तैँले तिनीहरूका पितालाई जस्‍तै तिनीहरूलाई अभिषेक गर्नू । तिनीहरूको अभिषेकले पुस्ता-पुस्तासम्म तिनीहरूलाई स्थायी पूजाहारीको पद प्रदान गर्छ ।16 मोशाले त्‍यसै गरे । परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनले गरे । तिनले यी सबै गरे ।17 यसरी दोस्रो वर्षको पहिलो महिनाको पहिलो दिनमा पवित्र वासस्थान खडा भयो ।18 मोशाले पवित्र वासस्थान खडा गरे, यसका आधारहरू ठाउँमा राखे, यसका फल्याकहरू खडा गरे, यसका बारहरू जोडे र यसका डन्डाहरू र खम्बाहरू खडा गरे ।19 परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनले पवित्र वासस्थानमाथि पाल फिँजाएर त्‍यसमाथि छत राखे ।20 तिनले करारका आज्ञाहरूलाई लिई तिनले सन्‍दूकभित्र हाले ।21 तिनले सन्‍दूकमा डन्डाहरू हालेर त्‍यसमाथि प्रायश्‍चितको ढकनी राखे । तिनले सन्‍दूकलाई पवित्र वासस्थानमा ल्याए । परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनले गवाहीको सन्‍दूकलाई छेक्‍ने पर्दा टाँगे ।22 तिनले पर्दाको बाहिरपट्टि भेट हुने पाल अर्थात् पवित्र वासस्थानको उत्तरपट्टि टेबिल राखे ।23 परमप्रभुले तिनलाई आज्ञा गर्नुभएअनुसार तिनले परमप्रभुको सामु टेबिलमा रोटी मिलाएर राखे ।24 तिनले भेट हुने पाल अर्थात् पवित्र वासस्थानको दक्षिणपट्टि टेबिलको सामु सामदान राखे ।25 परमप्रभुले तिनलाई आज्ञा गर्नुभएअनुसार तिनले परमप्रभुको सामु दियाहरू बाले ।26 तिनले भेट हुने पालभित्र पर्दाको सामुन्‍ने सुनको धूपको वेदी राखे ।27 परमप्रभुले तिनलाई आज्ञा गर्नुभएअनुसार तिनले यसमाथि सुगन्धित धूप बाले ।28 तिनले पवित्र वासस्थानको प्रवेशद्वारमा पर्दा झुण्ड्‌याए ।29 तिनले भेट हुने पाल अर्थात् पवित्र वासस्थानको प्रवेशद्वारमा होमबलिको वेदी राखे । परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनले यहीँ नै होमबलि र अन्‍नबलि चढाए ।30 तिनले भेट हुने पाल र यस वेदीको बीचमा बाटा राखी त्‍यसमा धुनलाई पानी राखे ।31 मोशा, हारून र तिनका छोराहरूले बाटाको पानीबाट तिनीहरूका हात-खुट्टा धुने गर्थे ।32 तिनीहरू भेट हुने पालभित्र प्रवेश गर्दा र वेदीमा जाँदा तिनीहरूले धुने गर्थे । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार तिनीहरूले आ-आफूलाई धुने गर्थे ।33 मोशाले पवित्र वासस्थान र वेदीको वरिपरि चोक खडा गरे । तिनले चोकको प्रवेशद्वारमा पर्दा राखे । यसरी मोशाले काम पुरा गरे ।34 तब बादलले भेट हुने पाललाई ढाक्यो, अनि परमप्रभुको महिमाले पवित्र वासस्थान भरियो ।35 भेट हुने पालमाथि बादल आएर बसेकोले र परमप्रभुको महिमाले पवित्र वासस्थान भरिएकोले मोशा यसभित्र प्रवेश गर्न सकेनन् ।36 पवित्र वासस्थानबाट बादल उठाइँदा इस्राएलका मानिसहरू आफ्नो बाटो लाग्थे ।37 तर पवित्र वासस्थानबाट बादल नउठ्दा मानिसहरूले यात्रा गर्दैनथे । बादल नउठेसम्म तिनीहरू बसिरहन्‍थे ।38 किनकि इस्राएलका मानिसहरूका सबै यात्राभरि तिनीहरूले देख्‍ने गरी दिनमा परमप्रभुको बादल र रातमा उहाँको आगो पवित्र वासस्थानमाथि हुन्‍थ्यो ।