1
आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो ।2 पृथ्वी निराकार र शून्य थियो । समुद्रको सतहमाथि अन्धकार थियो । परमेश्वरका आत्मा सारा समुद्रमाथि परिभ्रमण गर्दै हुनुहुन्थ्यो ।3 परमेश्वरले भन्नुभयो, “उज्यालो होस्”, र त्यहाँ उज्यालो भयो ।4 परमेश्वरले उज्यालोलाई हेर्नुभयो, र त्यो असल थियो । उहाँले उज्यालोलाई अन्धकारबाट छुट्ट्याउनुभयो ।5 परमेश्वरले उज्यालोलाई “दिन”, र अन्धकारलाई “रात” भन्नुभयो । साँझ पर्यो र बिहान भयो - पहिलो दिन ।6 परमेश्वरले भन्नुभयो, “पानीको बीचमा एउटा क्षेत्र होस्, र त्यसले पानीलाई दुई भागमा विभाजन गरोस् ।7 परमेश्वरले त्यो क्षेत्र बनाएर त्यसमुनि र माथिको पानीलाई विभाजन गर्नुभयो । तब त्यस्तै भयो ।8 परमेश्वरले त्यस क्षेत्रलाई “आकाश” भन्नुभयो । साँझ पर्यो र बिहान भयो - दोस्रो दिन ।9 परमेश्वरले भन्नुभयो, “आकाशमुनिको जम्मै पानी एक ठाउँमा जम्मा होस्, र ओभानो जमिन देखा परोस् ।” तब त्यस्तै भयो ।10 परमेश्वरले ओभानो जमिनलाई “पृथ्वी” भन्नुभयो, र जम्मा भएको पानीलाई “समुद्र” भन्नुभयो । उहाँले हेर्नुभयो, र त्यो असल थियो ।11 परमेश्वरले भन्नुभयो, “पृथ्वीले आ-आफ्नो प्रजातिअनुसारको वनस्पति, बीउ हुने बोट-बिरुवाहरू र फलभित्रै बीउ हुने फल-फलाउने रूखहरू उमारोस् ।” तब त्यस्तै भयो ।12 पृथ्वीले वनस्पति, आ-आफ्नो प्रजातिअनुसारका बीउ हुने बोट-बिरुवाहरू र आफ्नै फलभित्र बीउ हुने फल-फलाउने रूखहरू उमार्यो । परमेश्वरले हेर्नुभयो, र त्यो असल थियो ।13 साँझ पर्यो र बिहान भयो - तेस्रो दिन ।14 परमेश्वरले भन्नुभयो, “दिनलाई रातबाट अलग गर्नको निम्ति आकाशमा ज्योतिहरू होऊन् र तिनीहरू ऋतुहरू, दिनहरू र वर्षहरूका निम्ति चिन्हहरू होऊन् ।15 पृथ्वीमाथि उज्यालो दिनलाई ती आकाशमा ज्योतिहरू होऊन् ।” तब त्यस्तै भयो ।16 परमेश्वरले दुई वटा विशाल ज्योति बनाउनुभयो, ठूलो ज्योतिचाहिँ दिनमाथि प्रभुत्व गर्न, र सानोचाहिँ रातमाथि प्रभुत्व गर्न । उहाँले ताराहरू पनि बनाउनुभयो ।17 पृथ्वीमाथि उज्यालो दिन,18 दिन र रातमाथि प्रभुत्व गर्न, र उज्यालोलाई अन्धकारबाट अलग गर्न परमेश्वरले ती आकाशमा राख्नुभयो । परमेश्वरले हेर्नुभयो, र त्यो असल थियो ।19 साँझ पर्यो र बिहान भयो - चौथो दिन ।20 परमेश्वरले भन्नुभयो, “पानी ठूलो सङ्ख्यामा जीवित प्राणीहरूले भरिऊन्, र पृथ्वीमाथि आकाशमा पक्षीहरू उडून् ।21 परमेश्वरले विशाल जलचरहरू, र आ-आफ्नो प्रजातिअनुसारको सबै जीवित प्राणी,चलहल गर्ने र पूरै पानीलाई भर्ने प्राणीहरू, र आ-आफ्नो प्रजातिअनुसारको पखेटा भएका सबै पक्षीहरूलाई सृष्टि गर्नुभयो । परमेश्वरले हेर्नुभयो, र त्यो असल थियो ।22 परमेश्वरले तिनीहरूलाई यसो भनेर आशिष् दिनुभयो, “फल्दै-फुल्दै र वृद्धि हुँदै जाओ, र समुद्रमा भरिँदै जाओ । पृथ्वीमा पक्षीहरू वृद्धि होऊन् ।23 साँझ पर्यो र बिहान भयो - पाँचौँ दिन ।24 परमेश्वरले भन्नुभयो, “पृथ्वीले आ-आफ्नो प्रजातिअनुसारको जीवित प्राणीहरू, पाल्तु पशुहरू, घस्रने जन्तुहरू, र पृथ्वीका जङ्गली जनावरहरू उत्पन्न गरोस् ।” तब त्यस्तै भयो ।25 परमेश्वरले पृथ्वीका जङ्गली जनावरहरू, पाल्तु पशुहरू, जमिनमा घस्रने सबै जन्तुहरूलाई तिनीहरूकै आ-आफ्नै प्रजातिअनुसार बनाउनुभयो । उहाँले हेर्नुभयो, र त्यो असल थियो ।26 परमेश्वरले भन्नुभयो, “मानिसलाई हाम्रो स्वरूपमा, हाम्रो प्रतिरूपमा बनाऔँ । तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू, सारा पृथ्वी, र पृथ्वीमा घस्रने सबै जन्तुहरूमाथि अधिकार गरून् ।27 परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । उहाँले तिनलाई आफ्नै प्रतिरूपमा सृष्टि गर्नुभयो । नर र नारी गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो ।28 परमेश्वरले तिनीहरूलाई आशिष् दिनुभयो र भन्नुभयो, “फल्दै-फुल्दै र वृद्धि हुँदै जाओ । पृथ्वीमा भरिँदै जाओ, र त्यसलाई आफ्नो वशमा राख । समुद्रका माछाहरू, आकाशका पक्षीहरू, र पृथ्वीमा चलहल गर्ने सबै जीवित प्राणीहरूमाथि अधिकार गर ।29 परमेश्वरले भन्नुभयो, “हेर, मैले पृथ्वीका बीउ हुने हरेक बोट-बिरुवाहरू, र फलभित्रै बीउ हुने हरेक फल-फलाउने रूखहरू तिमीहरूलाई दिएको छु । ती तिमीहरूका निम्ति आहारा हुनेछन् ।30 पृथ्वीका हरेक जङ्गली जनवारहरू, आकाशका हरेक पक्षीहरू, र सबै घस्रने जन्तुहरू, र जीवन भएका हरेक प्राणीलाई मैले आहाराको निम्ति सबै हरिया बोट-बिरुवाहरू दिएको छु ।” तब त्यस्तै भयो ।31 परमेश्वरले आफूले बनाउनुभएका सबै कुरा हेर्नुभयो । त्यो ज्यादै असल थियो । साँझ पर्यो र बिहान भयो - छैटौँ दिन ।