2
सारा आकाशमण्डल र पृथ्वी, र तिनमा भएका सबै जीवित प्राणीहरूको सृष्‍टि पूरा भयो ।2 सातौँ दिनसम्ममा परमेश्‍वरले आफूले गर्नुभएको कामलाई पूरा गर्नुभयो । यसैकारण उहाँले सातौँ दिनमा सबै कामबाट विश्राम लिनुभयो ।3 परमेश्‍वरले सातौँ दिनलाई आशिष‍ दिनुभयो र त्‍यसलाई पवित्र तुल्याउनुभयो, किनभने आफ्नो सृष्‍टिमा गर्नुभएका सबै कामबाट यसै दिनमा उहाँले विश्राम लिनुभयो ।4 परमप्रभु परमेश्‍वरले आकाश र पृथ्वीलाई सृष्‍टि गर्नुभएको समयमा भएका घटनाक्रमहरूको वृत्तान्‍त यही थियो ।5 पृथ्वीको भूमिमा अझै कुनै वनस्पति थिएन, र कुनै बिरुवा पनि उम्रेको थिएन, किनभने परमप्रभु परमेश्‍वरले पृथ्वीमा पानी बर्साउनुभएको थिएन, र भूमिमा खेती गर्नको निम्ति त्‍यहाँ कुनै मानिस थिएन ।6 तर पृथ्वीबाट माथि आएको कुइरोले जम्मै भूमिको सतहलाई भिजाउने गर्थ्यो ।7 परमप्रभु परमेश्‍वरले भूमिको माटोबाट मानिस बनाउनुभयो, र त्‍यसको नाकमा जीवनको सास फुकिदिनुभयो, र मानिस जीवित प्राणी भयो ।8 परमप्रभु परमेश्‍वरले अदनको पूर्वतिर एउटा बगैँचा लगाउनुभयो, र उहाँले बनाउनुभएको मानिसलाई त्‍यहीँ राख्‍नुभयो ।9 हेर्नमा राम्रो र खानको निम्ति असल फल भएको सबै रूखलाई परमप्रभु परमेश्‍वरले भूमिबाट उमार्नुभयो । बगैँचाको बीचमा भएको जीवनको रूख, अनि असल र खराबको ज्ञान दिने रूख पनि उहाँले उमार्नुभयो ।10 बगैँचालाई भिजाउन अदनबाट एउटा नदी निस्केको थियो । त्‍यहाँबाट त्‍यो छुट्टिएर चार वटा नदी बनेका थिए ।11 पहिलो नदीको नाम पीशोन हो । यो त्‍यही नदी हो जुन हवीलाको सारा भूमिमा बग्दछ, जहाँ सुन पाइन्‍छ ।12 त्‍यस भूमिको सुन असल छ । त्‍यहाँ खोटो र आनिक्स पत्थर पनि छन् ।13 दोस्रो नदीको नाम गीहोन हो । योचाहिँ कूशको सारा भूमिमा बग्दछ ।14 तेस्रो नदीको नाम टाइग्रिस हो, जुन अश्शूरको पूर्वबाट बग्दछ । चौथो नदी यूफ्रेटिस हो ।15 परमप्रभु परमेश्‍वरले मानिसलाई अदनको बगैँचामा लगी त्‍यहाँ खेतीपाती गर्न र त्‍यसको हेरचाह गर्न राख्‍नुभयो ।16 परमप्रभु परमेश्‍वरले यसो भनी आज्ञा गर्नुभयो, “बगैँचाको सबै रूखबाट खान तँलाई स्वतन्‍त्रता छ ।17 तर असल र खराबको ज्ञान दिने रूखबाट तैँले नखानू, किनभने जुन दिन तैँले त्‍यो फल खान्‍छस्, तँ निश्‍चय नै मर्नेछस् ।18 त्‍यसपछि परमप्रभु परमेश्‍वरले भन्‍नुभयो, “मानिस एकलो रहन असल छैन । म त्‍यसको लागि एउटा सुहाउने सहयोगी बनाउनेछु ।19 परमप्रभु परमेश्‍वरले भूमिबाट सबै पशुहरू र आकाशका सबै पक्षीहरू बनाउनुभयो । त्‍यसपछि मानिसले ती सबैलाई के नामले बोलाउँदो रहेछ भनेर उहाँले ती त्‍यसको अगि ल्याउनुभयो । हरेक जीवित प्राणीलाई मानिसले जे-जे नामले बोलायो, त्‍यही-त्‍यही नै हरेकको नाम भयो ।20 मानिसले सबै पाल्तु पशु, आकाशका सबै पक्षीहरू, र सबै जङ्‌गली जनावरहरूलाई नाम दियो । तर मानिसको निम्ति त्‍यहाँ कुनै सुहाउँदो सहयोगी पाइएन ।21 परमप्रभु परमेश्‍वरले मानिसलाई गहिरो निद्रामा पार्नुभयो, यसैकारण मानिस निदायो । परमप्रभु परमेश्‍वरले त्‍यसका करङहरूमध्‍ये एउटा झिक्‍नुभयो र करङ झिकेको ठाउँमा मासु भरिदिनुभयो ।22 परमप्रभु परमेश्‍वरले मानिसबाट झिक्‍नुभएको करङबाट एउटी स्‍त्री बनाउनुभयो र तिनलाई मानिसकहाँ ल्याउनुभयो ।23 मानिसले भन्‍यो, “यिनी त मेरा हाडहरूको हाड र मासुको मासु हुन् । यिनलाई ‘नारी’ भनिनेछ, किनभने यिनी नरबाट झिकिएकी थिइन् ।24 त्‍यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्नेछ, त्‍यो आफ्नी पत्‍नीसँग एक हुनेछ, र तिनीहरू एउटै शरीर हुनेछन् ।25 मानिस र उनकी पत्‍नी दुवै नाङ्‍गै थिए, तर तिनीहरू लजाउँदैन थिए ।