50
तब योसेफ यति व्याकुल भए कि तिनी आफ्‍ना बुबाको अनुहारमाथि घोप्‍टो परेर रोए, र तिनलाई चुम्बन गरे ।2 तब योसेफले आफ्‍नो सेवामा हुने वैद्यहरूलाई आफ्‍ना पिताको लाशमा सुगन्‍धित लेप दल्न लगाए । यसकारण ती वैद्यहरूले इस्राएलको लाशमा सुगन्‍धित लेप दले ।3 यसको निम्‍ति चालीस दिन लागेको थियो, किनकि सुगन्‍धित लेप लगाउँदा लाग्‍ने पूरा समय यति नै थियो । तिनको निम्‍ति मिश्रीहरूले सत्तरी दिन शोक मनाए ।4 शोक मनाउने दिन बितेपछि योसेफले फारोका भारदारहरूसँग यसरी कुरा गरे, “यदि ममाथि तपाईंहरूको निगाह छ भने कृपा गरी यो मेरो कुरा फारोकहाँ लगिदिनुहोस् ।5 मेरा बुबाले मलाई यसो भनेर शपथ खान लाउनुभयोः ‘म मर्न लागेको छु । कनान देशमा म आफैले खनेर बनाएको मेरो चिहानमा मलाई गाड्‌नू । तैँले मलाई त्‍यहीँ गाड्नेछस् ।’ यसकारण गएर मेरा बुबालाई त्‍यहीँ गाड्न दिनुहोस्, र त्‍यसपछि म फर्केर आउनेछु ।6 फारोले जवाफ दिए, “तिमीलाई उनले शपथ खान लाएबमोजिम गएर तिम्रा बुबालाई गाड ।7 योसेफ आफ्‍ना बुबालाई गाड्‌न गए । तिनका साथमा फारोका सारा अधिकारीहरू, उनका भारदारहरू र मिश्रका सबै मुख्‍य मानिसहरू,8 साथै योसेफका परिवारका सबै र तिनका दाजुभाइहरू र तिनका बुबाका परिवारका सबै गए । तर तिनीहरूका बालबच्‍चा, तिनीहरूका बगाल र बथानहरू गोशेन प्रदेशमा नै छोडिए ।9 तिनका साथमा रथहरू र घोडचढीहरू पनि गए । त्‍यो एउटा ठूलो मानिसहरूको समूह थियो ।10 जब तिनीहरू यर्दननेरको आतादको खलामा आइपुगे, तब तिनीहरूले साह्रै अफसोस गरेर रुवाबासी गरे । अनि त्‍यहाँ योसेफले सात दिनसम्‍म आफ्‍ना बुबाको निम्‍ति शोक गरे ।11 त्‍यस देशका बासिन्‍दा कनानीहरूले आतादको खलामा गरेको शोक देखेर भने, “यो त मिश्रीहरूको निम्ति ठूलो शोकको बेला रहेछ ।” यसकारण यर्दननेरको त्‍यस ठाउँको नाउँ हाबिल-मिश्रइम राखियो । त्‍यो यर्दन पारिपट्टि छ ।12 यसरी याकूबले तिनीहरूलाई आज्ञा गरेबमोजिम छोराहरूले गरे ।13 तिनका छोराहरूले तिनलाई कनानसम्‍मै पुर्‍याए, र हित्ती एप्रोनसँग खेतसहित अब्राहामले चिहान बनाउनलाई किनेको ओडार, अर्थात्‌ मम्रेनेरको मक्‍पेलाको खेतमा भएको ओडारमा तिनलाई गाडे ।14 आफ्‍ना बुबालाई गाडिसकेपछि आफ्‍ना दाजुभाइहरू र आफ्‍ना बुबालाई गाड्‌न तिनीसँग गएका सबैका साथमा योसेफ मिश्रमा फर्के ।15 बुबाको मृत्‍यु भएको देखेर योसेफका दाजुभाइहरूले आपसमा भने, “शायद अब योसेफले हामीसँग दुश्‍मनी गरेर हामीले तिनलाई गरेका सबै खराबीको बदला लिए भने ?16 यसैकारण उनीहरूले यसो भनेर योसेफकहाँ खबर पठाए, “मर्नु भन्‍दा अगि तपाईंका बुबाले यस्‍तो आज्ञा दिनुभएको थियो17 ‘तिमीहरूले योसेफलाई यसो भन, कृपा गरी तिम्रा दाजुहरूले तिमीसँग खराबी गरेकामा तिम्रा दाजुहरूका अपराध क्षमा गर ।’ अब बिन्‍ती छ, कृपा गरी तपाईंका बुबाका परमेश्‍वरका दासहरूलाई क्षमा गर्नुहोस्‌ ।” उनीहरूले यति भनेपछि योसेफ रोए ।18 तिनका दाजुहरू पनि आएर तिनका सामुन्‍ने घोप्‍टो परे । तिनीहरूले भने, “हेर्नुहोस्, हामी तपाईंका दास हौँ ।19 तर योसेफले उनीहरूलाई भने, “नडराउनुहोस् । के म परमेश्‍वरको स्‍थानमा छु र ?20 तपाईंहरूले मेरो विरुद्धमा हानि गर्ने विचार गर्नुभयो, तर परमेश्‍वरले त्‍यसैद्वारा भलाइ गर्ने विचार गर्नुभयो, धेरै मानिसहरूलाई बचाउनको निम्ति, जुन तपाईंहरूले आज देख्‍नुहुन्‍छ ।21 यसकारण नडराउनुहोस्, तपाईंहरू र तपाईंहरूका बालबच्‍चालाई चाहिने कुराको बन्‍दोबस्त म गर्नेछु ।” यसरी तिनले उनीहरूलाई ढाडस दिए र तिनीहरूसँग विनम्रतासँग बोले ।22 योसेफ तिनका बुबाका परिवारहरूसँगै मिश्रमा बसे । तिनी एक सय दश वर्ष बाँचे ।23 योसेफले एफ्राइमको पनातिसम्‍म पनि देखे । तिनले मनश्‍शेका छोरा माकीरका भर्खर जन्‍मेका बालबच्‍चा पनि देखे, र तिनीहरू योसेफकै घुँडामा राखिए ।24 तब योसेफले आफ्‍ना दाजुभाइहरूलाई भने, “मेरो मर्ने बेला भयो, तर परमेश्‍वर अवश्य नै तिमीहरूकहाँ आउनुहुनेछ, र उहाँले अब्राहाम, इसहाक र याकूबसित शपथ खाएर प्रतिज्ञा गर्नुभएको देशमा यस देशबाट तिमीहरूलाई निकालेर लैजानुहुनेछ ।25 अनि योसेफले इस्राएलका मानिसहरूलाई शपथ खान लगाए । उनले भने, “परमेश्‍वर अवश्य नै तिमीहरूकहाँ आउनुहुनेछ । त्‍यो बेला तिमीहरूले मेरा अस्‍थिहरू यहाँबाट लैजानू ।26 यसरी योसेफ एक सय दश वर्षको भएर मरे, र उनीहरूले तिनको लाश सुगन्‍धित लेप दलेर बाकसमा हालेर मिश्रमा नै राखे ।