49
तब याकूबले आफ्ना छोराहरूलाई बोलाएर भनेः “तिमीहरू यहाँ जम्मा होओ, ताकि भविष्यमा तिमीहरूमाथि के आइपर्नेछ सो म तिमीहरूलाई भनूँ ।2 हे याकूबका छोरा हो, जम्मा भएर सुन, तिमीहरूका बुबा इस्राएलका कुरा सुन ।3 रूबेन, तँ मेरो जेठो छोरो होस्, मेरो शक्ति र मेरो बलको सुरु, गौरव र शक्तिमा उत्कृष्ट ।4 बग्ने पानी जस्तो चञ्चल, तेरो प्रतिष्ठा रहनेछैन, किनभने तँ तेरा बुबाको ओछ्यानमा चढिस् । अनि त्यसलाई अशुद्ध पारिस्; तँ मेरो पलङ्गमा चढ़िस् ।5 शिमियोन र लेवी दाजुभाइ हुन् । हिंसाका हतियार नै तिनीहरूका तरवार हुन् ।6 ए मेरो प्राण, तिनीहरूको सभामा नआइज, तिनीहरूको बैठकमा नबस् किनकि मेरो हृदयमा त्यसको निम्ति अत्यन्तै श्रद्धा छ । किनकि तिनीहरूले आफ्नो रीसमा मानिसहरूलाई मारे । तिनीहरूले आफ्नो आनन्दको निम्ति गोरुहरूका ढोडनसा काटेका छन् ।7 तिनीहरूको रीस श्रापित् होस्, किनभने त्यो भयानक छ, र तिनीहरूको क्रोध पनि श्रापित् होस् किनकि त्यो निष्ठुर छ । तिनीहरूलाई म याकूबमा विभाजन गर्नेछु, इस्राएलमा तितरबितर पार्नेछु ।8 ए यहूदा, तेरा दाजुभाइहरूले तेरो प्रशंसा गर्नेछन् । तेरा हात तेरा शत्रुहरूका गर्दनमा हुनेछन् । तेरा बुबाका छोराहरू तेरो सामुन्ने निहुरिनेछन् ।9 यहूदा सिंहको डमरु हो । ए मेरो छोरो, तँ तेरो शिकार भन्दा उच्च भएको छस् । त्यो निहुरियो, सिंह र सिंहनीझैँ झुक्यो । कसले त्यसलाई उठाउने आँट गर्छ ?10 यहूदाको हातबाट राजदण्ड हट्नेछैन, न त राज्य चलाउनेको लाठी त्यसका खुट्टाका बीचबाट हट्नेछ, जबसम्म त्यसका मालिक आउँदैनन् । जातिहरूले उहाँको आज्ञा मान्नेछन् ।11 त्यसको गधालाई दाखको बोटमा, र गधाको बछेड़ोलाई चाहिँ उत्तम जातको हाँगामा बाँधेर त्यसले आफ्ना लुगाहरू दाखमद्यमा, आफ्ना पोशाक अङ्गुरको रसमा धुनेछ ।12 त्यसका आँखा दाखमद्य जस्तै गाढा, र त्यसका दाँत दूध जस्ता सेता हुनेछन् ।13 जबूलून समुद्रको किनारमा बस्नेछ । जहाजहरूका निम्ति त्यो बन्दरगाह हुनेछ, र त्यसको सिमाना सीदोनसम्म हुनेछ ।14 इस्साखार दुई भारीहरूका बीचमा लेटिरहने बलियो गधा हो ।15 जसले असल विश्रामको ठाउँ असल र रमाइलो देश देख्छ । त्यसले भारी बोक्नलाई आफ्नो काँध झुकाउनेछ, र काम गर्ने नोकर बन्नेछ ।16 इस्राएलका कुलहरूमध्ये एउटा कुल भएर दानले आफ्ना मानिसहरूको न्याय गर्नेछ ।17 दान बाटोको छेउमा भएको एउटा सर्प, अर्थात् घोडाको कुर्कुच्चा डस्ने विषालु सर्प हुनेछ र त्यसको घोडचढी पछिल्तिर लोट्छ ।18 हे परमप्रभु, म तपाईंको उद्धारको प्रतीक्षा गर्छु ।19 गादमाथि आक्रमण गर्नेले त्यसलाई आक्रमण गर्नेछ, तर त्यसले तिनीहरूको कुर्कुच्चामा आक्रमण गर्नेछ ।20 आशेरको अनाज प्रशस्त हुनेछ, र त्यसले राजकीय खाना उपलब्ध गराउनेछ ।21 नप्ताली सुन्दर पाठापाठी पाउने फुकाइएकी मुडुली-मृग हो ।22 योसेफ एउटा फलवन्त लहरा हो, पानीको मूलनेर भएको फल दिने लहरा, जसका हाँगाहरू पर्खालमाथि फैलिन्छन् ।23 धनुर्धारीहरूले त्यसलाई आक्रमण गर्नेछन् र त्यसमाथि काँड चलाउनेछन्, र त्यसलाई सताउनेछन् ।24 तापनि त्यसको धनु स्थिर रहनेछ, र याकूबका शक्तिशाली परमेश्वरका हातको कारण र ती गोठाला अर्थात् इस्राएलको चट्टानद्वारा त्यसका हातहरू सिपालु हुनेछन्, ती गोठाला, इस्राएलको चट्टानद्वारा ।25 तेरा बुबाका परमेश्वरले तँलाई सहायता गर्नुहुन्छ, र सर्वशक्तिमान् परमेश्वरले माथि स्वर्गका आशिष्हरू, तल अगाधका आशिष्हरू, अनि स्तन र गर्भका आशिष्हरूले आशिषित् तुल्याउनुहुनेछ ।26 तेरा बुबाका आशीर्वादहरू प्राचीन पहाडहरूका आशीर्वाद भन्दा महान् छन् वा प्राचीन डाँडाहरूका वाञ्छनीय कुरा हुन्छन् । ती सबै योसेफको शिरमा होऊन्, त्यसका दाजुभाइहरूमध्येका प्रधानको शिरमा पनि ।27 बेन्यामीन एउटा भोको ब्वाँसो हो । बिहान त्यसले शिकार खान्छ, र बेलुकीचाहिँ त्यसले लूट बाँड्छ ।28 यी इस्राएलका बाह्र कुल हुन् । आफ्ना बुबाले तिनीहरूलाई आशीर्वाद दिँदा भनेका कुरा यही हो । प्रत्येकलाई तिनले सुहाउँदो आशीर्वाद दिए ।29 तब तिनले तिनीहरूलाई यो आज्ञा दिएर यसो भने “म त मेरा मानिसहरूकहाँ मिल्न जान लागेको छु । हित्ती एप्रोनको खेतमा भएको ओडारमा मेरा पिता-पुर्खाहरूका साथमा मलाई गाड,30 अर्थात् कनान देशमा मम्रेनेरको मक्पेलाको खेतमा भएको ओडार, जुन अब्राहामले हित्ती एप्रोनको हातबाट खेतसमेत चिहान बनाउनलाई किनेका थिए ।31 उनीहरूले अब्राहाम र तिनकी पत्नी सारालाई त्यहीँ गाडे । त्यहीँ नै उनीहरूले इसहाक र तिनकी पत्नी रिबेकालाई पनि गाडे । त्यहीँ नै मैले लेआलाई गाडेँ ।32 त्यो खेत र त्यहाँ भएको ओडार हित्तीहरूको हातबाट किनिएको थियो ।33 छोराहरूलाई यो आज्ञा दिइसकेपछि याकूबले आफ्ना खुट्टा ओछ्यानमा पसारेर आफ्नो प्राण त्यागे, र आफ्ना पिता-पुर्खाहरूसँग मिल्न गए ।