25
परमप्रभुले मोशालाई सीनै पर्वतमा भन्नुभयो,2 “इस्राएलका मानिसहरूलाई भन्, ‘मैले तिमीहरूलाई दिने देशमा पुगेपछि परमप्रभुको निम्ति भूमिले पनि शबाथ मानोस् ।3 तिमीहरूले छ वर्षसम्म आफ्नो भूमिमा बाली लगाउनू, र छ वर्षसम्म आफ्नो दाखबारी छिँवल्नू र फसल बटुल्नू ।4 तर सातौँ वर्षमा परमप्रभुको निम्ति भूमिले पनि पवित्र शबाथ मानोस् । आफ्नो भूमिमा बाली नलगाउनू वा आफ्नो दाखबारी नछिँवल्नू ।5 आफै उम्रेको फसल वा नछिँवलेको बोटबाट दाखको कटनी नगर्नू । योचाहिँ भूमिको निम्ति एक वर्षका लागि पवित्र विश्राम होस् ।6 शबाथको वर्षमा खन-जोत नगरिएको भूमिले जे उब्जाउँछ त्यो नै तिमीहरूका निम्ति भोजन हुनेछ । तिमीहरू, तिमीहरूका कमारा-कमारीहरू, तिमीहरूले ज्यालामा काममा लगाएका नोकरहरू र तिमीहरूसँग बसोबास गर्ने परदेशीहरूले ती भोजन बटुल्न सक्छन्,7 र तिमीहरूका गाईवस्तु, र जङ्गली पशुहरूले पनि भूमिले जे उब्जाउँछ त्यही खानेछन् ।8 तिमीहरूले आफ्नो लागि सात शबाथका वर्षहरू अर्थात् सात गुणा सात वर्ष गरी उनन्चास वर्ष गन्नू ।9 त्यसपछि सातौँ महिनाको दसौँ दिनमा तिमीहरूले सबै ठाउँमा ठुलो आवाजमा तुरही बजाउनू । प्रायश्चितको दिनमा तिमीहरूले आफ्ना सारा भूमिभरि तुरही बजाउनू ।10 तिमीहरूले पचासौँ वर्ष परमप्रभुका निम्ति अलग गर्नू र सारा भूमिमा सबै बासिन्दाहरूबीच स्वतन्त्रताको घोषणा गर्नू । यो तिमीहरूका निम्ति पुनर्स्थापनाको वर्ष होस्, जुन वर्ष सम्पत्ति र दास तिनीहरूका परिवारहरूमा फिर्ता गरिनेछन् ।11 पचासौँ वर्ष तिमीहरूका निम्ति पुनर्स्थापनाको वर्ष हुनेछ । तिमीहरूले बाली नलगाउनू र कटनी पनि नगर्नू । आफै उम्रेका, र नछिँवलेका बोटहरूका दाखहरू तिमीहरूले खानू ।12 यो पुनर्स्थापनाको वर्ष भएको हुनाले यो तिमीहरूका निम्ति पवित्र हुनेछ । भूमिमा आफै उम्रेका कुराहरू तिमीहरूले खानू ।13 पुनर्स्थापनाको वर्षमा सबैलाई आफ्नै जग्गाजमिनमा फर्काउनू ।14 तिमीहरूले आफ्नो छिमेकीलाई आफ्नो जग्गा बेच्दा वा आफ्नो छिमेकीबाट जग्गा किन्दा तिमीहरूले एक-अर्कालाई धोका नदिनू ।15 आफ्नो छिमेकीबाट जग्गा किन्दा अर्को पुनर्स्थापनाको वर्षसम्ममा कटनी गर्न सकिने वर्षहरू र बालीहरूलाई ध्यानमा राख्नू । जग्गा बेच्न लागेका तिमीहरूका छिमेकीले पनि यो कुरा ध्यानमा राखोस् ।16 अर्को पुनर्स्थापनाको वर्षसम्म जति धेरै वर्ष बाँकी रहन्छ त्यति नै जग्गाको मूल्य बढी हुनेछ, र अर्को पुनर्स्थापनाको वर्षसम्म जति थोरै वर्ष बाँकी रहन्छ त्यति नै जग्गाको मूल्य कम हुनेछ, किनभने नयाँ मालिकको निम्ति कटनीको सङ्ख्या अर्को पुनर्स्थापनाको वर्ष आउन बाँकी वर्षहरूमा आधारित हुन्छ ।17 तिमीहरूले एक-अर्कालाई धोका नदिनू, बरु तिमीहरूले आफ्ना परमेश्वरको मान गर्नू, किनभने म परमप्रभु तिमीहरूका परमेश्वर हुँ ।18 यसैले तिमीहरूले मेरा आज्ञाहरू मान्नू, मेरा नियमहरू पालन गर्नू र तीअनुसार चल्नू । अनि तिमीहरू आफ्नो देशमा सुरक्षित भई जिउनेछौ ।19 भूमिले आफ्नो उब्जनी दिनेछ र तिमीहरूले प्रशस्त मात्रामा खानेछौ र त्यहाँ सुरक्षित भएर जिउनेछौ ।20 तिमीहरूले भनौला, “सातौँ वर्षमा हामीले के खानेछौँ ? हेर्नुहोस्, हामीले न त बाली लगाउन सक्छौँ, न फसल कटनी गर्न सक्छौँ ।21 छैटौँ वर्षमा तिमीहरूमाथि म मेरो आशिष् बर्साउनेछु, र भूमिले तीन वर्षसम्म पुग्ने फसल उब्जाउनेछ ।22 आठौँ वर्षमा तिमीहरूले बाली लगाउनेछौ र तिमीहरूले अगिल्लो वर्षको उब्जनी र भण्डार गरिएको उब्जनीबाट नै खानू । नवौँ वर्षको कटनी गरिएको फसल नआउँदासम्म अगिल्ला वर्षहरूमा भण्डार गरिएका उब्जनीहरूबाट तिमीहरूले खान सक्नेछौ ।23 कोही नयाँ स्थायी मालिकलाई भूमि नबेच्नू, किनभने त्यो भूमि मेरो हो । तिमीहरू सबै परदेशीहरू हौ र मेरो भूमिका अस्थायी बासिन्दाहरू हौ ।24 तिमीहरूले हासिल गरेका सबै जग्गाको निम्ति छुटकाराको अधिकार दिनू; तिमीहरूले जुन परिवारबाट जग्गा किन्यौ त्यही परिवारलाई त्यो जग्गा किन्ने मौका दिनू ।25 यदि तिमीहरूको कोही सङ्गी-इस्राएली गरिब भयो र त्यसले गरिबीको कारण आफ्नो केही सम्पत्ति बेच्यो भने, त्यसको सबै भन्दा नजिकको नातेदार आएर त्यसले तिमीहरूलाई बेचेको सम्पत्ति पुनः किन्न सक्नेछ ।26 यदि त्यो सम्पत्तिलाई फुकाउनको निम्ति त्यसको कुनै नातेदार छैन, तर त्यो फेरि धनाढ्य भयो र त्यो फुकाउने क्षमता त्योसँग भयो भने,27 त्यसले त्यो जग्गा बेचेपछि बितेका वर्षहरू गनोस् र त्यसले जुन मानिसलाई त्यो जग्गा बेचेको थियो त्यसलाई बाँकी रकम तिरोस् । त्यसपछि त्यो आफ्नै जग्गाजमिनमा फर्कन सक्छ ।28 तर यदि त्यसले आफ्नो लागि त्यो जग्गा फिर्ता लिन सकेन भने, त्यसले बेचेको जग्गा पुनर्स्थापनाको वर्षसम्म जग्गा किन्ने मानिसको स्वामित्वमा हुनेछ । पुनर्स्थापनाको वर्षको अन्त्यमा जग्गा बेच्ने मानिसकहाँ नै त्यो जग्गा फर्काइन्छ, र त्यसको जग्गाधनी आफ्नै जग्गाजमिनमा फर्कनेछ ।29 यदि कुनै मानिसले पर्खाल लगाएको सहरभित्र घर बेच्छ भने, त्यसले त्यो बेचेको एक वर्षभित्र त्यो फेरि किन्न सक्नेछ । एक वर्षसम्म त्योसँग छुटकाराको अधिकार हुनेछ ।30 यदि एक वर्षसम्म त्यसले त्यो घर फुकाउन सकेन भने, पर्खाल लगाएको सहरभित्रको घर, खरिद गर्ने मानिस र त्यसका वंशको स्थायी सम्पत्ति हुनेछ । त्यो पुनर्स्थापनाको वर्षमा फिर्ता गर्नुपर्दैन ।31 तर गाउँका घरहरू जसका वरिपरि कुनै पर्खाल छैन, त्यसलाई जग्गासरह मानिनेछ । ती फुकाउन सकिनेछ, र पुनर्स्थापनाको वर्षमा ती फिर्ता गर्नुपर्नेछ ।32 तथापि, लेवीहरूले आफ्ना सहरहरूमा आफ्नो अधिकार गरेका घरहरू भने जुनसुकै समयमा पनि फुकाउन सकिनेछ ।33 यदि लेवीहरूमध्ये कसैले आफूले बेचेको घर फुकाएन भने, सहरमा बेचिएको घर पुनर्स्थापनाको वर्षमा फिर्ता गरिनुपर्नेछ, किनभने इस्राएलका मानिसहरूमध्ये लेवीहरूका सहरहरूभित्र भएका घरहरू तिनीहरूको सम्पत्ति हो ।34 तर तिनीहरूका सहरहरू वरिपरि भएका भूमिहरू नबेच्नू किनभने ती लेवीहरूका स्थायी सम्पत्ति हुन् ।35 यदि तिमीहरूका सङ्गी-नागरिक गरिब भएर आफ्नो हेरचाह गर्न सकेन भने, तिमीहरूले जसरी कुनै परदेशीलाई वा तिमीहरूका बीचमा कतै बाहिरबाट आएर बसोबास गरेका मानिसहरूलाई सहयोग गर्छौ, त्यसरी नै त्यसलाई सहयोग गर्नू ।36 त्यसलाई ब्याज नलगाउनू वा त्यसबाट कुनै किसिमको फाइदा नलिनू, आफ्ना परमेश्वरको आदर गर्नू ताकि तेरो भाइ तँसँगै बसोबास गर्न सकोस् ।37 तिमीहरूले त्यसलाई ब्याजमा ऋण नदिनू, न त नाफा कमाउनको निम्ति आफ्नो भोजन त्यसलाई बेच्नू ।38 तिमीहरूलाई कनान देश दिन र तिमीहरूका परमेश्वर हुनको निम्ति तिमीहरूलाई मिश्र देशबाट निकालेर ल्याउने परमप्रभु तिमीहरूका परमेश्वर म नै हुँ ।39 यदि तिमीहरूको सङ्गी-नागरिक गरिब भयो र त्यसले आफैलाई तिमीहरूकहाँ बेच्यो भने, त्यसलाई दासलाई झैँ काममा नलगाउनू ।40 त्यसलाई ज्यालामा राखिएको नोकरझैँ व्यवहार गर्नू । तिमीहरूका बीचमा अस्थायी रूपमा बसोबास गर्ने मानिसझैँ त्यो हुनेछ । पुनर्स्थापनाको वर्षसम्म त्यसले तिमीहरूको सेवा गर्नेछ ।41 त्यसपछि त्यो र त्यसका छोराछोरीहरू तिमीहरूबाट पर आफ्नै परिवार र आफ्नै पिताको सम्पत्तिमा फर्किजानेछन् ।42 किनभने तिनीहरू मेरा नोकरहरू हुन् जसलाई मैले मिश्र देशबाट बाहिर ल्याएँ । तिनीहरू दासहरूझैँ बेचिनेछैनन् ।43 तिमीहरूले त्यसमाथि कठोर रूपमा शासन नगर्नू, तर तिमीहरूले आफ्नो परमेश्वरको मान गर्नू ।44 तिमीहरूका वरिपरि बसोबास गर्ने जातिहरूबाट दास-दासीहरू तिमीहरूले प्राप्त गर्न सक्यौ भने, तिमीहरूले तिनीहरूबाट दासहरू किन्न सक्नेछौ ।45 तिमीहरूका बीचमा बसोबास गर्ने परदेशीहरूबाट, तिमीहरूसँग भएका तिनीहरूका परिवारहरूबाट, र तिमीहरूको भूमिमा जन्मेका तिनीहरूका छोराछोरीहरूबाट पनि तिमीहरूले दासहरू किन्न सक्छौ । तिनीहरू तिमीहरूको सम्पत्ति बन्न सक्छन् ।46 तिमीहरूले त्यस्ता दासहरूलाई आफ्ना छोराछोरीहरूका निम्ति तिमीहरूपछि सम्पत्तिको रूपमा प्राप्त गर्न र सारा जीवनभर तिनीहरूलाई दास बनाउन उत्तराधिकारको रूपमा दिन सक्छौ, तर इस्राएलका मानिसहरूका बीचमा आफ्ना भाइहरूलाई तिमीहरूले कठोर रूपमा शासन नगर्नू ।47 यदि कुनै परदेशी वा तिमीहरूका बीचमा अस्थायी रूपमा बसोबास गर्ने मानिस धनी भयो, र तिमीहरूमध्येको कुनै एउटा सङ्गी-इस्राएली गरिब भएर त्यसले आफैलाई त्यो परदेशी वा त्यस परदेशीको परिवारमा कसैकहाँ आफैलाई बेच्यो भने,48 तिमीहरूको सङ्गी-इस्राएली किनिसकेपछि त्यसलाई पुनः किनेर फुकाउन सकिनेछ । परिवारमा कसैले त्यसलाई छुटकारा दिन सक्छ ।49 त्यस मानिसको काका, वा काकाको छोरा, वा त्यसको परिवारको कोही नजिकको नातेदारले त्यसलाई छुटाउन सक्नेछ । वा त्यो धनाढ्य भएको छ भने, त्यसले आफैलाई छुटाउन सक्नेछ ।50 त्यसलाई किनेको मानिससँग त्यसले मोल-तोल गरोस्, र त्यसले आफैलाई त्यो खरिद गर्ने मानिसकहाँ बेचेको वर्षदेखि पुनर्स्थापनाको वर्षसम्म कति वर्ष हुने रहेछ भनेर तिनीहरूले गनून् । त्यसलाई किन्ने मानिसकहाँ त्यसले जति वर्ष काम गरिरहनेछ, ती वर्षहरूका निम्ति कुनै ज्यालामा राखिने नोकरलाई तिरिने दरलाई ध्यानमा राखी त्यसको छुटकाराको मोल तय गरियोस् ।51 पुनर्स्थापनाको वर्ष आउन अझै धेरै वर्ष बाँकी छ भने, ती वर्षहरूका आधारमा आफ्नो छुटकाराको रकम तिरोस् ।52 यदि पुनर्स्थापनाको वर्ष आउन थोरै मात्र समय रहेको छ भने, पुनर्स्थापनाको वर्ष आउनअगि बाँकी रहेका वर्षहरू त्यसलाई खरिद गर्नेसँग त्यसले मोल-तोल गरोस्, र ती वर्षहरूअनुसार त्यसले आफ्नो छुटकाराको निम्ति तिरोस् ।53 वर्ष-वर्षको निम्ति ज्यालामा लगाइएको मानिसझैँ त्यससँग व्यवहार गर्नू । त्यसलाई कठोरतासाथ व्यवहार नगर्नू ।54 यी तरिकाहरूबाट त्यसको छुटकारा हुन सकेन भने, त्यो र त्यसका छोराछोरीहरूले पुनर्स्थापनाको वर्षसम्म सेवा गरून् ।55 मेरो निम्ति इस्राएलका मनिसहरू नोकरहरू हुन् । यिनीहरू मेरा नोकरहरू हुन् जसलाई मैले मिश्र देशबाट बाहिर निकालेर ल्याएँ । म परमप्रभु तिमीहरूका परमेश्वर हुँ’ ।”