19
परमप्रभुले मोशालाई भन्‍नुभयो,2 “इस्राएलका मानिसहरूको सबै समुदायलाई भन्, ‘म परमप्रभु तिमीहरूका परमेश्‍वर पवित्र भएको कारण तिमीहरू पवित्र होओ ।3 हरेकले आफ्ना आमा र बुबालाई आदर गर्नू, र मेरो शबाथ पालन गर्नू । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।4 मूल्यहीन मूर्तिहरूलाई नपछ्‍याओ, न त आफ्नै निम्ति धातुका ईश्‍वरहरू बनाओ । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।5 तिमीहरूले परमप्रभुलाई मेलबलि अर्पण गर्दा तिमीहरू स्वीकारिनको निम्ति त्‍यो अर्पण गर ।6 तिमीहरूले अर्पण गर्ने दिनमा वा अर्को दिनमा नै त्‍यो खाइयोस् । तेस्रो दिनसम्म केही बाँकी रह्यो भने, त्‍यो आगोद्वारा जलाइयोस् ।7 यदि त्‍यो तेस्रो दिनमा खाइयो भने, त्‍यो मासु अशुद्ध हो; त्‍यसलाई ग्रहण गरिनुहुँदैन,8 र त्‍यो जसले खान्‍छ त्‍यसले आफ्नो दोष बोकिरहनेछ किनभने परमप्रभुको निम्ति जे पवित्र छ त्‍यो त्‍यसले अशुद्ध गरेको छ, र त्‍यो मानिस आफ्ना मानिसहरूबाट बहिष्‍कृत होस् ।9 तिमीहरूले आफ्ना जमिनको कटनी गर्दा पूर्ण रूपमा आफ्ना जमिनको कुना-कुनाहरूमा कटनी नगर्नू, न त आफ्ना फसल सबै बटुल्‍नू ।10 आफ्नो दाखबारीबाट सबै दाख तिमीहरूले नबटुल्‍नू, न त आफ्ना दाखबारीमा खसेका दाख बटुल्‍नू । तिमीहरूले ती गरिब र परदेशीहरूका निम्ति छोडिदिनू । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।11 चोरी नगर्नू । झूटो नबोल्नू । एक-अर्कालाई धोका नदिनू ।12 मेरो नामको झूटो शपथ खाएर तिमीहरूका परमेश्‍वरको नाउँलाई अशुद्ध नतुल्याउनू । म परमप्रभु हुँ ।13 आफ्नो छिमेकीमाथि दमन नगर्नू वा उसलाई नलुट्‍नू । ज्‍यालामा काम गर्ने नोकरको पारिश्रमिक रातभर र बिहानसम्म तिमीहरूसँग नरहोस् ।14 बहिरोलाई सराप नदिनू वा अन्धाको अगाडि ठेस लाग्‍ने कुरो नराख्‍नू । बरु, तिमीहरूले आफ्ना परमेश्‍वरको भय मान्‍नू । म परमप्रभु हुँ ।15 झुटो न्‍याय नगर्नू । कोही गरिब भएको कारण र कोही महत्त्वपूर्ण भएको कारण तिमीहरूले कसैप्रति पक्षपात नगर्नू । बरु, आफ्नो छिमेकीको सही न्‍याय गर्नू ।16 आफ्ना मानिसहरूका बीचमा निन्‍दा फैलाउँदै नहिँड्नू, तर आफ्नो छिमेकीको प्राण बचाउने कोसिस गर्नू । म परमप्रभु हुँ ।17 आफ्नो हृदयमा आफ्नो भाइको निम्ति घृणा नराख्‍नू । आफ्नो छिमेकीसँगै पाप नगर्नको निम्ति उसलाई इमानदार भएर हप्‍काउनू ।18 बदला नलिनू वा आफ्ना मानिसहरूका विरुद्धमा कुनै ईख नराख्‍नू, बरु आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्नू । म परमप्रभु हुँ ।19 तिमीहरूले मेरा आज्ञाहरू मान्‍नू । आफ्‍ना पशुहरूलाई अर्कै प्रजातिका पशुसँग मिलन नगराओ । आफ्नो खेतमा दुई प्रकारका बिउहरू नछर । दुई प्रकारको सामग्री मिसिएको कपडा नलगाओ ।20 मगनी भएको तर मोल नतिरिएको वा स्वतन्‍त्र नगराइएको कमारी स्‍त्रीसँग सुत्‍नेलाई दण्ड दिइयोस् । तिनीहरूलाई मृत्‍युदण्ड नदिनू किनभने त्‍यो मुक्त थिई ।21 त्‍यस मानिसले भेट हुने पालको प्रवेशद्वारमा परमप्रभुकहाँ एउटा भेडा दोषबलिको रूपमा ल्याओस् ।22 त्‍यसपछि पूजाहारीले त्‍यस मानिसको लागि त्‍यसले गरेको पापको खातिर परमप्रभुको अगि दोषबलिको निम्ति त्‍यस भेडाद्वारा प्रायश्‍चित गर्नेछ । अनि त्‍यसले गरेको पाप क्षमा हुनेछ ।23 तिमीहरूले जमिनमा हर प्रकारका रूखहरूलाई फलको निम्ति लगाएपछि तिनीहरूले उत्पादन गरेका फललाई खानको निम्ति मनाही गरिएको मान्‍नू । ती फल तेरो निम्ति खानलाई तीन वर्षसम्म मनाही हुनेछ । त्‍यो नखानू ।24 तर चौथो वर्षमा सबै फल परमप्रभुको निम्ति प्रशंसाको बलिदानझैँ पवित्र हुनेछ ।25 पाँचौँ वर्षमा रूखहरूले अझै बढी उत्पादन गरून् भनेर पर्खिसकेपछि तिमीहरू फल खान सक्‍छौ । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।26 कुनै मासुमा रगत बाँकी छ भने त्‍यो नखानू । भविष्‍यबारे जान्‍न आत्माहरूसँग सल्लाह नलिनू, र अरूहरूलाई अलौकिक शक्तिहरूद्वारा नियन्‍त्रण गर्ने प्रयास नगर्नू ।27 तिमीहरूका कन्‍चेटको कपाल नखुर्कनू वा दाह्रीका कुना-कुना नकाट्नू ।28 मरेको मानिसको निम्ति आफ्नो शरीर नकाट्‍नू वा आफ्नो शरीरमा खोपेर कुनै छाप नबनाउनू । म परमप्रभु हुँ ।29 आफ्नी छोरीलाई वेश्‍या बनाएर त्‍यसको अपमान नगर्नू, नत्रता सारा देश वेश्‍यागमनतिर लाग्‍ला र देश दुष्‍टताले भरिने छ ।30 तिमीहरूले मेरो शबाथ मान्‍नू र मेरो पवित्र स्थानको आदर गर्नू । म परमप्रभु हुँ ।31 मरेकाहरू वा आत्माहरूसँग बोल्‍नेहरूलाई नपछ्‍याओ । तिनीहरूको खोजी नगर, नत्रता तिनीहरूले तिमीहरूलाई अशुद्ध पार्ने छन् । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।32 फुलेका केश भएकाहरूका उपस्थितिमा खडा होओ र वृद्ध मानिसको उपस्थितिलाई आदर गर । तिमीहरूका परमेश्‍वरको भय मान । म परमप्रभु हुँ ।33 तिमीहरूका देशमा कुनै परदेशी बस्‍दछ भने, त्‍यसलाई कुनै हानि नगर्नू ।34 तिमीहरूसँग बसोबास गर्ने परदेशी तिमीहरूका निम्ति तिमीहरूसँगै बसोबास गर्ने इस्राएलमै जन्‍मेको मानिसझैँ होस्, र त्‍यसलाई आफैलाई झैँ प्रेम गर्नू, किनभने तिमीहरू पनि मिश्र देशमा परदेशी नै थियौ । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।35 लम्बाइ, तौल र सङ्ख्या नाप्‍दा छल नगर्नू ।36 तिमीहरूले ठीक-ठीक तराजु र ढक, र ठीक-ठीक नाप र तौलहरू प्रयोग गर्नू । तिमीहरूलाई मिश्र देशबाट बाहिर ल्याउने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।37 तिमीहरूले मेरा सबै आज्ञाहरू र मेरा सबै विधिविधानहरू मान्‍नू र तीअनुसार चल्‍नू । म परमप्रभु हुँ’ ।”