20
परमप्रभुले मोशालाई भन्‍नुभयो,2 “इस्राएलका मानिसहरूलाई भन्, ‘इस्राएलका मानिसहरू, वा इस्राएलमा बसोबास गर्ने परदेशीहरूमध्‍ये कसैले आफ्ना छोराछोरी मोलोखलाई चढाउँछ भने, त्‍यो मारिनुपर्छ । त्‍यहाँका मानिसहरूले त्‍यसलाई ढुङ्‌गाले हानून् ।3 त्‍यसले आफ्नो बालक मोलोखलाई दिएर मेरो पवित्र ठाउँ र पवित्र नाउँ अशुद्ध बनाएको हुनाले म त्‍यसको विरुद्ध खडा हुनेछु र त्‍यसका मानिसहरूका बीचबाट त्‍यसलाई बहिष्कार गर्नेछु ।4 यदि त्‍यो मानिसले आफ्ना छोराछोरीमध्‍ये कोही मोलोखलाई चढाउँदा त्‍यस भूमिका मानिसहरूले आफ्ना आँखा बन्‍द गरे, र त्‍यसलाई मृत्‍युदण्ड दिएनन् भने,5 त्‍यस मानिस र त्‍यसको वंशको विरुद्ध म आफै खडा हुनेछु, र त्‍यसलाई र मोलोखसँग वेश्‍यागमन गर्ने सबैलाई बहिष्‍कृत गर्नेछु ।6 मरेकाहरू वा आत्माहरूसँग बोलेर आफैलाई वेश्‍यासरह तुल्‍याउनेहरूलाई पछ्‍याउने मानिसको विरुद्ध म खडा हुनेछु र त्‍यसका मानिसहरूका बीचबाट त्‍यसलाई बहिष्‍कार गर्नेछु । [1]7 त्‍यसैले आफैलाई अर्पण गर र पवित्र होओ, किनभने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।8 तिमीहरूले मेरा आज्ञाहरू मानेर ती पालन गर्नू । तिमीहरूलाई पवित्र बनाउने परमप्रभु म नै हुँ ।9 आफ्नी आमा वा आफ्नो बुबालाई सराप दिने सबै मारिनुपर्छ । त्‍यसले आफ्नो बुबा वा आफ्नी आमालाई सरापेको हुनाले त्‍यो दोषी हुन्‍छ र त्‍यो मर्न योग्‍यको हुन्‍छ ।10 अर्कै पुरुषको पत्‍नीसँग व्यभिचार गर्ने मानिस अर्थात् आफ्नो छिमेकीकी पत्‍नीसँग व्यभिचार गर्ने त्‍यो व्यभिचारी मानिस, र व्याभिचारिणी दुवैलाई मारिनुपर्छ ।11 आफ्नो बुबाकी पत्‍नीसँग सुत्‍ने मानिसले आफ्नो बुबाको नग्‍नतालाई प्रकट गर्दछ । त्‍यो छोरा र त्‍यसको बुबाकी पत्‍नी दुवै मारिनुपर्छ । तिनीहरूको रगत तिनीहरू आफैमाथि पर्नेछ ।12 यदि कोही मानिस आफ्नी बुहारीसँग सुत्‍यो भने, तिनीहरू दुवै मारिनुपर्छ । तिनीहरूले दुराचरण गरेका हुनाले तिनीहरू दोषी हुन्‍छन् र तिनीहरू मर्न योग्‍यका हुन्‍छन् ।13 कोही पुरुष स्‍त्रीसँग झैँ गरी अर्को पुरुषसँग सुत्‍यो भने, तिनीहरू दुवैले घृणास्पद काम गरेका छन् । तिनीहरू मारिनैपर्छ । तिनीहरू दोषी हुन्‍छन् र तिनीहरू मर्न योग्‍यका हुन्‍छन् ।14 कोही पुरुषले कुनै स्‍त्री र त्‍यसकी आमा दुवैलाई विवाह गर्‍यो भने, यो दुष्‍टता हो । त्‍यो पुरुष र ती दुवै स्‍त्री जलाइनुपर्छ ताकि तिमीहरूका बीचमा कुनै दुष्‍टता नहोस् ।15 कोही पुरुषले पशुसँग सहवास गरेमा त्‍यो मारिनैपर्छ, र तिमीहरूले त्‍यो पशुलाई पनि मार्नू ।16 कोही स्‍त्री पशुसँग सहवास गर्नलाई त्‍यसको नजिक गई भने, तिमीहरूले त्‍यस स्‍त्री र पशु दुवैलाई मार्नू । तिनीहरू निश्‍चय नै मारिनैपर्छ । तिनीहरू दोषी हुन्‍छन् र मर्न योग्‍यका हुन्‍छन् ।17 कोही पुरुषले आफ्नी दिदी-बहिनी, वा आफ्नो बुबा वा आमाकी छोरीसँग सुतेर त्‍यसको नग्‍नता प्रकट गर्दछ, र त्‍यसले त्‍यस पुरुषको नग्‍नता देख्‍दछे भने, यो शर्मको कुरा हो । त्‍यो आफ्नी दिदी-बहिनीसँग सुतेको कारण तिनीहरू आफ्ना मानिसहरूको उपस्थितिबाट बहिष्‍कृत गरिनुपर्छ । त्‍यसले आफ्नो दोष बोकिरहनेछ ।18 कोही पुरुष स्‍त्रीको रजस्‍वलाको समयमा त्‍योसँग सुत्‍यो भने, त्‍यसले त्‍यसको रगतको मूल देखाउँदछ । ती पुरुष र स्‍त्री दुवै आफ्ना मानिसहरूबाट बहिष्‍कृत गरिनुपर्छ ।19 आफ्नो बुबा वा आमाकी दिदी-बहिनीसँग नसुत्, किनभने तैँले त्‍यसो गरेर आफ्नो नजिकको नाताको अपमान गर्नेछस् । तैँले आफ्नो दोष आफै बोक्‍नेछस् ।20 कोही पुरुष आफ्नी काकीसँग सुत्‍यो भने, त्‍यसले आफ्नो काकाको अपमान गर्दछ । तिनीहरूले आ-आफ्नो पापको भार उठाउनेछन्, र तिनीहरू निसन्‍तान नै मर्नेछन् ।21 कोही मानिसले आफ्नो दाजु वा भाइ जीवितै हुँदा त्‍यसकी पत्‍नीलाई बिहे गर्‍यो भने, त्‍यो अपमानजनक हो । त्‍यसले आफ्नो दाजु वा भाइलाई अनादर गर्दछ, र तिनीहरूले आफ्ना आमाबुबाबाट उत्तराधिकारको रूपमा प्राप्‍त गरेका सबै सम्पत्ति तिनीहरूका छोराछोरीबाट म खोसिदिनेछु ।22 त्‍यसैकारण तिमीहरूले मेरा सबै विधिविधानहरू र आज्ञाहरू पालन गर्नू । यी तिमीहरूले पालन गर्नू ताकि तिमीहरूलाई बसोबास गर्नको निम्ति मैले लैजान लागेको भूमिले तिमीहरूलाई नउकेलोस् ।23 तिमीहरूका सामुबाट मैले निष्‍कासन गरेका जातिहरूका रीतिरिवाजहरूमा तिमीहरू नहिँड्नू, किनभने तिनीहरूले यी सबै कुरा गरे, र मैले तिनीहरूलाई घृणा गरेँ ।24 मैले तिमीहरूलाई भनेँ, “तिमीहरूले तिनीहरूका भूमि उत्तराधिकारमा पाउनेछौ । दूध र मह बगिरहने देश म तिमीहरूको अधिकारमा दिनेछु । अरू मानिसहरूबाट तिमीहरूलाई अलग गर्ने परमप्रभु तिमीहरूका परमेश्‍वर म नै हुँ ।25 यसैकारण तिमीहरूले शुद्ध र अशुद्ध पशु, अनि शुद्ध र अशुद्ध पक्षीबीच भेद राख्‍नू । मैले तिमीहरूका निम्ति अशुद्ध भनेर छुट्‍ट्‌याएको अशुद्ध पशु वा पक्षी वा जमिनमा घस्रने प्राणीद्वारा आफैलाई अशुद्ध नबनाउनू ।26 तिमीहरू पवित्र होओ, किनभने म परमप्रभु पवित्र छु, र मैले तिमीहरूलाई अरू मानिसहरूबाट अलग गरेको छु, किनभने तिमीहरू मेरा हौ ।27 मरेकाहरू वा आत्माहरूसँग बोल्‍ने पुरुष वा स्‍त्री मारिनुपर्छ । मानिसहरूले तिनीहरूलाई ढुङ्‌गाले हानून् । तिनीहरू दोषी छन् र मर्न योग्‍यका छन्’ । 20ः7 [1] धेरै वर्तमान संस्करणमा यस्तो छः ... किनभने म, परमप्रभु तिमीहरूका परमेश्‍वर पवित्र छु ।