18
परमप्रभुले मोशालाई भन्‍नुभयो,2 “इस्राएलका मानिसहरूलाई यसो भन्, ‘म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।3 तिमीहरू पहिले बसोबास गर्ने मिश्रका मानिसहरूले त्‍यहाँ जे गर्थे ती तिमीहरूले नगर्नू । मैले तिमीहरूलाई लैजान लागेको देश अर्थात् कनानका मानिसहरूले त्‍यहाँ जे गर्थे ती तिमीहरूले नगर्नू । तिमीहरूले तिनीहरूका रीतिरिवाजहरू नपछ्‍याउनू ।4 मेरो व्यवस्था तिमीहरूले पालन गर्नू, र मेरा आज्ञाहरू मान्‍नू, र तीअनुसार तिमीहरू हिँड्नू, किनभने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।5 यसैकारण तिमीहरूले मेरा आज्ञाहरू मान्‍नू र मेरा व्यवस्था पालन गर्नू । ती पालन गर्ने मानिस तीद्वारा नै बाँच्‍दछ । म परमप्रभु हुँ ।6 आफ्नो नजिकको नातेदारसँग सुतेर कसैले पनि आफ्नो नग्‍नता नदेखाओस् । म परमप्रभु हुँ ।7 आफ्नी आमासँग सुतेर आफ्ना बुबाको अनादार नगर्नू । त्‍यो तेरी आमा हो ! तैँले त्‍यसलाई अनादर नगर् ।8 आफ्ना बुबाकी कुनै पत्‍नीसँग पनि नसुत् । त्‍यस्तो काम गरेर आफ्ना बुबाको अनादर नगर् ।9 आफ्नी कुनै दिदी-बहिनीसँग नसुत्, चाहे त्‍यो तेरो बुबाकी छोरी वा आमाकी छोरी होस्, चाहे त्‍यो तेरो घरमा वा घरबाट टाढा हुर्काइएकी होस् । आफ्नी दिदी-बहिनीसँग नसुत् ।10 आफ्नो छोरा वा छोरीको छोरीसँग नसुत् । त्‍यो तेरो निम्ति शर्मको कुरा हो ।11 आफ्ना बुबाकी पत्‍नीकी छोरीसँग नसुत्, जो तेरो बुबाबाट जन्‍मेकी थिई । त्‍यो तेरो बहिनी हो, र तँ त्‍योसँग नसुत् ।12 आफ्ना बुबाकी दिदी-बहिनीसँग नसुत् । त्‍यो तेरो बुबाको नजिकको नातेदार हो ।13 आफ्नी आमाकी दिदी-बहिनीसँग नसुत् । त्‍यो तेरी आमाको नजिकको नातेदार हो ।14 आफ्ना बुबाको दाजु वा भाइकी पत्‍नीसँग सुतेर त्‍यसको अनादर नगर् । त्‍यस्तो कामको निम्ति त्‍यसको नजिक नजा, त्‍यो तेरी काकी हो ।15 आफ्नी बुहारीसँग नसुत् । त्‍यो तेरो छोरोकी पत्‍नी हो, त्‍योसँग नसुत् ।16 आफ्नो दाजु वा भाइकी पत्‍नीसँग नसुत् । यस्तो काम गरेर त्‍यसको अनादर नगर् ।17 कुनै स्‍त्री र त्‍यसकी छोरी दुवैसँग नसुत्, वा त्‍यसको छोराकी छोरीसँग वा त्‍यसकी छोरीकी छोरीसँग नसुत् । तिनीहरू त्‍यस स्‍त्रीका नजिकका नातेदार हुन् र तिनीहरूसँग सुत्‍नु दुष्‍टता हो ।18 आफ्नी पत्‍नीकी दिदी वा बहिनीलाई विवाह नगर् र आफ्नो पहिलेकी पत्‍नी जीवितै हुँदासम्‍म त्‍यसकी दिदी वा बहिनीसँग नसुत् ।19 कुनै स्‍त्रीको रजस्‍वलाको समयमा त्‍योसँग सहवास नगर् । त्‍यो समयमा त्‍यो अशुद्ध हुन्‍छे ।20 आफ्नो छिमेकीकी पत्‍नीसँग नसुत् र यसरी आफैलाई अशुद्ध नबना ।21 आफ्ना छोराछोरीहरूलाई मोलोखको निम्ति बलि गर्नलाई तिनीहरूलाई आगोमा नहाल्नू, किनभने तिमीहरूले यसो गरेर आफ्ना परमेश्‍वरको नाउँलाई अपवित्र नबनाउनू । म परमप्रभु हुँ ।22 स्‍त्रीसँगझैँ गरी अरू पुरुषहरूसँग नसुत्‍नू । यो दुष्‍टता हो ।23 कुनै पशुसँग सहवास गरेर आफैलाई अशुद्ध नबनाउनू । कुनै पनि स्‍त्री कुनै पशुसँग नसुत्‍नू । यो अस्वाभाविक दुराचरण हो ।24 यस्ता कामहरू गरेर आफैलाई अपवित्र नबनाउनू, किनभने जुन जातिहरूलाई मैले तिमीहरूका सामुबाट निकाल्दै छु ती यी सबै कारणले अपवित्र भएका छन् ।25 तिनीहरूको भूमि अपवित्र भयो, र यसैकारण मैले तिनीहरूका पापको दण्ड दिएँ, र त्‍यस भूमिले त्‍यसका बासिन्‍दाहरूलाई उकेलेर निकालिदियो ।26 यसैकारण, तिमीहरूले मेरा आज्ञाहरू र विधिहरू पालन गर्नू, र इस्राएलका स्वदेशी वा तिमीहरूका बीचमा बसोबास गर्ने परदेशी जोकोहीले कुनै पनि यस्ता घृणास्‍पद काम नगर्नू ।27 तिमीहरू भन्‍दा अगि यस भूमिमा बसोबास गर्ने मानिसहरूले यस्तै दुष्‍ट काम गरे, र यसैकारण सारा देश नै अपवित्र भयो ।28 तिमीहरूका अपवित्रताका कारण तिमीहरू भन्‍दा अगिका मानिसहरूलाई झैँ त्‍यस भूमिले तिमीहरूलाई पनि उकेलेर बाहिर ननिकालोस् ।29 तिमीहरूमध्‍ये जो कोहीले यस्ता घृणास्पद कामहरू गर्दछन् भने, तिनीहरू आफ्ना मानिसहरूबाट बहिष्‍कृत हुनेछन् ।30 तिमीहरू भन्‍दा अगि यहाँ अभ्यास हुने गरेका कुनै यस्ता घृणास्‍पद रीतिरिवाजहरूलाई तिमीहरूले अभ्यास नगरेर मेरो आज्ञा पालन गर्नू अनि यसरी तिमीहरूले यस्ता कामले आफैलाई अपवित्र बनाउनेछैनौ । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ’ ।”