13
परमप्रभुले मोशा र हारूनलाई यसो भन्नुभयो,2 “यदि कसैको शरीरको छाला सुनिएर फुल्यो वा त्यसमा खटिरा वा उज्ज्वल दाग आयो, र त्यो सङ्क्रमित भएर त्यसको शरीरमा छालाको रोग आयो भने, त्यसलाई प्रधान पूजाहारी अर्थात् हारून वा त्यसका पूजाहारी छोराहरूकहाँ ल्याइनुपर्छ ।3 त्यसपछि पूजाहारीले त्यसको शरीरमा आएको छालाको रोगको जाँच गर्नेछ । यदि रोग लागेको ठाउँको रौँ सेतो भएको छ, र त्यो रोग छालामा गहिरो भएको छ भने, त्यो सरुवा रोग हो । पूजाहारीले त्यसलाई हेरेपछि उसले त्यसलाई अशुद्ध भनेर घोषणा गर्नेछ ।4 यदि त्यसको छालामा भएको उज्ज्वल दाग सेतो छ, र त्यो छालामा गहिरो देखिँदैन, र त्यो रोग लागेको ठाउँको रौँ सेतो भएको छैन भने, रोग लागेको मानिसलाई पूजाहारीले सात दिनसम्म अलग्गै राखोस् ।5 सातौँ दिनमा पूजाहारीले त्यो रोग खराब भएको छ वा छैन र छालामा फैलिएको छ वा छैन भनेर जाँच्नेछ । यदि फैलिएको छैन भने पूजाहारीले त्यसलाई अझै सात दिनसम्म अलग्गै राखोस् ।6 पूजाहारीले फेरि सातौँ दिनमा त्यो रोगमा केही सुधार भएको छ वा छैन र छालामा पर-परसम्म फैलिएको छ वा छैन भनेर त्यसको जाँच गर्नेछ । यदि फैलिएको छैन भने पूजाहारीले त्यसलाई शुद्ध घोषणा गर्नेछ । त्यो एउटा डाबर मात्र हो । त्यसले आफ्ना लुगाहरू धोओस्, अनि त्यो शुद्ध हुनेछ ।7 तर त्यसले आफैलाई पूजाहारीकहाँ देखाइसकेपछि यदि त्यो डाबर छालामा फैलियो भने, त्यसले फेरि आफूलाई पूजाहारीकहाँ देखाओस् ।8 त्यो डाबर छालामा अझै परसम्म फैलिएको छ वा छैन भनेर पूजाहारीले जाँच गर्नेछ । यदि त्यो फैलिएको छ भने, पूजाहारीले त्यसलाई अशुद्ध घोषणा गर्नेछ । त्यो सरुवा रोग हो ।9 यदि कसैलाई सरुवा रोग लागेको छ भने, त्यसलाई पूजाहारीकहाँ लगिनुपर्छ ।10 पूजाहारीले छालामा कुनै भाग सेतो भएर फुलेको छ वा छैन, रौँ सेतो भएको छ वा छैन, वा फुलेको ठाउँमा कुनै आलो मासु पलाएको छ वा छैन भनेर त्यसको जाँच गर्नेछ ।11 यदि छ भने, त्यो धेरै पुरानो छालाको रोग हो, र पूजाहारीले त्यसलाई अशुद्ध घोषणा गरोस् । त्यो पहिले नै अशुद्ध भएको कारणले पूजाहारीले त्यसलाई अलग्गै राख्ने छैन ।12 यदि पूजाहारीले हेर्दा त्यसको रोग छालाभरि फैलिएर त्यसको शिरदेखि पाउसम्मै पुगेको रहेछ भने,13 त्यो रोगले त्यसका सबै शरीर ढाकेको छ वा छैन भनेर उसले त्यसलाई जाँचोस् । यदि छ भने, त्यो रोग भएको मानिसलाई पूजाहारीले शुद्ध घोषणा गरोस् । यदि त्यो पूरै सेतो भएको छ भने, त्यो शुद्ध हुनेछ ।14 तर यदि त्यसमा आलो मासु देखा पर्यो भने, त्यो अशुद्ध हुनेछ ।15 पूजाहारीले त्यो आलो मासुलाई हेरेर त्यस मानिसलाई अशुद्ध घोषणा गरोस् किनभने आलो मासु अशुद्ध हो । त्यो एउटा सरुवा रोग हो ।16 तर आलो मासु फेरि सेतो भयो भने, त्यो मानिस पूजाहारीकहाँ जाओस् ।17 छाला सेतो भएको छ वा छैन भनेर पूजाहारीले त्यसको जाँच गर्नेछ । यदि छ भने पूजाहारीले त्यस मानिसलाई शुद्ध भनी घोषणा गर्नेछ ।18 यदि कसैको छालामा कुनै फोका आयो र त्यो निको भयो,19 र त्यस फोकाको ठाउँमा सुनिएर त्यो सेतो भयो वा त्यहाँ रातो-सेतो उज्ज्वल दाग आयो भने, त्यो पूजाहारीलाई देखाइनुपर्छ ।20 त्यो छालामा गहिरो छ वा छैन र त्यसको रौँ सेतो भएको छ वा छैन भनेर पूजाहारीले त्यसको जाँच गर्नेछ । यदि त्यस्तो भएको छ भने पूजाहारीले त्यस मानिसलाई अशुद्ध घोषणा गरोस् । फोका भएको ठाउँमा नै त्यो आएको हो भने त्यो एउटा सरुवा रोग हो ।21 तर पूजाहारीले जाँच गर्दा त्यसमा कुनै सेतो रौँ छैन भने, र त्यो छालामा गहिरो छैन तर बिलाउँदै गएको छ भने, पूजाहारीले त्यस मानिसलाई सात दिनसम्म अलग्गै राखोस् ।22 यदि त्यो छालामा पर-पर फैलियो भने, पूजाहारीले त्यसलाई अशुद्ध घोषणा गरोस् । त्यो एउटा सरुवा रोग हो ।23 तर यदि त्यो सेतो दाग आफ्नै ठाउँमा रह्यो र त्यो फैलिएन भने, त्यो त्यस फोकाको दाग मात्र हो, र पूजाहारीले त्यस मानिसलाई शुद्ध घोषणा गरोस् ।24 यदि छालामा पोलेर घाउ भयो र त्यसको आलो मासुमा रातो-सेतो वा सेतो दाग भयो भने,25 पूजाहारीले त्यस दागमा पलाएको रौँ सेतो भएको छ वा छैन, र त्यो छालामा गहिरो भएको छ वा छैन भनेर जाँच गर्नेछ । यदि त्यो पोलेको घाउ फुटेको छ भने, पूजाहारीले त्यसलाई अशुद्ध घोषणा गरोस् । त्यो एउटा सरुवा रोग हो ।26 तर पूजाहारीले त्यो जाँच गर्दा त्यस दाग भएको ठाउँमा कुनै सेतो रौँ नभएको, र त्यो छालामा नफैलिएको तर बिलाउँदै गएको पायो भने, पूजाहारीले त्यसलाई सात दिनसम्म अलग्गै राखोस् ।27 सातौँ दिनमा पूजाहारीले त्यसको जाँच गरोस् । यदि त्यो छालामा पर-परसम्म फैलिएको छ भने पूजाहारीले त्यसलाई अशुद्ध घोषणा गरोस् । त्यो एउटा सरुवा रोग हो ।28 तर यदि त्यो दाग आफ्नै ठाउँमा रह्यो र छालामा त्यो फैलिएको छैन र बिलाउँदै गएको छ भने, त्यो पोलेको घाउ फुलेको मात्र हो, र पूजाहारीले त्यसलाई शुद्ध घोषणा गरोस्, किनभने त्यो पोलेको घाउको दाग मात्र हो ।29 यदि कुनै पुरुष वा स्त्रीको टाउको वा चिउँडोमा सरुवा रोग लागेको छ भने,30 पूजाहारीले त्यो रोग छालामा गहिरो भएको छ वा छैन, र त्यसमा कुनै पहेँलो, मसिनो रौँ छ वा छैन भनेर त्यस रोगको जाँच गर्नेछ । यदि त्यहाँ छ भने, पूजाहारीले त्यसलाई अशुद्ध घोषणा गरोस् । त्यो टाउको वा चिउँडोको चिलाउने सरुवा रोग हो ।31 पूजाहारीले त्यो चिलाउने रोगको जाँच गर्दा त्यो छालामा गहिरो नभएको, र त्यसमा कालो रौँ नपलाएको देख्यो भने, पूजाहारीले त्यो चिलाउने रोग लागेको मानिसलाई सात दिनसम्म अलग्गै राख्नेछ ।32 सातौँ दिनमा पूजाहारीले त्यो रोग फैलिएको छ वा छैन भनेर जाँच गर्नेछ । यदि त्यहाँ पहेँलो रौँ छैन, र त्यो रोग छाला भन्दा गहिरो छैन भने,33 त्यो रोग लागेको ठाउँलाई छोडेर त्यसको रौँ खौरियोस्, र त्यो चिलाउने रोग लागेको मानिसलाई पूजाहारीले अर्को सात दिनसम्म अलग्गै राखोस् ।34 सातौँ दिनमा पूजाहारीले त्यो रोग छालामा फैलिन रोकिएको छ वा छैन भनेर जाँच गर्नेछ । यदि त्यो छाला भन्दा गहिरो भएको छैन भने पूजाहारीले त्यसलाई शुद्ध घोषणा गरोस् । त्यो मानिसले आफ्ना लुगाहरू धुनेछ, अनि त्यो शुद्ध हुनेछ ।35 तर पूजाहारीले त्यसलाई शुद्ध घोषणा गरिसकेपछि त्यो चिलाउने रोग छालामा पर-परसम्म फैलियो भने,36 पूजाहारीले फेरि त्यसको जाँच गर्नुपर्छ । यदि त्यो रोग छालामा फैलिएको छ भने, पूजाहारीले पहेँलो रौँ छ वा छैन भनेर हेर्नुपर्दैन । त्यो मानिस अशुद्ध हुन्छ ।37 तर यदि त्यो चिलाउने रोग फैलिन रोकिएको र त्यस ठाउँमा कालो रौँ पलाएको पूजाहारीले देख्यो भने, त्यो रोग निको भएको हो । त्यो मानिस शुद्ध हुन्छ, र पूजाहारीले त्यसलाई शुद्ध घोषणा गरोस् ।38 यदि कुनै पुरुष वा स्त्रीको शरीरमा सेता दागहरू छन् भने,39 पूजाहारीले ती दागहरू फिक्का सेता छन् वा छैनन् भनेर त्यस मानिसको जाँच गरोस्, जुन छालामा निस्केका डाबर मात्र हुन् । त्यो मानिस शुद्ध छ ।40 यदि कुनै मानिसको केश झरेको छ, र त्यो तालु खुइले भएको छ भने पनि त्यो शुद्ध रहनेछ ।41 यदि त्यसको शिरको अगिल्लो भागको केश झरेको छ, र यदि त्यसको निधार खुइलेको छ भने, त्यो शुद्ध रहनेछ ।42 तर यदि त्यसको खुइलेको शिर वा निधारमा रातो-सेतो खटिरा आएको छ भने, त्यो फुटेर निस्केको सरुवा रोग हो ।43 त्यसपछि पूजाहारीले त्यस मानिसको खुइलेको शिर वा निधारको सुनिएर फुलेको ठाउँलाई छालाको सरुवा रोगझैँ छ कि छैन भनेर जाँच गर्नेछ ।44 यदि त्यो त्यस्तै छ भने, त्यसलाई सरुवा रोग लागेको छ, र त्यो अशुद्ध हुनेछ । त्यसको शिरमा रोग भएको कारण पूजाहारीले त्यसलाई अशुद्ध घोषणा गरोस् ।45 सरुवा रोग लागेको मानिसले झुत्रो लुगा लगाओस्, त्यसले आफ्ना कपाल खुला छोडोस्, र आफ्नो अनुहारलाई नाकसम्म ढाकेर त्यसले सोर निकालेर ‘अशुद्ध, अशुद्ध’ भनोस् ।46 त्यसमा त्यो सरुवा रोग भइन्जेलसम्म त्यो अशुद्ध रहनेछ । फैलिन सक्ने रोगद्वारा त्यो अशुद्ध भएको कारण, त्यो एक्लै बस्नुपर्छ । त्यो छाउनी भन्दा बाहिर बस्नुपर्छ ।47 यदि कुनै लुगामा ढुसी परेको छ भने, चाहे त्यो ऊनी होस् वा सुती,48 वा बुनिएको वा ऊनी वा सुती, वा छाला र छालाबाट बनेको कुनै कुराद्वारा बुनिएको होस्,49 यदि त्यो लुगा, छाला, बुनिएको वा सिलाइएको वस्तु, छालाद्वारा बनेको कुनै वस्तुमा हरियो वा रातो दाग छ भने त्यो फैलिने ढुसी हो, र त्यो पूजाहारीलाई देखाइनुपर्छ ।50 पूजाहारीले त्यो ढुसी भएको वस्तुलाई जाँचोस्, र ढुसी भएको जुनसुकै वस्तुलाई सात दिनसम्म अलग्गै राखोस् ।51 पूजाहारीले सातौँ दिनमा त्यो ढुसीलाई फेरि जाँचोस् । यदि त्यो त्यस लुगामा, वा ऊनी वा सुतीबाट बुनिएको वा सिलाइएको कुनै वस्तुमा, वा छाला वा छाला प्रयोग गरिएको कुनै वस्तुमा फैलिएको छ भने, त्यो हानि गर्ने ढुसी हो, र त्यो वस्तु अशुद्ध हो ।52 त्यसले त्यो लुगा, ऊनी वा सुतीबाट बुनिएको वा सिलाइएको, वा छाला वा छालाबाट बनाइएको कुनै वस्तु, वा हानि गर्ने ढुसी भेटिएको जुनसुकै वस्तुलाई जलाओस्, किनभने त्यसले रोग लाग्न सक्छ । त्यो वस्तु पूर्ण रूपमा जलाइनुपर्छ ।53 पूजाहारीले त्यो वस्तुलाई जाँच्दा त्यो लुगा वा ऊनी वा सुतीबाट बुनिएको वा सिलाइएको वस्तु, वा छालाका वस्तुहरूमा ढुसी फैलिएको छैन भने,54 त्यो ढुसी फेला परेको वस्तुलाई पूजाहारीले धुनू भनी आज्ञा गर्नेछ, र उसले त्यो अझै सात दिनसम्म अलग्गै राख्नेछ ।55 ढुसी लागेको वस्तुलाई धोइसकेपछि पूजाहारीले त्यसको जाँच गर्नेछ । त्यो ढुसी नफैलिएको भए तापनि त्यसले आफ्नो रङ्ग परिवर्तन गरेन भने, त्यो अशुद्ध हुनेछ । ढुसी वस्तुको जुन ठाउँमा लागेको भए तापनि तैँले त्यसलाई जलाउनू ।56 पूजाहारीले त्यो वस्तुको जाँच गर्दा त्यसलाई धोइएपछि यदि ढुसी फिका भयो भने, तैँले ढुसी लागेको भागलाई लुगा वा छाला, वा बुनिएको वा सिलाइएको वस्तुबाट च्यात्नू ।57 यदि त्यो लुगामा, चाहे त्यो बुनिएको वा सिलाइएको वा छालाबाट बनेको वस्तु होस्, अझै पनि ढुसी देखियो र त्यो फैलिँदै छ भने, ढुसी भएको जुनसुकै वस्तुलाई तैँले जलाउनू ।58 त्यो लुगा वा ऊनी वा सुतीबाट बुनिएको वा सिलाइएको जुनसुकै वस्तु, वा छाला वा छालाबाट बनेको कुनै वस्तुलाई धोएपछि यदि ढुसी हरायो भने, त्यो वस्तुलाई अर्को एक पटक धुनू, र त्यो शुद्ध हुनेछ ।59 कुनै ऊनी वा सुतीको लुगा, ऊनी वा सुतीबाट बुनिएको कुनै वस्तु, वा छाला वा छालाबाट बनेको कुनै वस्तुको ढुसीसम्बन्धी विधि यी नै हुन्, जसअनुसार तिमीहरूले त्यसलाई शुद्ध वा अशुद्ध भनी घोषणा गर्न सक्छौ ।”