12
परमप्रभुले मोशालाई भन्‍नुभयो,2 “इस्राएलका मानिसहरूलाई यसो भन्‍नू, ‘यदि कुनै स्‍त्री गर्भवती भएर त्‍यसले छोरो जन्‍माई भने, त्‍यसको रजस्‍वलाका दिनहरूझैँ त्‍यो सात दिनसम्म अशुद्ध रहनेछे ।3 आठौँ दिनमा चाहिँ त्‍यस बालकको खलडीको खतना गरिनुपर्छ ।4 त्‍यसपछि त्‍यस स्‍त्रीको रक्तस्रावको शुद्धीकरण तेत्तीस दिनसम्म जारी रहनेछ । त्‍यसको शुद्धीकरणको समय पूरा नभएसम्म त्‍यसले कुनै पवित्र कुरा छुनु हुँदैन वा पवित्र स्थानमा आउनु हुँदैन ।5 तर यदि त्‍यसले छोरी जन्‍माई भने, त्‍यसको रजस्‍वलाको समयमा झैँ त्‍यो दुई हप्‍तासम्म अशुद्ध रहनेछे । त्‍यसपछि त्‍यसको शुद्धीकरण छैसट्ठी दिनसम्मै जारी रहनेछ ।6 त्‍यसको शुद्धीकरणको समय पूरा भएपछि छोराको निम्ति होस् वा छोरीको निम्ति होस्, त्‍यसले पूजाहारीकहाँ भेट हुने पालको प्रवेशद्वारमा होमबलिको निम्ति एउटा एक वर्षे भेडाको बच्‍चा, र पाप बलिको निम्ति एउटा परेवाको बचेरो वा ढुकुर ल्याओस् ।7 त्‍यसपछि पूजाहारीले त्‍यो परमप्रभुको अगि चढाएर त्‍यस स्‍त्रीको निम्ति प्रायश्‍चित गर्नेछ, र त्‍यो आफ्नो रक्तस्रावबाट शुद्ध हुनेछे । छोरा वा छोरी जन्‍माउने स्‍त्रीको निम्ति विधि यही नै हो ।8 यदि त्‍यस स्‍त्रीको भेडाको बच्‍चा ल्याउने क्षमता छैन भने, त्‍यसले होमबलिको निम्ति एउटा र पापबलिको निम्ति एउटा गरेर दुई वटा ढुकुर वा परेवाका दुई वटा वचेरा ल्याओस्, र पूजाहारीले त्‍यसको निम्ति प्रायश्‍चित गर्नेछ अनि त्‍यो शुद्ध हुनेछे’ ।”