11
परमप्रभु मोशा र हारूनसँग यसरी बोल्नुभयो,2 “इस्राएलका मानिसहरूलाई यसो भन्नू, ‘पृथ्वीमा भएका सबै पशुहरूमध्ये तिमीहरूले खान मिल्ने जीवित प्राणीहरू यी नै हुन् ।3 चिरिएको खुर भएको र उग्राएर चबाउने सबै पशु तिमीहरूले खान मिल्छ ।4 तर, उग्राएर चबाउने वा चिरिएको खुर मात्र भएको पशुचाहिँ तिमीहरूले नखानू, जस्तै ऊँट, किनभने त्यसले उग्राएर चबाउँछ तर त्यसको खुर चिरिएको हुँदैन । यसकारण त्यो तिमीहरूका निम्ति अशुद्ध हो ।5 अनि शापन, किनभने त्यसले उग्राएर चबाउँछ तर त्यसको खुर चिरिएको हुँदैन । त्यो तिमीहरूका निम्ति अशुद्ध हो ।6 अनि खरायो तिमीहरूका निम्ति अशुद्ध हो किनभने त्यसले उग्राएर चबाउँछ तर त्यसको खुर चिरिएको हुँदैन ।7 अनि सुँगुरको खुर चिरिएको भए तापनि त्यसले उग्राएर चबाउँदैन । यसैकारण त्यो तिमीहरूका निम्ति अशुद्ध हो ।8 तिमीहरूले यी कुनै पशुको मासु नखानू, न त तिनीहरूको सिनु छुनू । यी तिमीहरूका निम्ति अशुद्ध हुन् ।9 पानीमा पाइने प्राणीहरूमा सागर वा नदीहरूमा पाइने पखेटा र कत्ला भएका सबै तिमीहरूले खान मिल्छ ।10 तर सागर वा नदीहरूका सबै जीवित प्राणीहरू र पानीमा हिँड्ने र पानीमा पाइने सबै जीवित प्राणीहरू जसका पखेटा र कत्ला हुँदैनन्, ती तिमीहरूले घृणा गर्नू ।11ती घृणित भएका हुनाले, तिमीहरूले तिनका मासु नखानू, र तिनका सिनुलाई पनि घृणा गर्नू ।12 पानीमा पाइने प्राणी जसका पखेटा र कत्ला हुँदैनन्, ती तिमीहरूद्वारा घृणित होस् ।13 तिमीहरूले घृणा गर्नुपर्ने र खान नहुने पक्षीहरू यी हुन्ः गरुड, गिद्ध,14 चील, सबै प्रकारका बेसारो,15 सबै प्रकारका काग,16 शुतुरमुर्ग र हुचील, समुद्रीचरो, र सबै प्रकारका बाज ।17 तिमीहरूले यी पक्षीहरूलाई पनि घृणा गर्नू, सानो र ठुलो लाटोकोसेरो, जलकाग,18 राजहंस र धनेस, माछा खाने चील,19 सारस, सबै प्रकारका बकुल्ला, फाप्रेचरो र चमेरो ।20 चार खुट्टाले हिँड्ने पखेटा भएका सबै किराहरू तिमीहरूका निम्ति घृणित हुन् ।21 तर उड्ने किराहरूमा चार खुट्टाले हिँड्ने र जमिनमा उफ्रनको निम्ति खुट्टामा जोर्नीहरू भएकाहरूचाहिँ तिमीहरूले खान मिल्छ ।22 तिमीहरूले कुनै पनि प्रकारका सलह, खुइले-सलह, किथ्रो, वा फटेङ्ग्रो पनि खान मिल्छ ।23 तर चार खुट्टा भएका सबै उड्ने किराहरूचाहिँ तिमीहरूद्वारा घृणित होस् ।24 यदि तिमीहरूले यीमध्ये कुनैको सिनुलाई छोयौ भने तिमीहरू साँझसम्म अशुद्ध हुनेछौ ।25 जसले तीमध्ये कसैको सिनु बोक्छ, उसले आफ्ना लुगा धोओस् र साँझसम्मै त्यो अशुद्ध रहनेछ ।26 हरेक पशु जसको खुर पूरै चिरिएको छैन वा जसले उग्राएर चबाउँदैन, त्यो तिमीहरूका निम्ति अशुद्ध हुन्छ । ती छुने सबै अशुद्ध हुनेछन् ।27 चार खुट्टाले हिँड्ने पशुहरूमध्ये आफ्ना पन्जाले हिँड्नेचाहिँ तिमीहरूका निम्ति अशुद्ध हुन्छन् । त्यस्तो सिनु छुने जो कोही साँझसम्म अशुद्ध हुनेछ ।28 त्यस्तो सिनु बोक्ने जो कोहीले आफ्ना लुगाहरू धोओस् र साँझसम्म त्यो अशुद्ध रहोस् । यी पशुहरू तिमीहरूका निम्ति अशुद्ध हुनेछन् ।29 जमिनमा घस्रने पशुहरूमा यी प्राणीहरू तिमीहरूका निम्ति अशुद्ध हुनेछन्ः न्याउरीमूसो, मूसो, सबै थरीका ठुलो छेपारो,30 गोहोरो, सालक, भालेमुङ्रो, बालुवाको छेपारो, र रङ्ग बदल्ने छेपारो ।31 घस्रने पशुहरूमा यी सबै तिमीहरूका निम्ति अशुद्ध हुनेछन् । ती मरेपछि ती छुने सबै साँझसम्म अशुद्ध हुनेछन् ।32 तिनीहरूमध्ये कोही मरेर केही कुरामाथि पर्यो भने, त्यो वस्तु काठ, कपडा, छाला, वा भाङ्रो, जे सुकैबाट बनेको भए तापनि त्यो अशुद्ध हुनेछ । त्यो जे भए तापनि र त्यो जे सुकैको निम्ति प्रयोग हुने भए तापनि, त्यो पानीमा डुबाइनुपर्छ, र त्यो साँझसम्म अशुद्ध रहनेछ । त्यसपछि त्यो शुद्ध हुनेछ ।33 यदि कुनै माटोको भाँडोमा कुनै अशुद्ध प्राणी पर्यो भने, त्यस भाँडोमा भएको जेसुकै अशुद्ध हुनेछ, र तिमीहरूले त्यो भाँडोलाई नष्ट गर्नू ।34 कुनै खान मिल्ने कुरामा त्यस्तो भाँडोको पानी पर्यो भने त्यो अशुद्ध हुन्छ । त्यस भाँडोको कुनै पनि पिउने तरल पदार्थ अशुद्ध हुन्छ ।35 जुन कुरामाथि तिनीहरूको सिनु खस्छ, त्यो वस्तु भट्टी वा सानो चुलो जे भए तापनि त्यसलाई टुक्राटुक्रा गरिनुपर्छ । ती अशुद्ध हुन् र तिमीहरूका निम्ति ती अशुद्ध रहून् ।36 जरुवा वा दहको पानी शुद्ध रहनेछ; तर तिनीहरूको सिनु छुने सबै अशुद्ध हुन्छन् ।37 यदि तिनीहरूको सिनुको कुनै भाग छरिने बीउमा पर्यो भने, ती बिउहरू भने शुद्ध नै रहन्छन् ।38 तर यदि बीउमा पानी राखिएको भए, र तिनीहरूको सिनुको कुनै भाग तीमाथि पर्यो भने, ती तिमीहरूका निम्ति अशुद्ध हुनेछन् ।39 तिमीहरूले खाने गरेका कुनै पशु मर्यो भने, त्यसको सिनु छुने कोही पनि साँझसम्म अशुद्ध हुनेछ ।40 त्यस्तो सिनु खाने जो कोहीले आफ्ना लुगाहरू धुनुपर्छ र त्यो साँझसम्म अशुद्ध रहनेछ । त्यस्तो सिनुबाट केही लिने जो कोहीले आफ्ना लुगाहरू धोओस् र त्यो साँझसम्म अशुद्ध रहनेछ ।41 जमिनमा घस्रने सबै प्राणी घृणित हुनुपर्छ । ती नखानू ।42 आफ्नो पेटले हिँड्ने, वा सबै चार खुट्टा प्रयोग गरी हिँड्ने, वा धेरै खुट्टा भएका जुनसुकै जमिनमा घस्रेर हिँड्ने प्राणी तिमीहरूले नखानू, किनकि ती घृणित हुनुपर्छ ।43 कुनै पनि घस्रने प्राणीबाट तिमीहरू अशुद्ध नहुनू; आफूलाई अपवित्र बनाउने गरी तीबाट तिमीहरू अशुद्ध नहुनू ।44 किनभने म परमप्रभु तिमीहरूका परमेश्वर हुँ । म पवित्र भएको कारण तिमीहरूले आफैलाई पवित्र राख्नुपर्छ, र यसैकारण तिमीहरू पवित्र होओ । जमिनमा घस्रने कुनै पनि प्राणीबाट तिमीहरूले आफैलाई अपवित्र नबनाओ ।45 किनभने तिमीहरूका परमेश्वर हुनलाई तिमीहरूलाई मिश्र देशबाट बाहिर ल्याउने परमप्रभु म नै हुँ । यसैकारण म पवित्र भएको हुनाले तिमीहरू पवित्र होओ ।46 सबै पशु, पक्षी, पानीमा चलहल गर्ने सबै जीवित प्राणी, र जमिनमा घस्रने सबै प्राणीसम्बन्धी विधि यी नै हुन्,47 जसका बीचमा अशुद्ध र शुद्ध, र खान मिल्ने र नमिल्ने प्राणीहरू भनेर छुट्ट्याउन जरुरी छ’ ।”