14
परमप्रभु मोशासँग यसरी बोल्नुभयो,2 “रोग लागेको मानिसको शुद्धीकरणको दिनको निम्ति विधि यी नै हुन् । त्यसलाई पूजाहारीकहाँ लगिनुपर्छ ।3 छालाको सरुवा रोग निको भएको छ वा छैन भनेर हेरेर त्यस मानिसलाई जाँच्नको निम्ति पूजाहारी छाउनी भन्दा बाहिर जानेछ ।4 त्यसपछि कोही शुद्ध हुनको निम्ति दुई जीवित, शुद्ध चराहरू, देवदारुको काठ, सिन्दुरे रङ्गको धागो, र हिसप ल्याउनू भनी पूजाहारीले आज्ञा गर्नेछ ।5 पूजाहारीले माटोको भाँडामा भएको ताजा पानीमाथि दुई चराहरूमध्ये एउटालाई मार्नू भनी आज्ञा गर्नेछ ।6 पूजाहारीले त्यसपछि जीवित चरा र देवदारुको काठ, र सिन्दुरे रङ्गको धागो र हिसप लिनेछ, र यी सबैलाई ताजा पानीमाथि मारिएको चराको रगतमा चोप्नेछ ।7 त्यसपछि पूजाहारीले यस पानीलाई रोगबाट शुद्धीकरण गरिनुपर्ने मानिसमाथि सात पटक छर्कनेछ, र त्यसलाई शुद्ध घोषणा गर्नेछ । त्यसपछि पूजाहारीले जीवित चरालाई भने खुला ठाउँमा छोडिदिनेछ ।8 शुद्धीकरण भइरहेको मानिसले आफ्ना लुगाहरू धुनेछ, आफ्नो सबै कपाल खौरनेछ, र पानीले नुहाउनेछ, र त्यो शुद्ध हुनेछ । त्यसपछि त्यो छाउनीभित्र आओस्, तर त्यो सात दिनसम्म आफ्नो पाल भन्दा बाहिरै बसोस् ।9 सातौँ दिनमा त्यसले आफ्नो शिरको कपाल, र आफ्नो दाह्री र आँखीभुइँ खौरोस् । त्यसले आफ्नो सबै कपाल खौरोस्, र आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्, अनि त्यो शुद्ध हुनेछ ।10 आठौँ दिनमा त्यसले दुई वटा निष्खोट भेडाका पाठा, एउटा निष्खोट एक वर्षे भेडाको पाठी, र अन्नबलिको निम्ति तेलसँग मुछिएको डेढ पाथी मसिनो पीठो, र आधा माना तेल ल्याओस् ।11 शुद्ध गर्ने पूजाहारीले शुद्ध गरिनुपर्ने मानिसलाई ती सर-सामानहरूसँगै परमप्रभुको अगि भेट हुने पालको प्रवेशद्वारमा खडा गराओस् ।12 पूजाहारीले दुई वटा भेडाका पाठामध्ये एउटा लिनेछ र आधा माना तेलसँगै दोषबलि अर्पण गर्नेछ, र परमप्रभुको अगि डोलाइने बलिको रूपमा उसले त्यो डोलाउनेछ ।13 उसले त्यो भेडाको पाठोलाई पवित्रस्थानमा पापबलिहरू र होमबलिहरू मारिने ठाउँमा मारोस्, किनभने पापबलि र दोषबलि पूजाहारीको भागको हो, कारण त्यो अति पवित्र हो ।14 पूजाहारीले दोषबलिको केही रगत लिनेछ र शुद्ध गरिनुपर्ने मानिसको दाहिने कानको टुप्पोमा, दाहिने हातको बूढी औँलामा, र दाहिने खुट्टाको बूढी औँलामा लगाउनेछ ।15 पूजाहारीले मानाबाट तेल लिएर आफ्नै देब्रे हातको हत्केलामा खन्याउनेछ र16 र आफ्नो देब्रे हातमा भएको तेलमा आफ्नो दाहिने औँला चोपेर परमप्रभुको अगि केही तेल सात पल्ट छर्कनेछ ।17 पूजाहारीले आफ्नो हातमा बाँकी रहेको तेललाई शुद्ध गरिनुपर्ने मानिसको दाहिने कानको टुप्पो, दाहिने हातको बूढी औँला, र दाहिने खुट्टाको बूढी औँलामा लगाउनेछ ।18 अनि पूजाहारीले आफ्नो हातमा बाँकी रहेको तेलचाहिँ शुद्ध गरिनुपर्ने मानिसको शिरमा खन्याउनेछ, र पूजाहारीले परमप्रभुको अगि त्यो मानिसको निम्ति प्रायश्चित गर्नेछ ।19 अनि पूजाहारीले पापबलिलाई अर्पण गर्नेछ र आफ्नो अशुद्धताको कारण शुद्ध गरिनुपर्ने मानिसको निम्ति प्रायश्चित गर्नेछ, र पछि उसले होमबलिलाई मार्नेछ ।20 त्यसपछि पूजाहारीले होमबलि र अन्नबलिलाई वेदीमा अर्पण गर्नेछ । पूजाहारीले त्यस मानिसको निम्ति प्रायश्चित गर्नेछ, अनि त्यो शुद्ध हुनेछ ।21 तर यदि त्यो मानिस गरिब छ, र यी बलिदानहरू ल्याउने त्यसको औकात छैन भने, त्यसले एउटा भेडाको पाठोलाई डोलाइनको निम्ति दोषबलिको रूपमा आफ्नै निम्ति प्रायश्चित गर्नलाई ल्याओस्, र अन्नबलिको निम्ति तेलमा मुछिएको आधा पाथी मसिनो पीठो, र आधा माना तेल,22 र आफूले ल्याउन सक्ने जति दुई वटा ढुकुर वा परेवाका दुई बचेरा ल्याओस् । एउटा चराचाहिँ पापबलि हुनेछ र अर्कोचाहिँ होमबलि हुनेछ ।23 आठौँ दिनमा त्यसले यी सबै आफ्नो शुद्धीकरणको निम्ति पूजाहारीकहाँ परमप्रभुको अगि भेट हुने पालको प्रवेशद्वारमा ल्याओस् ।24 पूजाहारीले बलिदानको निम्ति भेडाको बच्चा लिनेछ, र त्यससँगै उसले आधा माना जैतूनको तेल लिनेछ, र उसले ती माथि उठाएर परमप्रभुको अगि अर्पण गर्नेछ ।25 उसले दोषबलिको निम्ति भेडाको बच्चालाई मार्नेछ, र दोषबलिको केही रगत लिएर शुद्ध गरिनुपर्ने मानिसको दाहिने कानको टुप्पो, दाहिने हातको बूढी औँला, र दाहिने खुट्टाको बूढी औँलामा लगाउनेछ ।26 त्यसपछि पूजाहारीले केही तेल आफ्नो देब्रे हातको हत्केलामा खन्याउनेछ,27 र उसले आफ्नो दाहिने हातको औँलाले आफ्नो देब्रे हातमा भएको तेलबाट केही परमप्रभुको अगि सात पटकसम्म छर्कनेछ ।28 त्यसपछि पूजाहारीले आफ्नो हातमा भएको तेलबाट केही लिएर दोषबलिको रगत जहाँ-जहाँ लगाएको थियो अर्थात् शुद्ध गरिनुपर्ने मानिसको दाहिने कानको टुप्पो, दाहिने हातको बूढी औँला, र दाहिने खुट्टाको बूढी औँलामा लगाउनेछ ।29 परमप्रभुको अगि शुद्ध गरिनुपर्ने मानिसको निम्ति प्रायश्चित गर्नलाई उसले आफ्नो हातमा भएको बाँकी तेल त्यस मानिसको शिरमा लगाइदिनेछ ।30 उसले ढुकुरहरूमध्ये वा परेवाका बचेराहरूमध्ये एउटालाई आफ्नो क्षमताअनुसार अर्पण गरोस्,31 अन्नबलिसँगै उसले एउटाचाहिँ पापबलि र अर्को होमबलिको निम्ति अर्पण गरोस् ।32 छालामा सरुवा रोग भएको मानिस जसले आफ्नो शुद्धीकरणको निम्ति आवश्यक बलि ल्याउन सक्दैन, त्यसको निम्ति विधि यी नै हुन् ।33 परमप्रभुले मोशा र हारूनलाई यसो भन्नुभयो,34 “मैले तिमीहरूलाई अधिकार गर्न दिएको कनान देशमा पुगेपछि तिमीहरूको अधिकार हुने त्यस देशमा यदि मैले तिमीहरूका घरमा फैलिने ढुसी पठाएँ भने,35 घरको मालिकले आएर पूजाहारीलाई त्यसबारे बताओस् । त्यसले भनोस् ‘मैले मेरो घरमा ढुसी जस्तै केही देखेको छु ।’36 त्यसपछि पूजाहारीले त्यहाँ गएर ढुसी छ वा छैन भनेर हेर्नु भन्दा अगि तिनीहरूले त्यो घर खाली गर्नू भनेर उसले आज्ञा गर्नेछ, ता कि घरमा भएको कुनै पनि कुरा अशुद्ध नहोस् ।37 घरका पर्खालहरूमा ढुसी आएको छ वा छैन र त्यसले पर्खालका सतहहरूमा हरियो वा रातो रेखाहरू बनाएको छ वा छैन भनेर उसले जाँच गर्नेछ ।38 यदि घरमा ढुसी आएको छ भने, पूजाहारी घरबाट बाहिर जानेछ र घरको ढोका सात दिनसम्म बन्द गरिदिनेछ ।39 सातौँ दिनमा पूजाहारी फर्कनेछ र घरका पर्खालहरूमा ढुसी फैलिएको छ वा छैन भनेर जाँच गर्नेछ ।40 यदि फैलिएको छ भने, पूजाहारीले ढुसी देखा परेका ढुङ्गाहरूलाई झिकेर सहर भन्दा बाहिर कुनै एउटा अशुद्ध स्थानमा फ्याँक्न आज्ञा गर्नेछ ।41 घरका सबै भित्री पर्खालहरू खुर्कनुपर्नेछ, र खुर्किएर निकालिएको फोहोर वस्तुलाई सहरबाट बाहिर लगेर कुनै अशुद्ध स्थानमा फ्याँक्नुपर्छ ।42 तिनीहरूले अरू ढुङ्गाहरू लिएर ती झिकिएका ढुङ्गाहरूका स्थानमा राखून् र घरका पर्खालहरू पोत्नको निम्ति नयाँ माटो प्रयोग गरून् ।43 ढुङ्गाहरू निकालिएको र पर्खाल खुर्किएर पोतिएको घरमा फेरि ढुसी देखा पर्यो र त्यो फैलियो भने,44 पूजाहारी आएर घरमा ढुसी फैलिएको छ वा छैन भनेर जाँच गर्नेछ । यदि त्यो फैलिएको छ भने, त्यो हानि गर्ने ढुसी हो र त्यो घर अशुद्ध हुन्छ ।45 त्यो घर भत्काइयोस् । त्यस घरका ढुङ्गाहरू, काठहरू र पोतिएको माटो सबै सहर भन्दा बाहिर कुनै अशुद्ध स्थानमा लगियोस् ।46 साथै, त्यो घर बन्द गरिएको बेला त्यहाँ प्रवेश गर्ने मानिस साँझसम्म अशुद्ध हुनेछ ।47 त्यस घरमा सुतेका वा खाएका जोसुकैले आफ्ना लुगाहरू धोऊन् ।48 घरलाई पोतिसकेपछि त्यहाँ ढुसी फैलिएको छ वा छैन भनेर पूजाहारी त्यस घरभित्र जाँच्नको निम्ति जाँदा यदि ढुसी बिलाइसकेको रहेछ भने, उसले त्यो घरलाई शुद्ध घोषणा गर्नेछ ।49 त्यसपछि पूजाहारीले घरलाई शुद्ध गर्नको निम्ति दुई वटा चरा, देवदारुको काठ, सिन्दुरे रङ्गको धागो र हिसप लिओस् ।50 उसले माटोको भाँडाको ताजा पानीमाथि एउटा चरालाई मार्नेछ ।51 उसले देवदारुको काठ, हिसप, सिन्दुरे रङ्गको धागो, र जीवित चरा लिएर ती सबैलाई मारिएको चराको रगत र ताजा पानीमा चोप्नेछ र घरमा सात पटक छर्कनेछ ।52 उसले त्यो घरलाई चराको रगत र ताजा पनि, जीवित चरा, देवदारुको काठ, हिसप र सिन्दुरे रङ्गको धागोले शुद्ध गर्नेछ ।53 तर उसले जीवित चरालाई भने सहरबाट बाहिर खुला मैदानहरूमा जान दिनेछ । यसरी उसले त्यो घरको निम्ति प्रायश्चित गरोस्, र त्यो शुद्ध हुनेछ ।54 सबै प्रकारका सरुवा रोगहरू र त्यस्ता रोग ल्याउने वस्तुहरू र चिलाउने रोग,55 लुगा र घरभित्रको ढुसी,56 सुनिएर फुलेको ठाउँ, डाबर, र उज्ज्वल दागलाई,57 ती कुन बेला अशुद्ध छन् र कुन बेला शुद्ध छन् भनेर निर्धारण गर्नका निम्ति विधि यी नै हुन् । छालाका सरुवा रोगहरू र ढुसीको निम्ति विधि यी नै हुन् ।”