38
बजलेलले होमबलिको लागि बबुल काठबाट वेदी बनाए । यसको लमाइ पाँच हात र चौडाइ पाँच हातको थियो । यो वर्गाकार थियो र यसको उचाइ तीन हातको थियो ।2 तिनले यसका चार वटा कुनाबाट गोरुका जस्तै सीङहरू बाहिर निकाले । ती सीङहरू र वेदी एउटै टुक्राबाट बनाइएका थिए र तिनले यसलाई काँसाले मोहोरे ।3 तिनले वेदीका लागि चाहिने सबै सामग्री अर्थात् खरानी उठाउने भाँडाकुँडाहरू, बेल्चाहरू, बाटाहरू, मासु तान्ने काँटाहरू आगो राख्ने पात्रहरू बनाए । तिनले यी सबै सामग्री काँसाबाट बनाए ।4 तिनले वेदीको निम्ति त्यसको मुन्तिर चारैपट्टि बिटमुनि त्यसको बीचसम्मै पुग्ने काँसाका जालीको एउटा झिँजा बनाए ।5 तिनले काँसाको झिँजाको चार वटा कुनामा डन्डाहरूको घर हुनलाई चार वटा मुन्द्रा ढाले ।6 बजलेलले बबुल काठका डन्डाहरू बनाए र तिनलाई काँसाले मोहोरे ।7 यसलाई बोक्नलाई तिनले ती डन्डाहरू वेदीका किनाराका मुन्द्राहरूमा हाले । तिनले ती फल्याकहरूबाट खोक्रो बनाए ।8 बजलेलले काँसाको ठूलो बाटा र काँसाकै खुट्टा बनाए । भेट हुने पालको प्रवेशद्वारमा सेवा गर्ने स्त्रीहरूका ऐनाबाट तिनले बाटा बनाएका थिए ।9 तिनले चोक पनि बनाए । चोकको दक्षिणपट्टिका पर्दाहरू मसिनो सुती कपडाका थिए जुन एक सय हातका थिए ।10 तिनका खम्बाहरू बीस वटा र आधारहरू पनि काँसाका बीसवटै थिए । खम्बाका अङ्कुसेहरू र तिनका फित्ताहरूचाहिँ चाँदीका थिए ।11 त्यसै गरी, उत्तरपट्टि सय हात लामा पर्दाहरू थिए । तिनका खम्बाहरू बीस वटा र तिनका आधारहरू पनि बीसवटै थिए र ती काँसाका थिए । तर खम्बाहरूका अङ्कुसे र फित्ताहरूचाहिँ चाँदीका थिए ।12 पश्चिमपट्टिका पर्दाहरू पचास हात लामा थिए । तिनका दश वटा खम्बा र आधार थिए ।13 तिनका अङ्कुसे र फित्ताहरूचाहिँ चाँदीका थिए । चोकको पूर्वपट्टिको लमाइ पचास हात थियो ।14 प्रवेशद्वारको एकापट्टिका लागि पन्ध्र हात लामा पर्दाहरू थिए । तिनका तीन वटा खम्बा र तीन वटा आधार थिए ।15 चोकको प्रवेशद्वारको अर्कोपट्टि पनि पन्ध्र हात लामा पर्दाहरू थिए र तिनका तीन वटा खम्बा र तीन वटा आधार थिए ।16 चोकको वरिपरिका सबै पर्दा मसिनो सुती कपडाका थिए ।17 खम्बाहरूका आधारहरू काँसाका थिए । अङ्कुसे र फित्ताहरूचाहिँ चाँदीका थिए अनि तिनका टुप्पाहरूचाहिँ चाँदीका थिए । चोकका सबै फित्ता चाँदीले मोहोरिएका थिए ।18 चोकको मुल ढोकाको पर्दा बीस हात लामो थियो । पर्दा नीलो, बैजनी र रातो सुती कपडा, मसिनो गरी बाटेको सुती कपडाबाट बनाइएको थियो र यसको लमाइ बीस हात थियो । चोकका पर्दाहरू जस्तै यसको लमाइ बीस हात र चौडाइ पाँच हातको थियो ।19 यसका चार वटा काँसाका आधार र चाँदीका अङ्कुसेहरू थिए । तिनका टुप्पाका ढकनी र फित्ताहरू चाँदीका थिए ।20 पवित्र वासस्थान र चोकका लागि पालका सबै किला काँसाका थिए ।21 यो पवित्र वासस्थानको मण्डप अर्थात् करारका आदेशहरूको पवित्र वासस्थान थियो जसलाई मोशाको आज्ञामुताबिक बनाइएको थियो । यो हारून पूजाहारीका छोरा ईतामारको निर्देशनअनुसार लेवीहरूको काम थियो ।22 यहूदाको कुलबाट हुरका नाति, ऊरीका छोरा बजलेलले परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार हरेक थोक बनाए ।23 दानको कुलबाट अहीसामाकका छोरा ओहोलीआबले खोप्ने र सिपालु शिल्पकारले जस्तै अनि बुट्टा भर्नेले जस्तै नीलो, बैजनी, रातो ऊनसाथै मसिनो सुती कपडामा बजलेलसँगै काम गरे ।24 पवित्रस्थानसित सम्बन्धित सबै काममा यस परियोजनाको लागि प्रयोग भएका सबै सुन डोलाइने बलिबाट जम्मा भएका पवित्र वासस्थानको शेकेलको नापबमोजिम २९ तोडा र ७३० शेकेल थियो ।25 समुदायले दिएको चाँदी पवित्र वासस्थानको शेकेलअनुसार १०० तोडा र १,७७५ शेकेल थियो ।26 यो भनेको पवित्र वासस्थानको शेकेलअनुसार एक जना मान्छे बराबर एक बेका अर्थात् आधा शेकेल थियो । जनगणनामा गनिएका बीस वर्ष भन्दा माथिका मानिसहरूको जम्मा सङ्ख्या ६,०३,५५० थियो र यसैको आधारमा हरेक व्यक्तिको तथ्याङ्क निकालिएको थियो ।27 हरेक आधारको निम्ति एक तोडा ढालेर पवित्र वासस्थानका आधारहरू र पर्दाका आधारहरूका लागि एक सय चाँदी तोडा ढालिएको थियो ।28 बाँकी रहेको १,७७५ शेकेल चाँदीले बजलेले भाँडाकुँडाहरूका लागि अङ्कुसे बनाई तिनका टुप्पाहरूलाई मोहोरेर तिनका निम्ति फित्ताहरू बनाए ।29 डोलाइने बलिबाट आएको काँसा सत्तरी तोडा र २,४०० शेकेल थियो ।30 तिनले यसबाट भेट हुने पालको प्रवेशद्वारका आधारहरू, काँसाको वेदी, यसको लागि काँसाको झिँजा र वेदीका लागि आवश्यक सबै सामग्री,31 चोकका लागि आधारहरू, चोक प्रवेशको निम्ति आधारहरू, पवित्र वासस्थान र चोकका लागि सबै पालका किलाहरू बनाए ।