36
यसैले बजलेल, ओहोलीआब र परमप्रभुले पवित्रस्थान बनाउने काम गर्न ज्ञान र दक्षता दिनुभएको हरेक सिपालु व्यक्‍तिले उहाँको आज्ञामुताबिक काम गरून् ।2 मोशाले बजलेल, ओहोलीआब र हरेक सिपालु व्यक्ति जसको मनमा उहाँको काम गर्न परमप्रभुले सीप दिनुभएको थियो र जसको हृदयमा उहाँले प्रेरणा दिनुभएको थियो, ती सबैलाई बोलाए ।3 पवित्रस्थान निर्माणको लागि इस्राएलीहरूले ल्याएका सबै भेटी तिनीहरूले मोशाबाट प्राप्‍त गरे । मानिसहरूले अझै पनि राजीखुसीले हरेक बिहान भेटीहरू ल्याउँदै थिए ।4 त्‍यसैले पवित्रस्थानमा काम गरिरहेका सबै निपुण मानिस काम छाडेर आए ।5 शिल्पकारहरूले मोशालाई भने, “परमप्रभुले हामीलाई गर्न भनी आज्ञा गर्नुभएको कामको लागि मानिसहरूले चाहिए भन्‍दा पनि बढी ल्याउँदै छन् ।6 त्‍यसैले पवित्रस्थानको निर्माणको लागि कसैले पनि अरू भेटीहरू नल्याउनू भनी मोशाले छाउनीमा आज्ञा दिए । तब मानिहरूले यी भेटीहरू ल्याउन छाडे ।7 सबै कामको लागि तिनीहरूसित चाहिने भन्‍दा बढी सामग्रीहरू थिए ।8 त्‍यसैले तिनीहरूका बीचमा भएका सबै शिल्पकारले मसिनो सुती कपडा अनि नीलो, बैजनी, रातो ऊनबाट दश वटा पर्दा भएको करूबहरूको रचनासहित पवित्र वासस्थानको निर्माण गरे । यो ज्‍यादै निपुण शिल्पकार बजलेलको काम थियो ।9 हरेक पर्दाको लमाइ अठ्ठाइस हात र चौडाइ चार हातको थियो । सबै पर्दा उही आकारका थिए ।10 बजलेलले पाँच वटा पर्दा एक-अर्कामा गाँसे र बाँकी पाँच वटालाई पनि एक-अर्कामा गाँसे ।11 पहिले गाँसिएको पर्दाको पल्लो पर्दाको छेउमा तिनले नीलो सुर्काउनी बनाए, र दोस्रो गाँसिएको पर्दाको छेउमा पनि तिनले त्‍यसै गरे ।12 तिनले पहिलो पर्दामा पचास वटा सुर्काउनी बनाए, र अर्को गाँसिएको भागको पल्लो पर्दामा पनि पचास वटा सुर्काउनी बनाए । ती सुर्काउनीहरू एक-अर्काका आमनेसामने थिए ।13 तिनले पवित्र वासस्थान एउटै होस् भनेर सुनका पचास वटा अङ्‌कुसे बनाए, र तिनलाई पर्दाका दुई भाग एक-अर्कासित जोडे ।14 पवित्र वासस्थान ढाक्‍ने पालको निम्ति बजलेलले बाख्राका भुत्लाका पर्दाहरू बनाए । तिनले यस्ता खालका पर्दाहरू एघार वटा बनाए ।15 हरेक पर्दाको लमाइ तीस हात र चौडाइ चार हातको थियो । सबै एघारवटै पर्दाको आकार उही थियो ।16 तिनले पाँच वटा पर्दा एक-अर्कासित जोडे र बाँकी छ वटा पर्दा एक-अर्कासित जोडे ।17 तिनले पहिलो गाँसिएको भागको पल्लो पर्दाको छेउमा पचास वटा सुर्काउनी बनाए, र दोस्रो गाँसिएको भागको पल्लो पर्दाको छेउमा पनि पचास वटा सुर्काउनी बनाए ।18 पाललाई जोडेर एउटै बनाउन बजलेलले काँसाका पचास वटा अङ्‌कुसे बनाए ।19 तिनले पवित्र वासस्थानलाई ढाक्‍न रातो रङ्‌गले रङ्‌ग्याएका भेडाका छालाहरूको एउटा छत बनाए, र त्‍यसमाथि राख्‍न मसिनो छालाको अर्को छत बनाए ।20 बजलेलले पवित्र वासस्थानको निम्ति बबुल काठबाट ठाडा-ठाडा फल्याकहरू बनाए ।21 हरेक फल्याकको लमाइ दश हात र चौडाइ साँढे एक हातको थियो ।22 फल्याकहरूलाई एक-अर्कासित जोड्न हरेकमा दुई-दुई वटा काठका चोसा थिए । तिनले पवित्र वासस्थानका सबै फल्याकमा यसै गरे ।23 तिनले पवित्र वासस्थानको लागि यसरी नै सबै फल्याक बनाए । तिनले दक्षिणपट्टिको लागि बीस वटा फल्याक बनाए ।24 बजलेलले ती बीस वटा फल्याकको मुनिपट्टि राख्‍न चाँदीका चालीस वटा आधार बनाए । फल्याकहरूलाई सँगै जोड्न हरेक फल्याकको मुन्‍तिर दुई वटा आधार थिए, अरू सबै फल्याकको मुन्‍तिर पनि दुई-दुई वटा आधार थिए ।25 पवित्र वासस्थानको दोस्रोपट्टि अर्थात् उत्तरपट्टि तिनले बीस वटा फल्याक26 र तिनको लागि चाँदीका चालीस वटा आधार बनाए । पहिलो फल्याकको मुनिपट्टि दुई वटा आधार थिए, अनि अर्को फल्याकको मुनिपट्टि दुई वटा आधार थिए एवम् रितले सबै फल्याकमुनि दुई-दुई वटा आधार थिए ।27 पवित्र वासस्थानको पछाडि अर्थात् पश्‍चिमपट्टि बजलेलले छ वटा फल्याक बनाए ।28 पवित्र वासस्थानको पछाडिका कुनाहरूमा तिनले दुई वटा फल्याक बनाए ।29 ती दुई कुनाका फल्याकहरू तल छुट्टिएका थिए भने माथि दोब्बर खप्‍टिएका थिए । तिनले दुई वटा कुनाका लागि दुई वटा फल्याक यसरी नै बनाए ।30 चाँदीका आधारसहित जम्माजम्मी आठ वटा फल्याक थिए । जम्माजम्मी सोह्र वटा आधार थिए । एउटा फल्याकको मुनिपट्टि दुई वटा आधार, अर्को फल्याकको मुनिपट्टि दुई वटा आधार, एवम् रितले हरेक फल्याक मुनिपट्टि दुई-दुई वटा आधार थिए ।31 बजलेलले बबुल काठका बारहरू बनाए । तिनले पवित्र वासस्थानको एकापट्टिका फल्याकहरूका लागि पाँच वटा,32 र अर्कोपट्टिका फल्याकहरूका लागि पाँच वटा अनि पवित्र वासस्थानको पछाडिपट्टि अर्थात् पश्‍चिमपट्टिको लागि पाँच वटा बार बनाए ।33 तिनले फल्याकहरूका बीचमा हुने बारचाहिँ एक छेउबाट अर्को छेउसम्म पुग्‍ने गरी बनाए ।34 तिनले फल्याकहरूलाई सुनले मोहोरे । तिनले बारहरू पक्रनका निम्ति सुनका मुन्‍द्राहरू बनाए, र बारहरूलाई सुनले मोहोरे ।35 बजलेलले नीलो, बैजनी र रातो ऊन अनि मसिनो सुती कपडाबाट करूबहरूको रचनामा पर्दाहरू बनाए । यो निपुण शिल्पकारको काम थियो ।36 तिनले पर्दाहरूका लागि बबुल काठका चार वटा खम्बा बनाए, र तिनलाई सुनले मोहोरे । तिनले खम्बाहरूका लागि अङ्‌कुसेहरू पनि बनाए, र तिनका निम्ति चाँदीका चार वटा आधार बनाए ।37 तिनले पालको प्रवेशद्वारको लागि एउटा पर्दा बनाए । यो नीलो, बैजनी, रातो ऊन, मसिनो सुती कपडाबाट बनाइएको थियो । यो बुट्टा भर्नेको काम थियो ।38 तिनले पर्दाका पाँच वटा खम्बा तिनका अङ्‌कुसेहरूसमेत बनाए । तिनले तिनीहरूका टुप्‍पा र फित्ता सुनले मोहोर । तिनीहरूका पाँच वटा आधारचाहिँ काँसाका थिए ।