35
मोशाले इस्राएलका सारा समुदायलाई भेला गरी तिनीहरूलाई भने, “परमप्रभुले तिमीहरूलाई गर्नू भनी आज्ञा दिनुभएका कुराहरू यी नै हुन् ।2 छ दिनसम्म काम गर्न सकिन्‍छ, तर सातौँचाहिँ दिन तिमीहरूका लागि पवित्र दिन हो । यो परमप्रभुको निम्ति पूर्ण विश्राम गर्ने शबाथ-दिन हो । त्‍यस दिन जसले काम गर्छ, त्‍यो मारियोस् ।3 शबाथ-दिनमा तिमीहरूका घरमा आगो नबलोस् ।4 मोशाले इस्राएलीहरूका सारा समुदायलाई यसो भने, “परमप्रभुले आज्ञा दिनुभएको कुरा यही नै हो ।5 इच्‍छुक हृदय भएका सबैले परमप्रभुका निम्ति यी भेटीहरू ल्याऊन्ः सुन, चाँदी, काँसा,6 नीलो, बैजनी र रातो ऊन अनि मसिनो सुती कपडा, बाख्राको भुत्ला,7 रातो रङ्‌गाइएको भेडाको छाला र सीलको छाला, बबुल काठ,8 पवित्रस्थानका दियाहरूका लागि तेल, अभिषेक गर्ने तेलका लागि मसला र सुगन्धित धूप, एपोद र छाती-पाताको लागि9 आनिक्ससाथै अन्‍य बहुमूल्य रत्‍नहरू ।10 तिमीहरूका बीचमा भएका हरेक सिपालु व्यक्ति आएर परमप्रभुले आज्ञा दिनुभएका हरेक कुरा बनाओस्ः11 पवित्रस्थान र यसको पाल, यसको छत, यसका अङ्‌कुसेहरू, फल्याकहरू, बारहरू, खम्बाहरू12 र आधारहरू, सन्‍दूक र यसका डन्डाहरू, प्रायश्‍चितको ढकनी र यसलाई ढाक्‍ने पर्दा ।13 तिनीहरूले टेबिल र यसका डन्डाहरू, यसका सबै भाँडाकुँडाहरू र उपस्थितिको रोटी,14 बत्तीका निम्ति सामदान, यसका सामग्रीहरू, दियाहरू र दियाका लागि तेल,15 धूपको वेदी र यसका डन्डाहरू, अभिषेक गर्ने तेल र सुगन्धित धूप, पवित्र वासस्थानको प्रवेशद्वारको पर्दा,16 होमबलिको वेदी र यसका काँसाका जालीसाथै डन्डाहरू अनि भाँडाकुँडाहरू, आधार भएको ठूलो बाटा बनाऊन् ।17 तिनीहरूले चोकको लागि पर्दा र यसका डन्डासाथै आधारहरू अनि चोकको प्रवेशद्वारको लागि पर्दा,18 र पवित्र वासस्थान र चोकको लागि पालका किलाहरूसाथै तिनीहरूका डोरीहरू ल्याए ।19 तिनीहरूले पवित्रस्थानमा सेवा गर्ने राम्ररी बुनेका पोशाकहरू, हारून पूजाहारी र तिनका छोराहरूले पूजाहारी भएर सेवा गर्दा लगाउने पवित्र पोशाकहरू ल्याए ।20 तब इस्राएलका सबै कुल मोशाको उपस्थितिबाट बिदा भएर गए ।21 जस-जसका हृदय प्रेरणाले भरिए र आत्माद्वारा इच्‍छुक भए तिनीहरू आएर पवित्र वासस्थानको रचना, यसमा प्रयोग हुने सेवाका सबै सामग्री र पवित्र पोशाकहरूको लागि परमप्रभुको निम्ति भेटी ल्याए ।22 इच्‍छुक हृदय भएका पुरुष र स्‍त्रीहरू सबै जना आए । तिनीहरूले पीन, कुण्डल, औँठी र श्रृङ्‌गारका सरसामानहरूसाथै सबै किसिमका सुनका गरगहनाहरू ल्याए ।23 तिनीहरू सबैले परमप्रभुको लागि डोलाइने बलिको रूपमा सुनका भेटीहरू टक्र्याए । जो-जोसँग नीलो, बैजनी वा रातो ऊन, मसिनो सुती कपडा, बाख्राको भुत्ला, रातो रङ्‌ग्याइएको भेडाको छाला वा सीलका छालाहरू थिए, तिनीहरूले ती ल्याए ।24 चाँदी वा काँसाको भेटी ल्याउने हरेकले परमप्रभुको लागि भेटी ल्यायो र काममा प्रयोग हुन सक्‍ने कुनै किसिमको बबुल काठ भएकोले त्‍यसलाई ल्यायो ।25 हरेक सिपालु स्‍त्रीले आफ्ना हातले ऊन कातेर आफूले कातेको नीलो, बैजनी वा रातो ऊन वा मसिनो सुती कपडा ल्याई ।26 जो-जो स्‍त्रीका हृदय प्रेरणाले भरिए र जससित सीप थियो, तिनीहरूले बाख्राका भुत्ला काते ।27 एपोद र छाती-पातामा जड्नका लागि अगुवाहरूले आनिक्ससाथै अन्‍य बहुमूल्य रत्‍नहरू ल्याए ।28 तिनीहरूले मसला र बत्तीहरूका लागि तेल, अभिषेक गर्ने तेल अनि सुगन्धित धूप ल्याए ।29 इस्राएलीहरूले परमप्रभुको निम्ति स्वैच्‍छिक भेटी ल्याए । हरेक स्‍त्री र पुरुष जस-जसको हृदय इच्‍छुक थियो, तिनीहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएका सबै सरसामान ल्याए ।30 मोशाले इस्राएलीहरूलाई भने, “हेर, परमप्रभुले यहूदाको कुलबाट हूरका नाति, ऊरीका छोरा बजलेललाई डाक्‍नुभएको छ ।31 उहाँले सबै किसिमका कारीगरीको काम गर्नका लागि त्‍यसलाई बुद्धि, समझशक्ति, ज्ञान दिन उहाँका आत्माले भरिपूर्ण पार्नुभएको छ ।32 तिनले सुन, चाँदी, काँसाका कलापूर्ण रचनाहरू बनाउनेछन् ।33 सबै किसिमका कारीगरीका काम गर्न तिनले पत्थर काट्ने, जड्ने र काठ खोप्‍ने गर्छन् ।34 तिनले र दानको कुलका अहीसामाकका छोरा ओहोलीआबले अरूहरूलाई सिकाऊन् भनेर उहाँले यो तिनको हृदयमा राखिदिनुभएको छ ।35 तिनीहरूले सबै किसिमका शिल्पकारी, खोप्‍ने, चित्र बनाउने काम, नीलो, बैजनी, रातो ऊन र मसिनो सुती कपडा र जुलहाको काम गरून् भनेर उहाँले तिनीहरूलाई सीपले भरिपूर्ण पार्नुभएको छ । सबै किसिमका काममा तिनीहरू शिल्पकारी र कलापूर्ण रचनाकारहरू हुन् ।”