34
परमप्रभुले मोशालाई भन्नुभयो, “पहिलेका जस्तै ढुङ्गाका दुई वटा पाटी काटेर ले । तैँले फुटाएका पहिलेका पाटीहरूमा मैले लेखेका वचनहरू म यी शिला-पाटीहरूमा लेख्नेछु ।2 बिहानसम्म तयार हो, र सीनै पर्वतमा उक्लेर आइज र पर्वतको टाकुरमा मेरो सामु देखा पर् ।3 तँसँग अरू कोही नआओस् । पर्वतको कुनै पनि भागमा कोही पनि नदेखियोस् । पर्वतको सामु कुनै भेडा-बाख्रा वा गाईवस्तु नचरोस् ।4 त्यसैले मोशाले पहिले जस्तै ढुङ्गाका दुई वटा पाटी काटे, र तिनी बिहानै उठेर सीनै पर्वतमा उक्ले जस्तो परमप्रभुले तिनलाई आज्ञा गर्नुभएको थियो । मोशाले शिला-पाटीहरू आफ्ना हातमा लिएर गए ।5 परमप्रभु बादलमा ओर्लनुभयो, र त्यहाँ मोशासित खडा हुनुभयो अनि उहाँले “परमप्रभु” नाउँको घोषणा गर्नुभयो ।6 परमप्रभु तिनको सामु भएर जानुभयो र घोषणा गर्नुभयो, “परमप्रभु, परमप्रभु, परमेश्वर करुणामय र अनुग्रही, रिस गर्नमा ढिलो अनि करारको विश्वसनीयतामा प्रचुर र भरोसायोग्य हुनुहुन्छ ।7 उहाँले हजारौँ पुस्तासम्म आफ्नो करार राख्नुहुन्छ, अधर्म, अपराध र पापको क्षमा दिनुहुन्छ । तर उहाँले दोषीलाई कुनै किसिमले छाड्नुहुनेछैन । उहाँले पिता-पुर्खाहरूका दण्ड तिनीहरूका छोराछोरीहरू र नातिनातिनाहरू अनि तेस्रो र चौथो पुस्तासम्म दिनुहुन्छ ।8 मोशाले झट्टै भुइँतिर आफ्नो शिर झुकाएर आराधना गरे ।9 तब तिनले भने, “हे प्रभु, अब मैले तपाईंको दृष्टिमा निगाह पाएको छु भने हाम्रा बीचमा भएर जानुहोस् किनकि यो जाति हठी छ । हाम्रा पाप र अधर्म क्षमा गरिदिनुहोस् र हामीलाई तपाईंको उत्तराधिकारको रूपमा स्वीकार गर्नुहोस् ।10 परमप्रभुले भन्नुभयो, “हेर्, मैले करार बाँध्न लागेको छु । तेरा सबै मानिसका सामु म यस्ता आश्चर्यका कामहरू गर्नेछु जुन सारा पृथ्वीमा कुनै पनि जातिमा गरिएको छैन । तिमीहरूका बीचमा भएका सबै मानिसले मेरा कार्यहरू देख्नेछन् किनकि तँसित मैले गर्न खोजिरहेको कुरो डरलाग्दो छ ।11 आज मैले आज्ञा गरेको कुरा पालन गर् । तेरो सामु मैले एमोरी, कनानी, हित्ती, परिज्जी, हिव्वी र यबूसीहरूलाई धपाउन लाग्दै छु ।12 तँ गइरहेको देशका बासिन्दाहरूसित कुनै किसिमको करार नबाँध्न सावधान बस् नत्रता तिनीहरू तिमीहरूका बीचमा पासो बन्नेछन् ।13 बरु, तैँले तिनीहरूका वेदीहरू भत्काइदिनू, तिनीहरूका ढुङ्गाका खम्बाहरू टुक्राटुक्रा पारिदिनू र तिनीहरूका अशेरा देवीका मूर्तिहरूलाई काटेर ढालिदिनू ।14 किनकि तिमीहरूले म परमप्रभुबाहेक कुनै देवी-देवतालाई नपुज्नू । म डाह गर्ने परमेश्वर हुँ ।15 त्यसैले त्यस देशका बासिन्दाहरूसित करार नबाँध्न होशियार हो किनकि तिनीहरूका देवी-देवताहरूका लागि तिनीहरूले वेश्यावृत्ति गर्छन् र तिनीहरूले बलि गर्छन् । तब तिनीहरूमध्ये एउटाले तिमीहरूलाई निमन्त्रणा गर्नेछ अनि तिमीहरूले त्यसको बलिदान खानेछौ, अनि तिनीहरूका केही छोरीहरू आफ्ना छोराहरूका लागि ल्याउनेछौ16 अनि तिनीहरूका छोरीहरूले तिनीहरूका देवी-देवताहरूका निम्ति आफैलाई वेश्यावृत्तिमा लगाउनेछन् अनि तिनीहरूले तिमीहरूका छोराहरूलाई पनि तिनीहरूका देवी-देवताहरूका निम्ति वेश्यावृत्तिमा लैजानेछन् ।17 तिमीहरूले आफ्ना ढलौटे मूर्तिहरू नबनाउनू ।18 तिमीहरूले अखमिरी रोटीको चाड मान्नू । मैले तिमीहरूलाई आज्ञा दिएबमोजिम आबीब महिनाको तोकिएको समयमा सात दिनसम्म खमिर नहालेको रोटी खानू किनकि आबीब महिनामै तिमीहरू मिश्रबाट बाहिर आयौ ।19 सबै पहिला जन्मेकाहरू मेरा हुन् । तिमीहरूका गाईवस्तु, गोरु, भेडाका हरेक नर मेरा हुन् ।20 गधाको पहिलो जन्मेको बछेडोलाई थुमा दिएर छुटाउनू, तर त्यसलाई छुटाएनौ भने त्यसको घाँटी भाँचिदिनू । तिमीहरूका सबै जेठा छोराहरूलाई केही दिएर छुटाउनू । कोही पनि मेरो सामु रित्तो हात नआओस् ।21 तिमीहरूले छ दिनसम्म काम गर्न सक्छौ, तर सातौँ दिनमा चाहिँ विश्राम गर्नू । हलो जोत्ने र कटनी गर्ने समयमा पनि विश्राम गर्नू ।22 गहुँको फसलको पहिलो उब्जनीसँगै साताहरूको चाड मान्नू, र वर्षको अन्त्यमा अन्न भित्र्याउने चाड मान्नू ।23 वर्षको तीन पटक तिमीहरूका सबै पुरुष परमप्रभु इस्राएलका परमेश्वरको सामु देखा पर्नू ।24 किनकि म तिमीहरूका सामु जाति-जातिहरूलाई धपाउनेछु र तिमीहरूका सिमाना बढाइदिनेछु । तिमीहरू वर्षमा तीन पटक परमप्रभु तिमीहरूका परमेश्वरको सामु देखा पर्न जाँदा कसैले पनि आफ्नो अधिकारको रूपमा तिमीहरूको देश कब्जा गर्ने इच्छा गर्नेछैन ।25 खमिरसहित मेरो बलिदानको रगत नचढाउनू, न त निस्तार-चाडमा चढाइने बलिको कुनै भाग बिहानसम्म उब्रोस् ।26 तिमीहरूले आ-आफ्ना खेतहरूबाट सबै भन्दा असल अगौटे फलहरू मेरो घरमा ल्याउनू । बाख्राको पाठो त्यसको माउको दूधमा नपकाओ ।27 परमप्रभुले मोशालाई भन्नुभयो, “यी कुराहरू लेख् किनकि यी वचनअनुसार नै मैले तँ र इस्राएलसित करार बाँधेको छु ।28 मोशा परमप्रभुसित त्यहाँ चालीस दिन र चालीस रातसम्म बसे । तिनले न कुनै खाना खाए न पानी पिए । तिनले करारका वचनहरू अर्थात् दश आज्ञा शिला-पाटीहरूमा लेखे ।29 मोशा आफ्ना हातमा करारका आज्ञाहरू लिखित दुई वटा शिला-पाटी लिएर पर्वतबाट तल ओर्लंदा र तिनी परमेश्वरसित बोल्दा तिनको अनुहारको छाला चम्कँदै थियो भनी तिनलाई थाहै भएन ।30 जब हारून र इस्राएलीहरूले मोशालाई देखे तिनको अनुहार चम्कँदै थियो, र तिनीहरू तिनको नजिक आउन डराए ।31 तर मोशाले तिनीहरूलाई डाके, अनि हारूनसाथै समुदायका सबै अगुवा तिनीकहाँ आए । तब मोशा तिनीहरूसित बोले ।32 यसपछि इस्राएलका सबै मानिस मोशाकहाँ आए, अनि परमप्रभुले सीनै पर्वतमा तिनलाई बताउनुभएका सबै आज्ञा तिनले मानिसहरूलाई बताए ।33 तिनीहरूसित बोलिसकेपछि मोशाले आफ्नो अनुहारमा घुम्टो हाले ।34 मोशा परमप्रभुको सामु उहाँसित बोल्न जाँदा तिनी बाहिर नआउञ्जेलसम्म तिनले घुम्टो उघार्थे । तिनी बाहिर आउँदा तिनलाई बताउन आज्ञा गरिएको कुरा तिनले इस्राएलीहरूलाई बताउँथे ।35 इस्राएलीहरूले मोशाको अनुहार चम्किरहेको देख्दा तिनी परमप्रभुसित बोल्नलाई भित्र नगएसम्म तिनले फेरि आफ्नो अनुहारमा घुम्टो हाल्थे ।