29
“तिनीहरूले पूजाहारी भएर मेरो सेवा गरून् भनेर तिनीहरूलाई मेरो लागि अलग गर्न तैँले गर्नुपर्ने काम यही हो । एउटा बाछा र दुई वटा निष्खोट भेडा लिएर आइज ।2 अखमिरी रोटी र खमिर नहाली तेलमा मुछेको फुरौला अनि तेल दलेको खमिरबिनाको बाबर पनि लिएर आइज ।3 बाबरहरू मसिनो गहुँको पीठोको प्रयोग गरी बनाउनू । तिनीहरूलाई एउटा टोकरीमा हालेर साँढे र दुई वटा भेडासँगै ती ल्याउनू ।4 तैँले भेट हुने पालको प्रवेशद्वारमा हारून र त्‍यसका छोराहरूलाई उपस्थित गरा । हारून र त्‍यसका छोराहरूलाई पानीले नुहाइदिनू ।5 आफूसित पोशाकहरू लैजा र हारूनलाई लबेदा, एपोदको अलखा, एपोद, छाती-पाता अनि राम्ररी बुनेको एपोदको कमरपेटी लगाइदिनू ।6 त्‍यसको शिरमा फेटा लगाइदिनू, र फेटामाथि पवित्र मुकुट पहिराइदिनू ।7 त्‍यसपछि अभिषेक गर्ने तेल लिएर जा अनि त्‍यसको शिरमा खन्‍याइदिएर त्‍यसलाई अभिषेक गर् ।8 त्‍यसका छोराहरूलाई ल्याएर तिनीहरूलाई लबेदाहरू लगाइदिनू ।9 हारून र त्‍यसका छोराहरूलाई पटुका र फेटाहरू लगाइदिनू । पूजाहारी पद तिनीहरूका लागि सदाको विधि हो । यसरी तैँले हारून र त्‍यसका छोराहरूलाई मेरो सेवा गर्न अभिषेक गर्नू ।10 तिमीहरू सबैले भेट हुने पालको सामु बाछो ल्याउनू, अनि हारून र त्‍यसका छोराहरूले त्‍यसको टाउकोमाथि हात राख्‍नेछन् ।11 तैँले भेट हुने पालको प्रवेशद्वारमा परमप्रभुको सामु त्‍यस बाछोलाई मार्नू ।12 बाछोको थोरै रगत लिएर तेरो औँलाले वेदीका सीङहरूमा छर्की, अनि बाँकी रगत वेदीको आधारमा खन्‍याइदिनू ।13 आन्‍द्रा-भुँडी ढाक्‍ने सबै बोसो र कलेजो ढाक्‍ने मासु अनि दुई वटा मृगौलासाथै तिनमा भएका बोसोसमेत लिएर ती सबैलाई वेदीमा जलाइदिनू ।14 तर बाछोको मासु, यसको छाला र गोबरचाहिँ छाउनीबाहिर लगेर जलाइदिनू । यो पापबलि हो ।15 तैँले एउटा भेडा पनि लिनू अनि हारून र त्‍यसका छोराहरूले त्‍यसको टाउकोमाथि आ-आफ्ना हात राखून् ।16 भेडालाई मारेर त्‍यसको रगत वेदीका चारैतिर छर्कनू ।17 त्‍यस भेडालाई टुक्राटुक्रा पारेर त्‍यसका आन्‍द्राभुँडी र खुट्टाहरूलाई धुनू अनि ती आन्‍द्राभुँडी, त्‍यसका टुक्राहरू र टाउकोसमेत वेदीमा राखिदिनू ।18 त्‍यसपछि सिङ्‌गै भेडालाई जलाउनू । यो परमप्रभुलाई आगोद्वारा चढाइने मिठो बास्‍ना भएको होमबलि हो ।19 त्‍यसपछि तैँले अर्को भेडा लिनू, अनि हारून र त्‍यसका छोराहरूले त्‍यसको टाउकोमाथि आ-आफ्ना हात राखून् ।20 अनि तैँले भेडालाई मारेर त्‍यसको थोरै रगत लिई हारूनको दाहिने कान, त्‍यसका छोराहरूका दाहिने कानहरू, तिनीहरूका दाहिने हातका बुढी औँला र तिनीहरूका खुट्टाका बुढी औँलामा लगाइदिनू । त्‍यसपछि रगत वेदीको हरेक किनाराको वरिपरि छर्किदिनू ।21 तैँले वेदीमा भएको थोरै रगत र थोरै अभिषेक गर्ने तेल लिएर त्‍यसलाई हारून र त्‍यसका पोशाकहरू अनि त्‍यसका छोराहरू र तिनीहरूका पोशाकहरूमा छर्किदे । तब हारून र त्‍यसका पोशाकहरू, त्‍यसका छोराहरूसाथै त्‍यसका छोराहरूका पोशाकहरू मेरो लागि अलग गरिनेछन् ।22 तैँले भेडाको बोसो, बोसे पुच्‍छर, आन्‍द्रभुँडी ढाक्‍ने बोसो, कलेजोको मासु, दुई वटा मृगौला र तिनमा भएका बोसो अनि दाहिने साँप्रो लिनू किनकि यो भेडा मेरो लागि पूजाहारीको अर्पणको लागि हो ।23 परमप्रभुको सामु भएको खमिर नहालेको रोटीको टोकरीबाट एउटा रोटी, तेलमा पोलेको एउटा फुरौला र एउटा बाबर लिनू ।24 तैँले यी सबै हारूनका हात र त्‍यसका छोराहरूका हातमा राखिदिनू अनि परमप्रभुको सामु डोलाइने बलिको लागि मेरो सामु डोलाउनू ।25 त्‍यसपछि तिनीहरूका हातबाट खाना लिएर होमबलिसँगै वेदीमा तिनलाई जलाइदिनू । यसले मलाई मिठो बास्‍ना दिनेछ । यो मेरो लागि आगोद्वारा चढाइने बलि हो ।26 हारूनको अर्पणको भेडाको ह्याकुलो लिएर यसलाई परमप्रभुको सामु डोलाइने बलिको रूपमा डोलाउनू, र योचाहिँ तेरो भाग हुनेछ ।27 तैँले हारून र त्‍यसका छोराहरूका निम्ति दिइएको डोलाइने बलिको ह्याकुलो र साँप्रो मेरो लागि अलग गर् ।28 यो हारून र त्‍यसका छोराहरूका लागि अनन्‍तको विधि हुनेछ । इस्राएलका मानिसहरूले तिनीहरूका मेलबलिबाट परमप्रभुलाई दिनुपर्ने भाग यही हो ।29 हारूनपछि त्‍यसका पवित्र पोशाकहरू त्‍यसका छोराहरूका लागि सुरक्षित राख्‍नू । तिनीहरू तिनमा अभिषेक गरिएर तिनीहरूलाई मेरो निम्ति नियुक्त गर्नू ।30 हारूनपछि त्‍यसका छोराहरूमध्‍ये पूजाहारी हुनेचाहिँ पवित्रस्थानमा मेरो सेवा गर्न भेट हुने पालमा आउँदा त्‍यसले सात दिनसम्म ती पोशाकहरू लगाओस् ।31 मेरो निम्ति पूजाहारीहरूको नियुक्ति गर्दा तैँले भेडा लिई त्‍यसको मासुलाई पवित्रस्थानमा उमाल्नू ।32 हारून र त्‍यसका छोराहरूले भेट हुने पालको प्रवेशद्वारमा भेडाको मासु र टोकरीमा भएको रोटी खाऊन् ।33 मेरो निम्ति अलग गर्नका निम्ति तिनीहरूलाई प्रायश्‍चित गर्न र नियुक्त गर्न तिनीहरूलाई दिइएका मासु, रोटी तिनीहरूले खाऊन् । त्‍यो खाना कसैले नखाओस् किनकि त्‍यो मेरो निम्ति अर्पण गरिएको र मलाई छुट्ट्‌याइएको खाना हो ।34 अर्पण बलिको कुनै पनि खाना वा रोटी भोलिपल्ट बिहानसम्म रह्यो भने त्‍यसलाई जलाइदिनू । यो मेरो लागि अलग गरिएकोले यसलाई खानुहुँदैन ।35 यसरी मैले तँलाई आज्ञा गरेका सबै कुराबमोजिम हारून र त्‍यसका छोराहरूलाई गर्नू । तैँले सात दिन लगाएर तिनीहरूलाई तयार पार्नू ।36 हरेक दिन प्रायश्‍चितको लागि तैँले एउटा बाछो पापबलिको रूपमा चढाउनू । वेदीको लागि प्रायश्‍चित गरेर तैँले यसलाई शुद्ध पार्नू, र यसलाई मेरो लागि अलग गर्न यसलाई अभिषेक गर्नू ।37 सात दिन लगाएर वेदीको लागि प्रायश्‍चित गर्नू अनि त्‍यसलाई परमप्रभुको निम्ति अलग गर्नू । तब वेदी मेरो लागि पूर्ण रूपमा पवित्र हुनेछ । वेदीलाई छुने जुनसुकै कुरो परमप्रभुको लागि पवित्र हुनेछ ।38 तैँले हरेक दिन वेदीमा नियमित रूपमा एक-वर्षे दुई वटा थुमा चढाउनू ।39 एउटा थुमा बिहान चढाइनुपर्छ भने अर्को बेलुका ।40 पहिलो थुमासँगै एक लिटर पेलेको भद्राक्षको तेलमा मुछेको आधा पाथी मसिनो पीठो र अर्घबलिको रूपमा एक लिटर दाखमद्य चढाउनू ।41 तैँले दोस्रो थुमा बेलुकी चढाउनू । बिहान जस्‍तै अन्‍नबलि र अर्घबलि पनि चढाउनू । यी कुराहरूले मेरो लागि मिठो बास्‍ना ल्याउनेछन् । यो मेरो लागि आगोद्वारा चढाइने बलि हो ।42 मैले तिमीहरूसित बातचित गर्ने परमप्रभुको सामु भेट हुने पालको प्रवेशद्वारमा तिमीहरूका पुस्ता-पुस्तासम्म यी नियमित होमबलिहरू होऊन् ।43 म इस्राएलीहरूसित त्‍यहीँ नै भेट गर्नेछु । मेरो महिमाद्वारा पाल मेरो लागि अलग गरिनेछ ।44 म भेट हुने पाल र मेरो लागि मात्र प्रयोग हुने वेदीलाई पवित्र पार्नेछु । पूजाहारी भएर मेरो सेवा गर्नका निम्ति हारून र त्‍यसका छोराहरूलाई पनि म पवित्र पार्नेछु ।45 म इस्राएलीहरूका बीचमा बस्‍नेछु र तिनीहरूका परमेश्‍वर हुनेछु ।46 म तिनीहरूका बीचमा बस्‍न सकूँ भनेर तिनीहरूलाई मिश्र देशबाट बाहिर ल्याउने परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ भनी तिनीहरूले जान्‍नेछन् । म परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ ।”