28
“इस्राएलीहरूमध्ये तेरा दाजु हरून र तिनका छोराहरू नादाब, अबीहू, एलाजार र ईतामारले पूजाहारी भएर मेरो सेवा गर्नलाई तिनीहरूलाई तँकहाँ बोलाएर ले ।2 तैँले तेरा दाजु हारूनको निम्ति मेरो लागि अलग गरिएका पोशाकहरू लगाउनू । यी पोशाकहरू तिनको गौरव र शोभाको निम्ति हुनेछन् ।3 मैले बुद्धिको आत्माले भरिपूर्ण पारेका सबै बुद्धिमान् मानिसहरूलाई तैँले भन्नू कि तिनीहरूले हारूनका निम्ति पोशाकहरू बनाऊन् जसले तिनलाई मेरो पूजाहारी भएर सेवा गर्न अलग गरून् ।4 तिनीहरूले बनाउनुपर्ने पोशाकहरू छाती-पाता, एपोद, अलखा, बुनेको लबेदा, फेटा र पटुका हुन् । तिनीहरूले यी पोशाकहरू बनाऊन् जसले तेरा दाजु हारून र त्यसका छोराहरूलाई मेरो निम्ति अलग गरून् ताकि तिनीहरूले पूजाहारी भएर मेरो सेवा गर्न सकून् ।5 शिल्पकारहरूले सुती कपडा, सुन, नीलो, बैजनी र रातो धागो प्रयोग गरून् ।6 तिनीहरूले सुन, नीलो, बैजनी र रातो ऊन अनि मसिनो गरी बाटेको सुती कपडाबाट एपोद बनाऊन् । यो सिपालु शिल्पकारको काम होस् ।7 यो गाँस्नलाई त्यसको दुवै छेउमा गाँसेका दुई वटा काँधे-बन्धन होऊन् ।8 यसको निकै राम्रोसँग बुनिएको कमरपेटी एपोद जस्तै हुनुपर्छ । मसिनो गरी बाटेको सुती कपडा, सुन, नीलो, बैजनी र रातो धागोबाट एपोदकै टुक्राबाट यसलाई बनाइनुपर्छ ।9 दुई वटा आनिक्स पत्थरलाई लिएर तिनमा इस्राएलका बाह्र जना छोराका नाउँ खोप्नू ।10 छोराहरूको जन्मअनुसार एउटा पत्थरमा छ जनाका नाउँ र अर्को पत्थरमा छ जनाका नाउँ खोप्नू ।11 छापमा खोप्ने शिल्पकारले झैँ तैँले यो दुई वटा पत्थरमा इस्राएलका बाह्र जना छोराका नाउँ खोप्नू । ती पत्थर सुनका रत्न जडिने मणिघरमा जड्न लगाउनू ।12 परमप्रभुलाई इस्राएलका छोराहरूको सम्झना दिलाउन ती दुई वटा पत्थरलाई एपोदका काँधे-बन्धनमा लगाउनू । उहाँलाई सम्झना दिलाउन हारूनले परमप्रभुको सामु तिनीहरूका नाउँलाई बोकेर लैजानेछन् ।13 तैँले सुनका मणिघरहरू14 र डोरीजस्ता बाटेका निखुर सुनका दुई वटा सिक्री बनाउनू,र ती सिक्रीहरूलाई मणिघरहरूमा लगाउनू ।15 निर्णय गर्नलाई एउटा छाती-पाता बनाउनू । एपोदको बनावट जस्तै यो पनि सिपालु शिल्पकारको काम होस् । सुन, नीलो, बैजनी र रातो ऊन र सुतीको कपडाबाट यसलाई बनाउनू ।16 यो वर्गाकार र दोब्बर पट्ट्याइएको हुनुपर्छ । यसको लमाइ र चौडाइ एक-एक बित्ताको होस् ।17 तैँले यसमा बहुमूल्य पत्थरका चार वटा लहर गरी मणीहरू राख्नू । पहिलो लहरमा मानिक, पुष्पराज र बेरूज राख्नू ।18 दोस्रो लहरमा फिरोजा, नीर र पन्ना राख्नू ।19 तेस्रो लहरमा नीलमणि, हाकिक र कटेला राख्नू ।20 चौथो लहरमा पीतमणि, आनिक्स र बिल्लौर राख्नू । ती सुनका मणिघरहरूमा जडिऊन् ।21 ती मणिहरू इस्राएलका बाह्र छोराका नाउँअनुसार क्रमैसँग होऊन् । छाप-औँठीमा खोपे जस्तै हरेक नाउँले बाह्र कुलका हरेक कुलको प्रतिनिधित्व गरोस् ।22 छाती-पातामा डोरी जस्तो बाटेको निखुर सुनका सिक्रीहरू बनाउनू ।23 छाती-पाताको लागि सुनका दुई वटा मुन्द्री बनाउनू र तिनलाई छाती-पाताका दुईवटै किनारामा लगाउनू ।24 सुनका दुई वटा सिक्रीलाई छाती-पाताका किनाराहरूमा लगाउनू ।25 बाटेका दुई वटा सिक्रीका अर्का दुई वटा छेउलाई दुवै मणिघरमा जोड्नू । त्यसपछि ती दुई वटालाई एपोदको काँधे-बन्धनको अगाडिपट्टि लगाउनू ।26 सुनका दुई वटा मुन्द्री बनाउनू, र भित्रपट्टिको बिटको छेउमा तिनलाई छाती-पाताका अर्का दुई वटा कुनामा लगाउनू ।27 तैँले थप दुई वटा सुनका मुन्द्री बनाउनू, र तिनलाई एपोदको अगाटिपट्टि दुवै काँधे-बन्धनका मुनिबाट र एपोदको निकै राम्ररी बुनेको कमरपेटीमाथिको सिउनीनेर लगाउनू ।28 छाती-पाता त्यसका मुन्द्रीहरूद्वारा एपोदका मुन्द्रीहरूमा नीलो फित्ताले कमरपेटीमा बाँध्नू ताकि त्यो बुनिएको एपोददेखि सर्न नपाओस् ।29 हारून पवित्रस्थानमा जाँदा त्यसले परमप्रभुको सामु निरन्तर सम्झनाको निम्ति आफ्नो छातीमा निर्णय गर्न राखिने छाती-पातामा इस्राएलका मानिसहरूका नाउँ बोकोस् ।30 निर्णय गर्नलाई छाती-पातामा ऊरीम र तुम्मीम राख्नू ताकि हारून परमप्रभुको सामु जाँदा ती त्यसको छातीमा होस् । यसरी हारूनले इस्राएलका मानिसहरूका लागि निर्णय गर्ने माध्यमलाई परमप्रभुको सामु सधैँ आफूसितै बोकोस् ।31 तैँले एपोदको अलखा पूर्ण रूपमा नीलो कपडाको बनाउनू ।32 यसको बीचमा टाउको छिराउने प्वाल बनाउनू । नच्यातियोस् भन्नाका लागि कठालोको प्वाल जस्तै बुनेको बिट होस् । यो जुलाहाको काम होस् ।33 तलको फेरोको चारैतिर निलो, बैजनी र रातो धागोका दारिमहरू बनाउनू ।34 तिनको वरिपरि बीच-बीचमा सुनका घण्टीहरू बनाउनू । अलखाको फेरोको चारैतिर सुनका घण्टीहरू र दारिमहरू होऊन् ।35 हारूनले सेवा गर्दा त्यसले अलखा लगाओस् ताकि त्यो पवित्रस्थानमा परमप्रभुको सामु जाँदा र त्यहाँबाट आउँदा यसको आवाज सुनियोस् । त्यो नमरोस् भन्नाका लागि यसो गरिएको हो ।36 तैँले निखुर सुनको एउटा पाता बनाउनू, र यसमा छापमा खोपे जस्तै गरी “परमप्रभुको निम्ति पवित्र” भनी खोप्नू ।37 यस पातालाई नीलो फित्ताले फेटाको अगाडिपट्टि बाँध्नू ।38 यसलाई हारूनको निधारमा राख्नू । इस्राएलीहरूले परमप्रभुको निम्ति अलग गर्ने पवित्र उपहारका भेटीहरूको दोष हारूनले सधैँ बोकोस् । परमप्रभुले तिनीहरूका उपहारहरू ग्रहण गरून् भन्नाका लागि फेटा सधैँ त्यसको निधारमा होस् ।39 तैँले मसिनो सुती कपडाबाट लबेदा बनाउनू, र फेटा पनि सुती कपडाबाट नै बनाउनू । पटुकाचाहिँ बुट्टा हाल्नेद्वारा बनाइयोस् ।40 हारूनका छोराहरूका गौरव र शोभाका लागि लबेदा, पटुका र फेटाहरू बनाउनू ।41 तैँले तेरा दाजु हारून र त्यसका छोराहरूलाई यी पोशाकहरू पहिराइदिनू । पूजाहारी भएर मेरो सेवा गरून् भनेर तैँले तिनीहरूलाई अभिषेक गर्नू, नियुक्त गर्नू र मेरो निम्ति अलग गर्नू ।42 तिनीहरूका नग्नता ढाक्नलाई सुतीका भित्री पोशाकहरू बनाउनू जसले तिनीहरूको कम्मरदेखि जाँघसम्म ढाकून् ।43 हारून र त्यसका छोराहरू पवित्रस्थानमा सेवा गर्नका लागि वेदीमा जाँदा वा भेट हुने पालमा प्रवेश गर्दा तिनीहरूले यी पोशाकहरू लगाऊन् । तिनीहरू दोषी ठहरिएर नमरून् भन्नाका लागि तिनीहरूले यी लगाउनैपर्छ । हारून र त्यसपछि त्यसका सन्तानहरूका लागि यो स्थायी विधि हो ।”