27
“तैँले पाँच हात लामो र पाँच हात चौडा भएको बबुल काठको एउटा वेदी बनाउनू । वेदी वर्गाकार हुनुपर्छ र यसको उचाइ तीन हातको हुनुपर्छ ।2 त्यसका चारवटै कुनामा गोरुको सीङ जस्तो आकार बनाउनू । वेदी र त्यसका सीङहरू एउटै टुक्राबाट बनाउनू, र तिनलाई काँसाले मोहोर्नू ।3 वेदीको लागि तैँले यी सामग्रीहरू बनाउनूः खरानी उठाउने भाँडाहरू, बेल्चाहरू, बाटाहरू, मासु उठाउने काँटाहरू र आगो राख्ने पात्रहरू । यी सबै भाँडाकुँडा काँसाको बनाउनू ।4 वेदीको लागि काँसाको जालीको एउटा झिँजा बनाउनू । जालीमाथि5 चारै कुनामा काँसाका चार वटा मुन्द्रा लगाउनू । जाली वेदीको बीचसम्मै पुग्ने गरी यसलाई वेदीको मुनिपट्टिको बिटमुनि राख्नू ।6 वेदीको लागि बबुल काठका डन्डाहरू बनाउनू, र तिनलाई काँसाले मोहोर्नू ।7 डन्डाहरूलाई मुन्द्रामा हाल्नू र त्यसलाई उठाउँदा ती डन्डा वेदीका दुवैतिर होऊन् ।8 फल्याकबाट निर्मित वेदी खोक्रो बनाउनू । तँलाई पर्वतमा देखाइएबमोजिम तैँले यसलाई बनाउनू ।9 पवित्र वासस्थानको लागि चोक बनाउनू । चोकको दक्षिणपट्टि मसिनो गरी बाटेको सुती कपडाका पर्दाहरू राख्नू जसका लमाइ एक सय हात होऊन् ।10 तिनका खम्बाहरू बीस वटा र आधार पनि बीसवटै काँसाका होऊन् । खम्बामा अङ्कुसेहरू र चाँदीका फित्ताहरू होऊन् ।11 त्यसै गरी, उत्तरपट्टि एक सय हात लामो पर्दाहरू होऊन्, अनि तिनका खम्बाहरू बीस वटा र आधारहरू पनि बीस वटा काँसाका होऊन् अनि अङ्कुसेहरू चाँदीका फित्ताहरू पनि गाँसिऊन् ।12 चोकको पश्चिमपट्टि पचास हात लामो पर्दा राख्नू । दश वटा खम्बा र दश वटा आधार राख्नू ।13 चोकको पूर्वपट्टि पचास हात होस् ।14 प्रवेशद्वारको एकापट्टिको निम्ति पन्ध्र हातका पर्दाहरू होऊन् । तिनका तीन वटा खम्बा र तिनवटै आधार होऊन् ।15 अर्कोपट्टि पनि पन्ध्र हातका पर्दाहरू होऊन् । तिनका पनि तीन वटा खम्बा र तिनवटै आधार होऊन् ।16 चोकको द्वारमा राखिने पर्दा बीस हातको होस् । यो पर्दा नीलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सुती कपडाको होस् र यो बुट्टा हाल्नेको काम होस् । यसका चार वटा खम्बा र चार वटा आधार होऊन् ।17 चोकका सबै खम्बाका लागि चाँदीका फित्ता, चाँदीकै अङ्कुसे र काँसाका आधारहरू होऊन् ।18 चोकको लमाइ एक सय हात र चौडाइ पचास हातको होस् । यसका पर्दाहरूको उचाइ पाँच हातको होस् । ती पर्दाहरू मसिनो गरी बाटेको सुती कपडाका होऊन् र तिनका आधारहरूचाहिँ काँसाका होऊन् ।19 पवित्र वासस्थानमा प्रयोग गरिने सबै सामग्रीसाथै पाल र चोकका सबै किलाहरू काँसाबाट बनेका होऊन् ।20 तैँले इस्राएलका मानिसहरूलाई दियाको निम्ति पेलिएको भद्राक्षको शुद्ध तेल ल्याउन आज्ञा दे ताकि दियाहरू निरन्तर बलिरहून् ।21 भेट हुने पालमा गवाहीको सन्दूक राखिने पवित्र वासस्थानको पर्दाको अगाडिपट्टि हारून र तिनका छोराहरूले परमप्रभुको सामु साँझदेखि बिहानसम्म दियाहरू बालिरहून् । इस्राएलका मानिसहरूका पुस्तौँसम्म यो रहिरहिने विधि होस् ।”