26
“तैँले मसिनो सुती कपडा, निलो, बैजनी र रातो ऊन करूबहरूको रचनासहित दश वटा पर्दा भएको पवित्र वासस्थान बनाउनू । यो ज्‍यादै सिपालु शिल्पकारको काम हुनेछ ।2 हरेक पर्दाको लमाइ अठ्ठाइस हात र चौडाइ चार हातको होस् । सबै पर्दा उही आकारको हुनुपर्छ ।3 पाँच वटा पर्दालाई एक-अर्कासित गाँस्‍नू, र अन्‍य पाँच वटा पर्दालाई एक-अर्कासित गाँस्‍नू ।4 पहिलो गाँसिएको भागको बाहिरी छेउमा नीलो सुर्काउनी बनाउनू । त्‍यसै गरी, दोस्रो गाँसिएको भागको बाहिरी छेउमा पनि नीलो सुर्काउनी बनाउनू ।5 पहिलो पर्दामा पचास वटा सुर्काउनी बनाउनू, र दोस्रो गाँसिएको भागको पर्दामा पनि पचास वटा सुर्काउनी बनाउनू । ती सुर्काउनीहरू आमनेसामने हुने गरी बनाउनू ।6 सुनका पचास वटा अङ्‌कुसे बनाई पवित्र वासस्थान एउटै हुने गरी ती पर्दाहरूलाई अङ्‌कुसेहरूसित जोड्नू ।7 पवित्र वासस्थानमाथि राखिने पालको निम्ति बाख्राका भुत्लाका पर्दाहरू बनाउनू । एघार वटा यस्ता पर्दा बनाउनू ।8 हरेक पर्दाको लमाइ तीस हात र चौडाइ चार हातको होस् । एघारवटै पर्दाको नाप उही होस् ।9 पाँच वटा पर्दालाई एक-अर्कामा जोड्नू र बाँकी छ वटालाई एक-अर्कामा जोड्नू । छैटौँ पर्दालाई चाहिँ पालको अगाडिपट्टि दोब्बर गर्नू ।10 पहिलो गाँसिएको भागको एकापट्टिको छेउमा पचास वटा सुर्काउनी बनाउनू, र दोस्रो गाँसिएको भागको एकापट्टिको छेउमा पचास वटा सुर्काउनी बनाउनू ।11 पचास वटा काँसाका अङ्‌कुसे बनाई तिनलाई सुर्काउनीहरूमा लगाउनू । त्‍यसपछि एउटै बनाउन पाललाई सँगसँगै जोड्नू ।12 पालको बाँकी रहेको आधा भाग अर्थात् पालका पर्दाहरूबाट झुण्डिरहको आधा भागलाई पवित्र वासस्थानको पछिल्तिर झुण्ड्‌याउनू ।13 एकापट्टि एक हात लामो र अर्कोपट्टि एक हात लामो पर्दा हुनुपर्छ । पवित्र वासस्थानलाई ढाक्‍न त्‍यसको दुवैपट्टि पालका पर्दाहरूको बाँकी भाग झुण्डिरहून् ।14 रातो रङ्‌गले रङ्‌ग्याएका भेडाका छालाबाट पवित्र वासस्थानलाई ढाक्‍ने बनाउनू, र त्‍यसको माथि मसिनो छालाको ढकनी होस् ।15 पवित्र वासस्थानको लागि बबुल काठबाट ठाडा फल्याकहरू बनाउनू ।16 हरेक फल्याकको लमाइ दश हात र चौडाइ साँढे एक हातको होस् ।17 फल्याकहरूलाई एक-अर्कासित जोड्न हरेक फल्याकमा दुई वटा काठका चोसा होऊन् । पवित्र वासस्थानका सबै फल्याक यसरी नै बनाउनू ।18 पवित्र वासस्थानको लागि फल्याकहरू बनाउँदा दक्षिणपट्टिको लागि बीस वटा फल्याक बनाउनू ।19 ती बीस वटा फल्याकको मुन्‍तिर राख्‍न चाँदीका चालीस वटा आधार बनाउनू । पहिलो फल्याकको मुन्‍तिर दुई वटा आधार र अन्‍य फल्याकहरूको मुन्‍तिर पनि दुई-दुई वटा आधार बनाउनू ।20 पवित्र वासस्थानको दोस्रो भाग अर्थात् उत्तरपट्टिको लागि बीस वटा फल्याक21 र तिनका चालीस वटा आधार बनाउनू । पहिलो फल्याकको मुन्‍तिर दुई वटा आधार अनि दोस्रोको मुन्‍तिर दुई वटा आधार र बाँकीको निम्ति पनि यसरी नै बनाउनू ।22 पवित्र वासस्थानको पछाडिपट्टि अर्थात् पश्‍चिमपट्टि छ वटा फल्याक बनाउनू ।23 पवित्र वासस्थानको पछाडिका कुनाहरूमा दुई वटा फल्याक बनाउनू ।24 यी फल्याकहरू तल छुट्टिएका होऊन् तर माथि भने जोडिएका होऊन् । दुवै कुनाका लागि यही किसिमले बनाउनू ।25 चाँदीका आधारहरू भएका आठ वटा फल्याक बनाउनू । पहिलो फल्याकमुनि दुई वटा आधार, अर्को फल्याकमुनि दुई वटा आधार एवम् रितले जम्माजम्मी सोह्र वटा आधार होऊन् ।26 तैँले बबुल काठका बारहरू बनाउनू । पवित्र वासस्थानका एकापट्टिका फल्याकहरूका निम्ति पाँच वटा बार,27 पवित्र वासस्थानका अर्कोपट्टिका फल्याकहरूका निम्ति पाँच वटा बार र पवित्र वासस्थानको पश्‍चिमपट्टिका फल्याकहरूका निम्ति पाँच वटा बार बनाउनू ।28 फल्याकहरूका बीचमा भएको बारचाहिँ एक छेउदेखि अर्को छेउसम्म पुगोस् ।29 तैँले फल्याकहरूलाई सुनले मोहोर्नू । बारहरूलाई अल्झाउन सुनका मुन्‍द्राहरू बनाउनू, र बारहरूलाई पनि सुनले मोहोर्नू ।30 तँलाई पर्वतमा देखाइएको नमुनाबमोजिम पवित्र वासस्थान खडा गर्नू ।31 नीलो, बैजनी, रातो ऊन र मसिनो सुती कपडाबाट करूबहरूको रचनासमेत भएको एउटा पर्दा बनाउनू । यो सिपालु शिल्कारको काम होस् ।32 सुनले मोहोरिएको बबुल काठको चार वटा खम्बामा यस पर्दालाई झुण्ड्‌याउनू । यी खम्बाहरूमा सुनका अङ्‌कुसेहरू हुनुपर्छ जसमा चार वटा चाँदीका आधार राखिएका होऊन् ।33 पर्दालाई अङ्‌कुसेमुनि झुण्ड्‌याउनू, र गवाहीको सन्‍दूकलाई यसभित्र ल्याउनू । यो पर्दाले पवित्रस्थानलाई महा-पवित्रस्थानबाट अलग गर्नुपर्छ ।34 प्रायश्‍चितको ढकनीलाई गवाहीको सन्‍दूकमाथि राख्‍नू जसलाई महा-पवित्रस्थानमा राखिन्‍छ ।35 पर्दाबाहिर टेबिललाई उत्तरपट्टि राख्‍नू । पवित्र वासस्थानको दक्षिणपट्टि टेबिलको सामुन्‍ने सामदान राख्‍नू ।36 पालको प्रवेशद्वारमा एउटा पर्दा बनाउनू । यो नीलो, बैजनी, रातो सामग्री, मसिनो गरी बाटेको सुती कपडा र बुट्टा भर्नेको काम भएको होस् ।37 यस पर्दाको लागि बबुल काठको पाँच वटा खम्बा बनाई तिनलाई सुनले मोहोर्नू । तिनका अङ्‌कुसे सुनका होऊन् र तिनका लागि काँसाका पाँच वटा आधार होऊन् ।”