25
परमप्रभुले मोशालाई भन्‍नुभयो,2 “राजीखुसीबाट प्रेरित भई हरेक व्यक्तिले मेरो लागि भेटी ल्याओस् भनी इस्राएलीहरूलाई भन् । तैँले यी भेटीहरू मेरो लागि ग्रहण गर्नुपर्छ ।3 तैँले तिनीहरूबाट प्राप्‍त गर्नुपर्ने भेटीहरू यी नै हुन्ः सुन, चाँदी, र काँसा4 निलो, बैजनी र रातो ऊन, मलमलको कपडा, बाख्राको भुत्ला5 रातो रङले रङ्‌गाएका भेडाका छाला र सीलका छालाहरू, बबुल काठ,6 पवित्रस्थानका बत्तीहरूका निम्ति तेल, अभिषेक गर्नका लागि मसला र सुगन्धित धूप, एपोद र छाती-पातामा जड्नका लागि7 आनिक्स र अन्‍य बहुमूल्य रत्‍नहरू ।8 म तिनीहरूका बीचमा बस्‍न सकूँ भनेर तिनीहरूले मेरो निम्ति एउटा पवित्रस्थान बनाऊन् ।9 मैले तँलाई देखाउने नमुनामुताबिक तैँले पवित्र वासस्थान र यसका सबै सामानहरू बनाउनू ।10 तिनीहरूले बबुल काठको सन्‍दूक बनाऊन् । यसको लमाइ साँढे दुई हात, चौडाइ साँढे एक हात र उचाइ साँढे एक हातको होस् ।11 यसको निम्ति सुनका चार वटा मुन्‍द्रा झुण्ड्‌याउनू ।12 एकापट्टि दुई वटा र अर्कोपट्टि दुई वटा गरी तिनलाई सन्‍दूकको चार वटा खुट्टामा लगाउनू ।13 तैँले बबुल काठका डन्डाहरू बनाएर तिनलाई सुनले मोहोर्नू ।14 सन्‍दूकलाई बोक्‍नलाई त्‍यसको दुवैपट्टिका किनारामा भएका मुन्‍द्राहरूमा ती डन्डाहरू घुसाउनू ।15 डन्डाहरू सन्‍दूकका मुन्‍द्राहरूमा रहनुपर्छ । तिनलाई त्‍यसबाट झिकिनुहुँदैन ।16 तैँले सन्‍दूकभित्र मैले तँलाई दिने करारका विधिविधानहरू राख्‍नू ।17 तैँले निखुर सुनको एउटा प्रायश्‍चितको ढकनी बनाउनू । यसको लमाइ साँढे दुई हात र चौडाइ साँढे एक हातको होस् ।18 तैँले प्रायश्‍चितको ढकनीको दुई किनारामा राख्‍न पिटिएको सुनका दुई वटा करूब बनाउनू ।19 प्रायश्‍चितको ढकनीको एउटा किनारामा एउटा करूब र अर्को किनारामा अर्को करूब राख्‍नू । ती दुई वटा करूब र प्रायश्‍चितको ढकनी एउटै सुनको टुक्राबाट बनाइयोस् ।20 करूबहरूले आ-आफ्ना पखेटा मास्तिर फैलाऊन् र प्रायश्‍चितको ढकनीलाई छाया पारून् । करूबहरू एक-अर्काको आमनेसामने होऊन् र तिनीहरूले प्रायश्‍चितको ढकनीतर्फ हेरून् ।21 तैँले प्रायश्‍चितको ढकनीलाई सन्‍दूकको माथिपट्टि राख्‍नू, र मैले तँलाई दिने करारका विधिविधानहरू सन्‍दूकभित्र राख्‍नू ।22 यही सन्‍दूकमा म तँसित भेट्नेछु । प्रायश्‍चितको ढकनीमाथिबाट म तँसित बोल्नेछु । गवाहीको सन्‍दूकको माथि भएका दुई वटा करूबको बीचबाट मैले इस्राएलीहरूलाई दिने सबै आज्ञा तँलाई दिनेछु ।23 तैँले बबुल काठको एउटा टेबिल बनाउनू । यसको लमाइ दुई हात, चौडाइ एक हात र उचाइ साँढे एक हातको होस् ।24 तैँले यसलाई निखुर सुनले मोहर्नू र यसको चारैतिर सुनको बिट लगाउनू ।25 त्‍यसको चारैतिर चार अङ्‌गुल चौडा भएको घेरो बनाउनू र घेरोको वरिपरि सुनको बिट लगाउनू ।26 टेबिलको लागि सुनका चार वटा मुन्‍द्रा बनाउनू र ती मुन्‍द्राहरूलाई चार खुट्टा भएका चारवटै कुनामा लगाउनू ।27 टेबिललाई बोक्‍नलाई डन्डाहरूका लागि ठाउँ हुन ती मुन्‍द्राहरू घेरोको छेउमा होऊन् ।28 टेबिललाई तीसँगै बोक्‍न सकियोस् भनी बबुल काठबाट डन्डाहरू बनाउनू र29 तिनलाई सुनले मोहर्नू अर्घबलिहरू चढाउन प्रयोग हुने थाल, चम्चा, करुवा र कचौराहरू बनाउनू । तैँले ती सबै निखुर सुनको बनाउनू ।30 तैँले टेबिलमा मेरो सामु नियमित रूपमा उपस्थितिको रोटी राख्‍नू ।31 पिटेको निखुर सुनबाट एउटा सामदान बनाउनू । आधार र बिँडसहित यसलाई बनाउनू । यसका कचौराहरू, कोपिला र फुलहरू सबै नै एउटै टुक्राबाट बनाइनुपर्छ ।32 यसको एकापट्टिबाट तीन वटा हाँगा र अर्कोपट्टिबाट तीन वटा हाँगा गरी जम्मा छ वटा हाँगा बाहिरतिर निस्केका होऊन् ।33 पहिलो हाँगामा हाडेबदामका फुलजस्ता तीन वटा कचौरासाथै कोपिला र फुल होऊन् । त्‍यस्तै अर्को हाँगामा पनि हाडेबदामका फुलजस्ता तीन वटा कचौरासाथै कोपिला र फुल होऊन् । सामदानबाट बाहिर निस्कने सबै छ वटा हाँगामा उस्तै होऊन् ।34 सामदान र बीचको बिँडमा हाडेबदामका फुलजस्ता चार वटा कचौरा आ-आफ्नै कोपिला र फूलसमेत होऊन् ।35 एउटै टुक्राको रूपमा पहिलो जोडी हाँगामुनि एउटा कोपिला र एउटै टुक्राको रूपमा दोस्रो जोडी हाँगामुनि एउटा कोपिला होस् । त्‍यसै गरी, एउटै टुक्राको रूपमा तेस्रो जोडी हाँगामुनि एउटा कोपिला होस् । सामदानबाट बाहिर निस्केका सबै छवटै हाँगा उस्तै होस् ।36 तिनीहरूका कोपिला र हाँगाहरू सबै पिटेको निखुर सुनको एउटा टुक्राबाट बनेका होऊन् ।37 तैँले सामदान र यसका सात वटा बत्ती बनाउनू, र यसबाट उज्‍यालो दिन ती बत्तीहरू बालिराख्‍नू ।38 चिम्टा र तिनीहरूका मोसोदानीहरू निखुर सुनबाट बनाइनुपर्छ ।39 सामदान र यसका सबै पात्र बनाउन करिब चौँतीस किलोग्राम निखुर सुनको प्रयोग गर्नू ।40 तँलाई पर्वतमा देखाएको नमुनाबमोजिम ती बनाउन नभुल्नू ।”