24
तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “तँ, हारून, नादाब, अबीहू र इस्राएलका सत्तरी जना धर्म-गुरु मकहाँ उक्लेर आओ र केही दूरी राखेर मेरो आराधना गर ।2 मोशा मात्र मेरो नजिक आउन सक्छ । अरूहरू मेरो नजिक नआउनू न त मानिसहरू नै तिनीहरूसित आउनू ।3 मोशा गएर परमप्रभुका वचनहरू र विधिविधानहरू मानिसहरूलाई सुनाइदिए । सबै मानिसले एकै सोरमा भने, “परमप्रभुले भन्‍नुभएका सबै वचन हामी पालन गर्नेछौँ ।4 तब मोशाले परमप्रभुका सबै वचन लेखे । बिहान सबेरै उठेर मोशाले पर्वतको फेदीमा एउटा वेदी बनाए र इस्राएलका बाह्र कुलको प्रतिनिधित्व हुने गरी बाह्र वटा ढुङ्‌गाका वेदी बनाए ।5 तिनले परमप्रभुका निम्ति केही इस्राएली जवानहरूलाई गोरुको होमबलि र मेलबलि चढाउन पठाए ।6 मोशाले आधा रगत लिएर त्‍यसलाई कचौरामा हाले । तिनले बाँकी आधा रगत भने वेदीमा छर्के ।7 तिनले करारको पुस्तक लिएर मानिसहरूले सुन्‍ने गरी चर्को सोरमा पढे । तिनीहरूले भने, “परमप्रभुले भन्‍नुभएका सबै कुरा हामी पालन गर्नेछौँ । हामी आज्ञाकारी बन्‍नेछौँ ।8 तब मोशाले रगत लिएर त्‍यसलाई मानिसहरूमाथि छर्के । तिनले भने, “यी सबै वचनसहित तिमीहरूलाई यो प्रतिज्ञा दिएर यो परमप्रभुले तिमीहरूसित बाँध्‍नुभएको करारको रगत हो ।9 तब मोशा, हारून, नादाब, अबीहू र इस्राएलका सत्तरी जना धर्म-गुरु पर्वतमाथि उक्लेर गए ।10 तिनीहरूले इस्राएलका परमेश्‍वरलाई देखे । उहाँको पाउमुनि आकाश जस्‍तै सफा नीरबाट निर्मित बाटो थियो ।11 परमेश्‍वरले इस्राएली अगुवाहरूमाथि आफ्नो हात उठाउनुभएन । तिनीहरूले परमेश्‍वरलाई देखे अनि तिनीहरूले खाए र पिए ।12 परमप्रभुले मोशालाई भन्‍नुभयो, “माथि पर्तवमा मकहाँ उक्लेर आइज र यहाँ बस् । म तँलाई व्यवस्था र आज्ञाहरू लेखिएका शिला-पाटीहरू दिनेछु अनि तैँले तिनीहरूलाई सिका ।13 त्‍यसैले मोशा आफ्ना सहयोगी यहोशूसँगै परमेश्‍वरको पर्वतमा उक्लेर गए ।14 मोशाले धर्म-गुरुहरूलाई भनेका थिए, “यहीँ बस्‍नुहोस् र हामी तपाईंहरूकहाँ नआउञ्‍जेलसम्म पर्खेर बस्‍नुहोस् । हारून र हूर तपाईंहरूसितै छन् । कसैको केही वादविवाद भएमा तिनीहरूकहाँ जानू ।15 त्‍यसैले मोशा पर्वतमा उक्लेर गए, अनि बादलले पर्वतलाई ढाक्यो ।16 परमप्रभुको महिमा सीनै पर्वतमा आएर बस्यो, र बादलले छ दिनसम्म यसलाई ढाक्यो । सातौँ दिनमा उहाँले बादलभित्रबाट मोशालाई डाक्‍नुभयो ।17 इस्राएलीहरूको दृष्‍टिमा पर्वतको टुप्‍पोमा परमप्रभुको महिमाको प्रकटीकरण भस्म गर्ने आगोझैँ देखा पर्‍यो ।18 मोशा बादलभित्र प्रवेश गरी पर्वतमा उक्ले । तिनी चालीस दिन चालीस रातसम्म पर्वतमा रहे ।