23
“कसैको बारेमा झुटा गवाही नदेओ । बेइमानी गवाही दिने दुष्‍ट मानिससित नमिल ।2 खराबी गर्न भीडको पछि नलाग, न त न्‍यायलाई बङ्‌ग्याउन भीडको पक्ष लेओ ।3 गरिब मानिसको मुद्दामा उसको पक्षपात नगर ।4 आफ्नो शत्रुको गोरु वा गधा बिच्केर जाँदै गरेको देख्यौ भने त्‍यसलाई फर्काएर त्‍यसकहाँ ल्याइदेओ ।5 तिमीहरूलाई घृणा गर्ने कुनै व्यक्तिको गधा भारीले थिचिएर भुइँमा लडेको देख्यौ भने त्‍यसलाई त्‍यत्तिकै नछोड । गधासँगै मदत गर ।6 मुद्दा मामिलामा गरिबहरूको न्‍याय हरण नगर ।7 झुटा गवाही दिन अरूहरूसित नमिल, र निर्दोष वा धर्मीहरूलाई नमार किनकि म दुष्‍टहरूलाई कहिल्यै निर्दोष ठहराउनेछैनँ ।8 कहिल्यै घूस नलेओ किनकि घूसले देख्‍नेहरूलाई अन्धो तुल्याइदिन्‍छ र इमानदार मानिसहरूका वचनलाई बङ्‌ग्याइदिन्‍छ ।9 परदेशीलाई थिचोमिचो नगर किनकि तिमीहरू मिश्र देशमा परदेशी भएर बाँचेकाले परदेशीको जीवन कस्तो हुन्‍छ भनी तिमीहरू जान्‍दछौ ।10 छ वर्षसम्म तिमीहरूले आ-आफ्ना जमिनमा बीउ रोपी फसल जम्मा गर ।11 तर सातौँ वर्षमा चाहिँ हलो नजोती त्‍यसलाई बाँझै छाडिदेओ ताकि तिमीहरूका बीचमा भएका गरिब मानिसहरूले खान सकून् । तिनीहरूले छाडेका जङ्‌गली जनावरहरूले खानेछन् । तिमीहरूका दाखबारी र भद्राक्षबारीलाई पनि त्‍यसै गर ।12 छ दिनसम्म आफ्नो काम गर, तर सातौँ दिनमा चाहिँ विश्राम गर । तिमीहरूका गोरु र गधाले पनि विश्राम पाउन सकून् भनेर यसो गर अनि तिमीहरूका कमारीको छोरो र परदेशीले पनि ताजा महसुस गर्न सकून् भनेर यस गर ।13 मैले तिमीहरूलाई भनेका हरेक कुरामा ध्‍यान देओ । अरू देवी-देवताहरूको चर्चा नगर, न त तिमीहरूका मुखबाट तिनीहरूको नाउँ नै सुनियोस् ।14 मेरो निम्ति चाड मान्‍न हरेक वर्ष तीन पटक यात्रा गर ।15 तिमीहरूले अखमिरी रोटीको चाड मान्‍नू । मैले आज्ञा गरेझैँ तिमीहरूले सात दिनसम्म अखमिरी रोटी खानू । त्‍यस बेला तिमीहरू आबीब महिनामा मेरो सामु देखा पर्नू जुन यही उद्देश्यको लागि तयार पारिएको हो । तिमीहरू यही महिनामा मिश्रबाट बाहिर निस्केर आयौ । तर तिमीहरू खाली हात मेरो सामु देखा नपर्नू ।16 तिमीहरूले आफ्ना खेतहरूमा बीउ छर्दा तिमीहरूको परिश्रमको अगौटे फलको सम्झनामा कटनीको चाड मान्‍नू । खेतहरूबाट तिमीहरूले अन्‍न बटुल्दा वर्षको अन्‍त्‍यमा तिमीहरूले अन्‍न भित्र्याउने चाड मनाओ ।17 तिमीहरूका सबै पुरुष हरेक वर्ष तीन पटक परमप्रभुको सामु देखा पर्नू ।18 मलाई चढाउने बलिको रगत खमिर हालेको रोटीसितै नचढाओ । मेरा चाडहरूमा चढाइने बलिदानहरूको बोसो रातभरि रहेर बिहानसम्म रहनुहुँदैन ।19 तिमीहरूले मेरो घर अर्थात् परमप्रभु तिमीहरूका परमेश्‍वरको घरमा अगौटे फलहरूमध्‍ये सबै भन्‍दा असलचाहिँ ल्याउनू । बाख्राको पाठो त्‍यसको माउको दूधमा नपकाओ ।20 बाटोमा तिमीहरूको सुरक्षा दिन र मैले तिमीहरूका निम्ति तयार पारिराखेको ठाउँमा तिमीहरूलाई ल्याउन म तिमीहरूका अगिअगि एउटा दूत पठाउनेछु ।21 तिनको कुरा सुनी तिनको आज्ञा पालन गर । तिनलाई नचिढ्याओ किनकि तिनले तिमीहरूका अपराधहरू क्षमा दिनेछैनन् । तिनैमा मेरो नाउँ छ ।22 तिमीहरूले वास्तवमै तिनका आज्ञा मान्‍यौ र मैले भनेका हरेक कुरा गर्‍यौ भने म तिमीहरूका शत्रुहरूका शत्रु हुनेछु र तिमीहरूका वैरीहरूका वैरी हुनेछु ।23 मेरा दूत तिमीहरूका अगिअगि जानेछन् र तिनले तिमीहरूलाई एमोरी, हित्ती, परिज्‍जी, कनानी, हिव्वी र यबूसीहरूकहाँ ल्याउनेछन् । म तिनीहरूलाई नष्‍ट गर्नेछु ।24 तिमीहरू तिनीहरूका देवी-देवताहरूको सामु ननिहरनू, तिनीहरूको पूजा नगर्नू न त तिनीहरूले गरे जस्‍तै गर्नू । बरु तिमीहरूले तिनीहरूलाई बिलकुलै नाश गरिदिनू र तिनीहरूका ढुङ्‌गाका मूर्तिहरूलाई टुक्राटुक्रा पारिदिनू ।25 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको आराधना गर्नू, अनि उहाँले तिमीहरूका अन्‍न र पानीमा आशिष् दिनुहुनेछ । म तिमीहरूका बीचबाट रोग हटाइदिनेछु ।26 तिमीहरूको देशमा कुनै पनि स्‍त्री बाँझी हुनेछैन न त कसैको गर्भ तुहिनेछ ।27 म तिमीहरूलाई दीर्घायु दिनेछु । तिमीहरू अगाडि बढ्ने देशमा म मेरो डर अगिअगि पठाउनेछु । म तिमीहरूले भेट्ने सबै मानिसलाई मार्नेछु । म तिमीहरूका सबै शत्रुलाई तिमीहरूको डरको कारणले भगाउनेछु ।28 म तिमीहरूका अगिअगि अरिङ्‌गालहरू पठाउनेछु जसले हिव्वी, कनानी र हित्तीहरूलाई तिमीहरू भन्‍दा अगाडि नै धपाउनेछन् ।29 म तिनीहरूलाई एकै वर्षमा तिमीहरूको सामुन्‍नेबाट धपाउनेछैनँ, नत्रता देश उजाड हुनेछ र जङ्‌गली जनावरहरू तिमीहरूका निम्ति अत्‍यधिक हुनेछन् ।30 बरु, तिमीहरूको वृद्धि भई तिमीहरू देशमा नभरिएसम्म म तिनीहरूलाई तिमीहरूकै सामु अलिअलि गरेर धपाउनेछु ।31 नर्कटहरूको समुद्रदेखि पलिश्तिहरूको समुद्रसम्म र उजाड-स्थानदेखि यूफ्रेटिस नदीसम्म म तिमीहरूका सिमाना तोकिदिनेछु । त्‍यस देशका बासिन्‍दाहरूमाथि म तिमीहरूलाई विजय दिनेछु । तिमीहरूले तिमीहरूकै सामु तिनीहरूलाई धपाउनेछौ ।32 तिनीहरूसित वा तिनीहरूका देवी-देवताहरूसित करार नबाँध्‍नू ।33 तिनीहरू तिमीहरूको देशमा बस्‍नुहुँदैन नत्रता तिनीहरूले तिमीहरूलाई मेरो विरुद्धमा पाप गर्न लगाउनेछन् । तिमीहरूले तिनीहरूका देवी-देवताहरूलाई पूजा गर्‍यौ भने निश्‍चय नै यो तिमीहरूका लागि पासो हुनेछ ।”