22
“कुनै मानिसले गोरु वा भेडा चोरेर त्‍यसलाई मार्‍यो वा बेच्‍यो भने त्‍यसले एउटा गोरुको सट्टा पाँच वटा गोरु र एउटा भेडाको सट्टा चार वटा भेडा देओस् ।2 घर फोर्दै गर्दा चोरलाई भेट्टाइयो र त्‍यसलाई प्रहार गर्दा त्‍यो मर्‍यो भने त्‍यसलाई हिर्काउने हत्‍याको दोषी हुनेछैन ।3 तर त्‍यसले घर फोर्नुअगि घाम झुल्किसकेको रहेछ भने त्‍यसलाई मार्ने व्यक्‍तिलाई हत्‍याको दोष लाग्‍नेछ । चोरले नोक्सानी भरिदिनुपर्छ । त्‍योसँग केही छैन भने त्‍यसको चोरीको लागि त्‍यसलाई बेचिनुपर्छ ।4 चोरिएको पशु अर्थात् चाहे त्‍यो गोरु होस् वा गधा होस् वा भेडा होस्, त्‍योसँगै जिउँदै पाइयो भने त्‍यसले दुई गुणा फिर्ता दिनुपर्छ ।5 कुनै मानिसले खेत वा दाखबारीमा आफ्ना गाईवस्तु चराउँदा त्‍यसले बाँधेन र पशु अर्को मानिसको खेतमा चर्न पुग्यो भने त्‍यसले आफ्नो सबै भन्‍दा असल खेत वा दाखबारीबाट नोक्सानी तिर्नुपर्छ ।6 आगलागी भई काँडामा फैलन पुगी त्‍यसले अन्‍नको बिटा वा मकैको बिटा वा खेतलाई भस्म पार्‍यो भने आगो लगाउनेले क्षतिपूर्ति तिरिदिनुपर्छ ।7 कुनै मानिसले आफ्नो छिमेकीलाई सुरक्षाको खातिर रुपियाँ-पैसा वा सामान राख्‍न दिँदा त्‍यस मानिसको घरबाट त्‍यो चोरी भयो र चोर फेला पारियो भने चोरले दुई गुणा तिर्नुपर्छ ।8 तर चोरलाई फेला पारिएन भने घरको मालिकको छिमेकीको सम्पत्तिमाथि उसकै हात छ या छैन भनी जाँच गर्न त्‍यो न्‍यायकर्ताहरूको सामु आउनुपर्छ ।9 कुनै पनि विवादको बारेमा अथवा गोरु, गधा, भेडा, लुगाफाटा वा कुनै पनि हराएको वस्तुको विषयमा कसैले “यो मेरो हो” भन्‍यो भने दुवै पक्षका दाबीलाई न्‍यायकर्ताहरूको सामु ल्याइनुपर्छ । न्‍याकर्ताहरूले जसलाई दोषी पाउँछन् त्‍यसले आफ्नो छिमेकीलाई दुई गुणा तिरोस् ।10 कुनै मानिसले आफ्नो छिमेकीलाई गधा, गोरु, भेडा वा कुनै पशु राख्‍नलाई दिँदा त्‍यो मर्‍यो वा त्‍यसलाई चोट लाग्यो वा कसैले नदेखीकन त्‍यसलाई भगाइयो भने11 आफ्नो छिमेकीको सम्पत्तिमा आफ्नो हात छैन भनी दुवै जनाले परमप्रभुको सामु शपथ खानुपर्छ । सम्पत्तिको मालिकले यसलाई स्वीकार गर्नैपर्छ र अर्कोले क्षतिपूर्ति तिर्नुपर्दैन ।12 तर त्‍यसबाट यो चोरी भएको हो भने त्‍यसले यसको लागि मालिकलाई क्षतिपूर्ति तिर्नुपर्छ ।13 पशुलाई टुक्राटुक्रा पारिएको छ भने अर्को मानिसले साक्षीको रूपमा त्‍यो पशु ल्याओस् । टुक्राटुक्रा पारिएको कारण त्‍यसले क्षतिपूर्ति दिनुपर्दैन ।14 कुनै मानिसले आफ्नो छिमेकीबाट पशु पैँचो लिँदा मालिकको उपस्थितिविना त्‍यसलाई चोट लाग्यो वा त्‍यो मर्‍यो भने अर्को मानिसले क्षतिपूर्ति दिनैपर्छ ।15 तर मालिक पनि उपस्थित थियो भने अर्को मानिसले तिर्नुपर्दैन । पशुलाई भाडामा लिइएको थियो भने ज्‍यालाको लागि लाग्‍ने रकमले क्षतिपूर्ति तिरिनेछ ।16 कुनै पुरुषले मगनी नभएकी कन्‍या केटीलाई फकाएर त्‍यससित सुत्‍यो भने त्‍यसले दुलहीको रकम दिएर त्‍यसलाई आफ्नी पत्‍नी बनाउनुपर्छ ।17 केटीको बुबाले केटी त्‍यसलाई दिन पूर्ण रूपमा अस्वीकार गर्‍यो भने त्‍यसले कन्‍या केटीहरूको दुलहीको सम्पत्ति बराबरको रकम तिर्नुपर्छ ।18 तिमीहरूले टुनामुना गर्नेलाई जीवित नराख्‍नू ।19 पशुसित सुत्‍ने जोसुकै पनि मारिनैपर्छ ।20 परमप्रभुबाहेक अन्‍य कुनै देवी-देवतालाई बलिदान चढाउनेलाई पूर्ण रूपमा नष्‍ट गरिनुपर्छ ।21 तिमीहरूले परदेशीको बिगार गर्नु हुँदैन वा त्‍यसलाई थिचोमिचो गर्नु हुँदैन किनकि तिमीहरू पनि मिश्र देशमा परदेशीहरू थियौ ।22 विधवा वा अनाथलाई दुर्व्यवहार नगर्नू ।23 तिनीहरूलाई सतायौ र तिनीहरूले मेरो पुकारा गरे भने म निश्‍चय नै तिनीहरूको पुकारा सुन्‍नेछु ।24 मेरो क्रोध दन्कनेछ र म तिमीहरूलाई तरवारले मार्नेछु । तिमीहरूका पत्‍नीहरू विधवा बन्‍नेछन्, र तिमीहरूका छोराछोरीहरू अनाथ बन्‍नेछन् ।25 मेरा मानिसहरूका बीचमा भएका गरिबहरूलाई तिमीहरूले ऋण दियौ भने तिमीहरू उसको लागि साहुकारजस्ता नहोओ वा त्‍यसबाट ब्याज असुल नगर ।26 तिमीहरूले छिमेकीको खास्टो बन्धकी राख्यौ भने सूर्यास्तअगि नै तिमीहरूले त्‍यो फिर्ता गरिदिनुपर्छ ।27 किनकि त्‍यसको ओढ्ने त्‍यही मात्र हो । यो त्‍यसको शरीरको लागि त्‍यसको खास्टो हो । योबाहेक त्‍यो केमा सुत्‍न सक्छ र ? त्‍यसले मेरो पुकारा गर्दा म सुन्‍नेछु किनकि म दयालु छु ।28 परमेश्‍वरको विरुद्धमा ईश्‍वर-निन्‍दा नगर न त तिमीहरूका मानिसहरूको शासकलाई सराप ।29 तिमीहरूको कटनी वा दाखबारीबाट भेटी चढाउन विलम्ब नगर । तिमीहरूका छोराहरूका जेठोचाहिँ मलाई दिनुपर्छ ।30 त्‍यस्तै गरी तिमीहरूका गोरु र भेडाहरूलाई पनि यसै गर । सात दिनसम्म तिनीहरू आ-आफ्ना माउसित बस्‍न सक्छन् तर आठौँ दिनमा चाहिँ तिमीहरूले ती मलाई देओ ।31 तिमीहरू मेरा लागि अलग गरिएका जाति हौ । त्‍यसैले खेतमा पशुद्वारा फहराएको मासु तिमीहरूले नखानू । बरु, त्‍यो कुकुरहरूलाई फालिदिनू ।”