21
“अब तैँले तिनीहरूका सामु राख्‍ने आदेशहरू यी नै हुन्ः2 तिमीहरूले हिब्रू कमारा किन्‍यौ भने त्‍यसले छ वर्षसम्म सेवा गर्नुपर्छ, र सातौँ वर्षमा केही नतिरी त्‍यो मुक्त हुनेछ ।3 त्‍यो एक्लै आएको हो भने त्‍यो एक्लै जाओस् । त्‍यो विवाहित हो भने त्‍यो आफ्नी पत्‍नीसँगै जाओस् ।4 त्‍यसका मालिकले त्‍यसलाई पत्‍नी दिएका भए र त्‍यसले पतिको निम्ति छोराछोरीहरू जन्‍माएकी भए पत्‍नी र त्‍यसका छोराछोरीहरू मालिकको हुनेछन्, तर पतिचाहिँ मुक्त हुनेछ ।5 तर कमाराले सफासँग “म मेरा मालिक, मेरी पत्‍नी र मेरा छोराछोरीलाई प्रेम गर्छु; म मुक्त भएर जान्‍नँ” भन्‍यो भने6 त्‍यसका मालिकले त्‍यसलाई परमेश्‍वरको सामु ल्याउनुपर्छ । मालिकले त्‍यसलाई ढोका वा ढोकाको सङ्‌घारमा ल्याई त्‍यसको कान सुतारोले छेडिदिनुपर्छ । तब त्‍यस कमाराले जीवनभर मालिकको सेवा गर्नेछ ।7 कुनै मानिसले आफ्नी छोरीलाई कमारीको रूपमा बेच्‍यो भने कमाराहरू जस्‍तै त्‍यो मुक्त भएर जानुहुँदैन ।8 त्‍यसले आफ्ना मालिकलाई खुसी पारिन भने त्‍यसलाई मोल तिरेर छुटाइयोस् । त्‍यसलाई परदेशीकहाँ बेच्‍ने अधिकार मालिकलाई हुँदैन । मालिकले त्‍यसलाई छलपूर्वक व्यवहार गरेकोले त्‍यससित त्‍यस्तो अधिकार हुँदैन ।9 मालिकले त्‍यसलाई आफ्नो छोरोकी पत्‍नी हुन दियो भने त्‍यसलाई आफ्नी छोरीलाई जस्‍तै व्यवहार गरोस् ।10 त्‍यसले आफ्नो लागि अर्की पत्‍नी ल्यायो भने त्‍यसले खानेकुरा, लुगाफाटा वा त्‍यसका वैवाहिक अधिकारहरू पूरा गर्नबाट नचुकोस् ।11 तर त्‍यसले पत्‍नीलाई यी तीन वटा कुरा उपलब्ध गराएन भने दाम नतिरीकनै त्‍यो मुक्त भएर जान सक्छे ।12 कसैले कुनै मानिसलाई मर्ने गरी हिर्कायो भने त्‍यसलाई निश्‍चय नै मारिनैपर्छ ।13 त्‍यसले जानाजानी यसो नगरी भवितव्य पर्न गएको रहेछ भने म त्‍यो भागेर जान सक्‍ने ठाउँ तोकिदिनेछु ।14 कुनै मानिसले जानाजानी आफ्नो छिमेकीलाई आक्रमण गरी धूर्त योजनामुताबिक मार्‍यो भने त्‍यो परमेश्‍वरको वेदीमा भए तापनि त्‍यसलाई मार्नलाई लगियोस् ।15 आफ्नो बुबा वा आमालाई हिर्काउने जोसुकै पनि निश्‍चय नै मारिनैपर्छ ।16 जसले कुनै व्यक्तिलाई अपहरण गरी त्‍यसले उसलाई बेच्‍यो वा पक्रिँदा त्‍यसकै हातमा फेला पर्‍यो भने अपहरणकारीलाई मारिनैपर्छ ।17 आफ्नो बुबा वा आमालाई सराप्‍ने जोसुकै पनि निश्‍चय नै मारिनैपर्छ ।18 मानिसहरू एक-अर्कासित झगडा गर्दा एउटाले अर्कोलाई ढुङ्‌गाले वा मुक्‍काले हिर्कायो र त्‍यो व्यक्ति नमरी ओछ्यान पर्‍यो19 र त्‍यो फेरि उठेर आफ्नो लट्ठीको सहायताले यताउता हिँड्न सक्यो भने हिर्काउनेले त्‍यसको समयको हर्जाना तिर्नुपर्छ । त्‍यसले ऊ पूर्ण निको नभएसम्म सबै खर्च पनि दिनुपर्छ । तर त्‍यो मानिस हत्‍याको दोषी भने हुँदैन ।20 कुनै मानिसले आफ्नो कमारा वा कमारीलाई लट्ठीले हिर्काउँदा मुक्‍का लागेर मर्‍यो भने त्‍यस मानिसलाई निश्‍चय नै दण्ड दिइनुपर्छ ।21 तर त्‍यो एक-दुई दिनसम्म बाँच्‍यो भने मालिकलाई दण्ड दिइनुहुँदैन किनकि उसले नोकरको क्षति भोग्‍नेछ ।22 मानिसहरू सँगसँगै झगडा गर्दा गर्भवती महिलालाई हानि पुगी त्‍यसको बच्‍चा तुहियो तर त्‍यो आफैलाई कुनै चोट लागेन भने त्‍यस स्‍त्रीको पतिले मागेबमोजिम दोषी मानिसलाई हर्जाना तिराइनुपर्छ, र न्‍यायकर्ताहरूले तोकेबमोजिम त्‍यसले तिर्नुपर्छ ।23 तर गम्भीर चोट लागेको रहेछ भने त्‍यस मानिसलाई प्राणको सट्टा प्राण24 आँखाको सट्टा आँखा, दाँतको सट्टा दाँत, हातको सट्टा हात, खुट्टाको सट्टा खुट्टा25 डामको सट्टा डाम, चोटको सट्टा चोट र कुटाइको सट्टा कुटाइ मिलोस् ।26 कुनै मानिसले आफ्नो कमारा वा कमारीको आँखामा हिर्काएर त्‍यसलाई नष्‍ट गरिदियो भने उसले आँखाको साटो त्‍यसलाई स्वतन्‍त्र भएर जान दिओस् ।27 उसले आफ्नो कमारा वा कमारीको दाँत निकालिदियो भने उसले दाँतको साटो त्‍यसलाई स्वतन्‍त्र भएर जान दिओस् ।28 कुनै गोरुले पुरुष वा स्‍त्रीलाई सीङले हानेर मार्‍यो भने त्‍यसलाई ढुङ्‌गाले हानेर मारिनुपर्छ, र त्‍यसको मासु खाइनुहुँदैन ।29 तर गोरुको मालिकचाहिँ निर्दोष होस् । तर गोरुको विगतमा हान्‍ने बानी थियो र त्‍यसको मालिकलाई यसबारे चेताउनी दिँदा पनि उसले बाँधेर राखेको रहेनछ र गोरुले पुरुष वा महिलालाई मार्‍यो भने त्‍यसलाई ढुङ्‌गाले हानेर मारिनैपर्छ र त्‍यसको मालिकलाई पनि मारिनैपर्छ ।30 त्‍यसको जीवनको लागि कुनै मूल्य माग गरिएको छ भने मागेजति मालिकले दिनुपर्छ ।31 गोरुले कुनै मानिसको छोरो वा छोरीलाई हानेको छ भने त्‍यसको मालिकले नियमअनुसार तिर्नुपर्ने हुन्‍छ ।32 गोरुले कमारा वा कमारीलाई हान्‍यो भने त्‍यसको मालिकले चाँदीको तीस सिक्‍का देओस् र गोरुलाई चाहिँ ढुङ्‌गाले हानेर मारियोस् ।33 कुनै मानिसले खाडललाई उदाङ्‌गै राख्यो वा त्‍यसले खाडल खनेर त्‍यसलाई ढाकेन र त्‍यसभित्र गोरु वा गधा खस्यो भने34 खाडल खन्‍नेले हर्जाना तिर्नुपर्छ । त्‍यसले मृत पशुको मालिकलाई रुपियाँ तिर्नपर्छ र त्‍यो मरेको पशु त्‍यसको हुनेछ ।35 एउटा मान्‍छेको गोरुले अर्को मान्‍छेको गोरुलाई चोट पुर्‍याएर त्‍यो मर्‍यो भने त्‍यसले जिउँदो गोरुलाई बेची तिनीहरूले त्‍यसको मूल्य बाँडफाँड गर्नुपर्छ र तिनीहरूले मरेको गोरुलाई पनि बाँडफाँड गर्नुपर्छ ।36 तर त्‍यस गोरुको विगतमा पनि हान्‍ने बानी रहेछ र त्‍यसको मालिकले त्‍यसलाई बाँधेर राखेको रहेनछ भनी थाहा हुन आयो उसले गोरुको सट्टा गोरु तिर्नुपर्छ अनि मरेको पशु त्‍यसको मालिकको हुनेछ ।”