20
परमेश्वरले यी सबै वचन बोल्नुभयोः2 “म परमप्रभु तिमीहरूका परमेश्वर हुँ जसले तिमीहरूलाई मिश्र देश अर्थात् दासत्वको घरबाट निकालेर ल्याएँ ।3 मेरो अगि अरू कुनै देवी-देवता नमान्नू ।4 आफ्नो निम्ति खोपेर माथि स्वर्गमा वा तल पृथ्वीमा वा पानीमुनि भएको कुनै पनि थोकको प्रतिमूर्ति नबनाउनू ।5 तिनीहरूको अगि ननिहरनू वा तिनीहरूको पूजा नगर्नू किनकि म परमप्रभु तिमीहरूका परमेश्वर डाही परमेश्वर हुँ । म मलाई घृणा गर्ने पिता-पुर्खाहरूको दुष्टताको दण्ड तिनीहरूका सन्तानहरूको तेस्रो र चौथो पुस्तासम्म दिनेछु ।6 तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्ने हजारौँ पुस्तासम्म म मेरो करारको विश्वसनीयता देखाउनेछु ।7 परमप्रभु तिमीहरूका परमेश्वरको नाउँ व्यर्थमा नलिनू किनकि मेरो नाउँ व्यर्थमा लिने जोसुकैलाई पनि म निरपराध छोड्नेछैनँ ।8 मेरो लागि शबाथ अलग गर्नुपर्छ भनी याद राख्नू ।9 तिमीहरूले छ दिनसम्म परिश्रम गर्नुपर्छ र काम गर्नुपर्छ ।10 तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्वरको शबाथ हो । यस दिनमा तिमीहरूले, तिमीहरूका छोराछोरी वा तिमीहरूका कमारा-कमारी वा तिमीहरूका गाईवस्तु वा तिमीहरूको द्वारभित्र भएका परदेशीले कुनै काम नगरोस् ।11 किनकि छ दिनमा परमप्रभुले स्वर्ग र पृथ्वी, समुद्र र तिनमा भएका सबै थोक बनाउनुभयो अनि सातौँ दिनमा चाहिँ उहाँले विश्राम लिनुभयो । त्यसकारण परमप्रभुले शबाथ-दिनलाई आशिष् दिनुभयो र यसलाई पवित्र तुल्याउनुभयो ।12 आफ्ना बुबा र आमालाई आदर गर्नू ताकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिन लाग्नुभएको देशमा तिमीहरूको आयु लामो होस् ।13 कसैको हत्या नगर्नू ।14 कसैसित व्यभिचार नगर्नू ।15 कसैबाट केही नचोर्नू ।16 आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनू ।17 आफ्नो छिमेकीको घरको लालच नगर्नू; आफ्नो छिमेकीकी पत्नीको लालच नगर्नू; आफ्नो छिमेकीको कमारा, कमारी, गोरु, गधा वा कुनै पनि थोकको लालच नगर्नू ।18 सबै मानिसले गर्जनको आवाज सुने र बिजुली चम्केको देखे अनि तुरहीको आवाज सुने र पर्वतबाट धूँवा उठिरहेको देखे । मानिसहरूले यो देख्दा तिनीहरू थरथर काँपे र टाढै बसे ।19 तिनीहरूले मोशालाई भने, “हामीसित कुरा गर्नुहोस् र हामी तपाईंको कुरा सुन्नेछौँ । तर परमेश्वर हामीसित नबोल्नुभएको होस् नत्रता हामी मर्नेछौँ ।20 मोशाले मानिसहरूलाई भने, “नडराओ किनकि तिमीहरूमा उहाँको डर होस् र तिमीहरूले पाप नगरून् भनी तिमीहरूलाई जाँच गर्न परमेश्वर ओर्लनुभएको छ ।21 त्यसैले मानिसहरू टाढै खडा रहे, अनि मोशा परमेश्वर हुनुभएको बाक्लो बादलको नजिक गए ।22 परमप्रभुले मोशालाई भन्नुभयो, “तैँले इस्राएलीहरूलाई यसो भन्नूः ‘मैले स्वर्गबाट तिमीहरूसित कुराकानी गरेको तिमीहरू आफैले देखेका छौ ।23 तिमीहरूले मबाहेक सुन वा चाँदीको कुनै पनि देवी-देवता नबनाउनू ।24 मेरो निम्ति माटोको वेदी बनाउनू, र त्यहाँ तिमीहरूले होमबलि, मेलबलि, भेडा र गोरुहरू बलिदान गर्नू । मेरो नाउँको आदर गरिने हरेक ठाउँमा म तिमीहरूकहाँ आएर तिमीहरूलाई आशिष् दिनेछु ।25 तिमीहरूले मेरो निम्ति ढुङ्गाको वेदी बनायौ भने तिमीहरूले कुँदेको ढुङ्गाबाट नबनाउनू किनकि तिमीहरूले त्यसमा सामग्रीहरूको प्रयोग गर्दा तिमीहरूले यसलाई अशुद्ध तुल्याउनेछौ ।26 तिमीहरूको नग्नता नदेखियोस् भनेर खुट्किलाहरू बनाएर मेरो वेदीमा नउक्लनू’ ।”