16
मानिसहरूले एलीमबाट यात्रा थाले र मिश्र देशबाट प्रस्थान गरेको दोस्रो महिनाको पन्ध्रौँ दिनमा इस्राएलीहरूका सारा समुदाय एलीम र सीनै पर्वतको बीचमा पर्ने सीनको उजाड-स्थानमा आइपुगे ।2 उजाड-स्थानमा इस्राएलीहरूका सारा समुदायले मोशा र हारूनको विरुद्धमा गनगन गरे ।3 इस्राएलीहरूले तिनीहरूलाई भने, “हामी मासुको भाँडानेर बसेर अघाउञ्‍जेल रोटी खाइरहँदा मिश्र देशमा नै परमप्रभुको हातद्वारा मरेको भए हुनेथियो । किनकि तपाईंहरूले हाम्रो पूरै समुदायलाई भोकले मार्न हामीलाई उजाड-स्थानमा ल्याउनुभएको छ ।4 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “म तिमीहरूका निम्ति स्वर्गबाट रोटी बर्साउनेछु । तिनीहरू मेरो विधि मान्‍छन् वा मान्‍दैनन् भनी जाँच गर्न हरेक दिन एक दिनको भाग जम्मा गर्न मानिसहरू बाहिर जानेछन् ।5 छैटौँ दिनमा तिनीहरूले पहिले हरेक दिनमा बटुल्ने भन्‍दा दुई गुणा बटुल्नेछन्, र तिनीहरूले त्‍यसलाई भित्र ल्याएर पकाउनेछन् ।6 तब मोशा र हारूनले इस्राएलका सबै मानिसलाई भने, “मिश्र देशबाट तिमीहरूलाई निकालेर ल्याउनुहुने परमप्रभु नै हुनुहुन्‍छ भनी साँझमा तिमीहरूले थाहा पाउनेछौ ।7 बिहान तिमीहरूले परमप्रभुको महिमा देख्‍नेछौ किनकि तिमीहरूले उहाँको विरुद्धमा गरेको गनगन उहाँले सुन्‍नुभएको छ । हाम्रो विरुद्धमा गनगन गर्ने तिमीहरूका लागि हामी को हौँ र ?8 मोशाले यसो पनि भने, “तिमीहरूले उहाँको विरुद्धमा गरेको गनगन उहाँले सुन्‍नुभएकोले उहाँले तिमीहरूलाई साँझमा मासु र बिहान रोटी अघाउञ्‍जेल दिनुहुँदा तिमीहरूले यो जान्‍नेछौ । हारून र म को हौँ र ? तिमीहरूको गनगन हाम्रा विरुद्धमा नभई परमप्रभुको विरुद्धमा हो ।9 मोशाले हारूनलाई भने, “इस्राएलका सारा समुदायलाई भन्‍नुहोस्, ‘परमप्रभुको नजिक आओ किनकि उहाँले तिमीहरूको गनगन सुन्‍नुभएको छ’ ।10 हारून इस्राएलको सारा समुदायसित बोल्दा तिनीहरूले उजाड-स्थानतिर हेरे र परमप्रभुको महिमा बादलमा देखियो ।11 तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो,12 “मैले इस्राएलका मानिसहरूको गनगन सुनेको छु । तिनीहरूलाई भन्, ‘साँझमा तिमीहरूले मासु खानेछौ, र बिहानचाहिँ तिमीहरूले अघाउञ्‍जेल रोटी खानेछौ । तब म नै तिमीहरूका परमप्रभु परमेश्‍वर हुँ भनी तिमीहरूले जान्‍नेछौ’ ।13 साँझमा बट्टाई चराहरू आएर तिनीहरूको छाउनी नै ढाकिदिए । बिहान छाउनीको वरिपरि शीत परेको थियो ।14 शीत सुकेपछि जमिनमा देखा परेको तुसारोझैँ स-साना डल्लाहरू उजाड-स्थानको सतहमा थिए ।15 इस्राएलका मानिसहरूले यसलाई देखेपछि तिनीहरूले एक-अर्कालाई भने, “यो के हो ?” त्‍यो के थियो भनी तिनीहरूलाई थाहा थिएन । मोशाले तिनीहरूलाई भने, “यो परमप्रभुले तिमीहरूलाई खानलाई दिनुभएको रोटी हो ।16 परमप्रभुले दिनुभएको आज्ञा यस्तो छः ‘तिमीहरू हरेकले आफूलाई चाहिने बटुल अर्थात् तिमीहरूका मानिसहरूको सङ्ख्याअनुसार हरेकलाई एक-एक ओमेर बटुल । तिमीहरूको पालमा बस्‍ने हरेक व्यक्तिलाई पर्याप्‍त हुने गरी बटुल’ ।17 इस्राएलका मानिसहरूले त्‍यसै गरे । कसैले धेरै बटुले भने कसैले थोरै ।18 तिनीहरूले ओमेरले नाप्दा धेरै बटुल्नेहरूको बढ्ता भएन र कम बटुल्नेहरूलाई पनि अपुग भएन । हरेक व्यक्तिले आफ्नो आवश्यकताअनुसार बटुल्यो ।19 तब मोशाले तिनीहरूलाई भने, “बिहानसम्म तिमीहरू कसैले पनि यसबाट नउबार ।20 तर तिनीहरूले मोशाको कुरा मानेनन् । कसैले बिहानसम्म अलिकति उबारे, तर त्‍यसमा किरा लागेर त्‍यो गन्हायो । त्‍यसपछि मोशा तिनीहरूसित रिसाए ।21 तिनीहरूले बिहानैपिच्‍छे बटुल्थे । हरेकले त्‍यस दिनलाई पुग्‍ने बटुल्थ्यो । घाम चर्केपछि त्‍यो पग्लन्‍थ्यो ।22 छैटौँ दिनमा तिनीहरूले दुई गुणा रोटी बटुले अर्थात् हरेकको लागि दुई ओमेर बटुले । समुदायका सारा धर्म-गुरुहरू आएर मोशालाई यो कुरा बताए ।23 तिनले तिनीहरूलाई भने, “परमप्रभुले यसो भन्‍नुभएको छः ‘भोलि विश्रामको दिन हो अर्थात् परमप्रभुको दृष्‍टिमा पवित्र शबाथ हो । तिमीहरू जे पकाउन चाहन्‍छौ, सो पकाओ र जे उमाल्न चाहन्‍छौ, सो उमाल । उब्रेको जति सबै बिहानसम्म आफ्नो लागि राख्‍नू’ ।24 त्‍यसैले तिनीहरूले मोशाले निर्देशन दिए जस्‍तै यसलाई बिहानसम्म राखे ।25 मोशाले भने, “त्‍यो खाना आज खाओ किनकि आजको दिन परमप्रभुको निम्ति अलग गरिएको शबाथ हो । आज तिमीहरूले यो खाना जमिनमा पाउनेछैनौ ।26 छ दिनसम्म तिमीहरूले यो बटुल्नेछौ, तर सातौँ दिनचाहिँ शबाथ हो ।27 सातौँ दिनमा त्‍यहाँ मन्‍न हुनेछैन ।” सातौँ दिनमा पनि केही मानिसहरू मन्‍न बटुल्न गए, तर तिनीहरूले केही पाएनन् ।28 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “कहिलेसम्म तिमीहरू मेरा आज्ञा र विधिहरू मान्‍नलाई इन्कार गर्छौ ?29 परमप्रभुले तिमीहरूलाई शबाथ दिनुभएको छ । त्‍यसैले छैटौँ दिनमा उहाँले तिमीहरूलाई दुई दिनको लागि रोटी दिँदै हुनुहुन्‍छ । हरेक आ-आफ्नै ठाउँमा बस्‍नू । सातौँ दिनमा कोही पनि आफ्नो ठाउँबाट बाहिर नजानू ।30 त्‍यसैले मानिसहरूले सातौँ दिनमा विश्राम गरे ।31 इस्राएलका मानिसहरूले त्‍यस खानालाई “मन्‍न” भने । यो धनियाँको गेडा जस्‍तो सेतो थियो र यसको स्वाद महमा बनाइएको बाबर जस्‍तो थियो ।32 मोशाले भने, “परमप्रभुले दिनुभएको आज्ञा यही होः ‘एक ओमेर मन्‍न तिमीहरूको पुस्तौँसम्मको लागि राख ताकि तिमीहरूका सन्‍तानहरूले मैले तिमीहरूलाई मिश्र देशबाट निकालेर ल्याएपछि उजाड-स्थानमा खुवाएको यो रोटी देख्‍न सकून्’ ।33 मोशाले हारूनलाई भने, “एउटा भाँडोभित्र एक ओमेर मन्‍न हाल्नुहोस् । पुस्तौँसम्म यसलाई परमप्रभुको सामु सुरक्षित राख्‍नुहोस् ।34 परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ हारूनले यसलाई करारको सन्‍दूकको छेउमा राखे ।35 इस्राएलीहरू मानिसहरू बसोबास गरेको भूमिमा नआउञ्‍जेलसम्म तिनीहरूले चालीस वर्षसम्म मन्‍न खाइरहे । तिनीहरू कनान देशका सिमानाहरूमा नआउञ्‍जेलम्म यो खाइरहे ।36 एक ओमेर आधा पाथी हुन्‍छ ।