15
तब मोशा र इस्राएलका मानिसहरूले परमप्रभुको निम्ति यो गीत गाए । तिनीहरूले भने, “म परमप्रभुको निम्ति गाउनेछु किनकि उहाँले महिमामा विजय हासिल गर्नुभएको छ । घोडा र यसको सवारलाई उहाँले समुद्रमा फालिदिनुभएको छ ।2 परमप्रभु मेरो शक्ति र गीत हुनुहुन्‍छ, र उहाँ मेरा उद्धार हुनुभएको छ । उहाँ मेरा परमेश्‍वर हुनुहुन्‍छ, र म उहाँको प्रशंसा गर्नेछु । उहाँ मेरा पिता-पुर्खाका परमेश्‍वर हुनुहुन्‍छ र म उहाँलाई उचाल्छु ।3 परमप्रभु मेरा योद्धा हुनुहुन्‍छ, उहाँको नाउँ परमप्रभु हो ।4 उहाँले फारोका रथहरू र सेनालाई समुद्रमा फालिदिनुभएको छ । फारोका छानिएका अधिकृतहरू लाल समुद्रमा डुबे ।5 गहिराइले तिनीहरूलाई छोप्यो । तिनीहरू पत्थर जस्‍तै गहिराइमा डुबे ।6 हे परमप्रभु, तपाईंको दाहिने बाहुली शक्तिमा महिमित छ । हे परमप्रभु, तपाईंको दाहिने बाहुलीले शत्रुलाई चकनाचुर पारिदिएको छ ।7 महान् गौरवमा तपाईंले तपाईंको विरुद्धमा उठ्नेहरूलाई तल झारिदिनुभयो । तपाईंले आफ्नो क्रोध पठाउनुभयो । यसले तिनीहरूलाई ठोसालाई झैँ भस्म पार्‍यो ।8 तपाईंको नाकको सासले पानीको थुप्रो लाग्यो । बगिरहेको पानी स्थिर भई उभियो । गहिरो पानी समुद्रको मुटुमा जम्यो ।9 शत्रुले भन्‍यो, ‘म पिछा गर्नेछु; म जित्‍नेछु; म लुटका मालहरू बाँड्नेछु । मेरो इच्‍छा तिनमा तृप्‍त हुनेछ । म मेरो तरवार थुत्‍नेछु । मेरा हातले तिनीहरूलाई नष्‍ट पार्नेछन् ।’10 तर तपाईंले आफ्नो बतास चलाइदिनुभयो, र समुद्रले तिनलाई ढाक्यो । तिनीहरू उर्लंदो भेलमा सिसा जस्‍तै डुबे ।11 हे परमप्रभु, देवहरूका बीचमा तपाईं जस्‍तो को छ र ? पवित्रतामा तपाईं वैभवशाली, प्रशंसामा आदरणीय, आश्‍चर्यकर्म गर्नुहुने तपाईं जस्‍तै को छ र ?12 तपाईंले आफ्नो दाहिले बाहुली पसार्नुभयो, र पृथ्वीले तिनीहरूलाई निल्यो ।13 तपाईंको करारको बफादारीमा तपाईंले आफूले छुटकारा दिनुभएका मानिसहरूलाई डोर्‍याउनुभएको छ । तपाईंको शक्तिमा तपाईंले तिनीहरूलाई तपाईंको पवित्र वासस्थानमा डोर्‍याउनुभएको छ ।14 जाति-जातिहरूले सुन्‍नेछन्, र तिनीहरू थरथर काँप्‍नेछन् । त्रासले पलिश्तीहरूका बासिन्‍दाहरूलाई पक्रनेछ ।15 तब एदोमका मुखियाहरू डराउनेछन् । मोआबका सिपाहीहरू हल्लिनेछन् । कनानका सबै बासिन्‍दा पग्लनेछन् ।16 आतङ्‌क र त्रास उनीहरूमाथि पर्नेछन् । हे परमप्रभु, तपाईंका मानिसहरू पार नहोउञ्‍जेल र तपाईंले छुटकारा दिनुभएका मानिसहरू पार नहोउञ्‍जेल तपाईंको पाखुराको शक्तिको कारणले तिनीहरू पत्थरझैँ अचल रहनेछन् ।17 तपाईंले तिनीहरूलाई ल्याउनुहुनेछ, र तिनीहरूलाई तपाईंको उत्तराधिकारको पर्वतमा रोप्‍नुहुनेछ । हे परमप्रभु, यो त्‍यो ठाउँ हो जहाँ तपाईंले आफ्नो बासस्थान बनाउनुभयो, हे हाम्रा प्रभु जुन पवित्रस्थानलाई तपाईंका हातले बनाएका छन् ।18 परमप्रभुले सदासर्वदा शासन गर्नुहुनेछ ।19 किनकि फारोका घोडाहरू तिनीहरूका रथहरू र घोडचढीहरूसँगै समुद्रमा पुगे । परमप्रभुले तिनीहरूमाथि फेरि समुद्रको पानी फर्काएर ल्याउनुभयो । तर इस्राएलीहरू समुद्रको बीचमा ओबानो भूमिबाट हिँडेर गए ।20 हारूनकी दिदी अगमवादिनी मिरियमले खैँजडी लिइन्, र सबै स्‍त्रीले पनि खैँजडी लिँदै उनीसँगै नाचे ।21 मिरियमले तिनीहरूका निम्ति गाइन्, “परमप्रभुको निम्ति गाओ किनकि उहाँले महिमामा विजय हासिल गर्नुभएको छ । घोडा र यसको सवारलाई उहाँले समुद्रमा फालिदिनुभएको छ ।22 तब मोशाले इस्राएललाई लाल समुद्रबाट अगाडि लगे । तिनीहरू शूरको उजाड-स्थानमा लागे । तीन दिनसम्म तिनीहरूले उजाड-स्थानमा यात्रा गरे र पानी पाएनन् ।23 त्‍यसपछि तिनीहरू मारा भन्‍ने ठाउँमा आइपुगे, तर त्‍यहाँको पानी तीतो भएकोले तिनीहरूले पिउन सकेनन् । त्‍यसैले तिनीहरूले त्‍यस ठाउँको नाउँ मारा राखे ।24 त्‍यसकारण मानिसहरूले “हामीले के पिउने ?” भनी मोशालाई गनगन गरे ।25 मोशाले परमप्रभुलाई पुकारा गरे, र उहाँले तिनलाई एउटा बिरुवा देखाइदिनुभयो । मोशाले त्‍यसलाई पानीमा हाल्दा पानी पिउनलाई मिठो भयो । त्‍यहीँ नै परमप्रभुले तिनीहरूलाई कडा विधि दिनुभयो, त्‍यहाँ नै उहाँले तिनीहरूको जाँच गर्नुभयो ।26 उहाँले भन्‍नुभयो, “तिमीहरूले तिमीहरूका परमप्रभु परमेश्‍वरको आवाजलाई होशियारीपूर्वक सुन्‍यौ, र उहाँको दृष्‍टिमा जे ठीक छ त्‍यही गर्‍यौ, र तिमीहरूले उहाँका आज्ञाहरूमा ध्‍यान दियौ र उहाँका विधिहरू पालन गर्‍यौ भने मैले मिश्रीहरूमाथि ल्याएको कुनै पनि विपत्ति तिमीहरूमाथि ल्याउनेछैनँ किनकि म चङ्‌गाइ गर्ने परमेश्‍वर हुँ ।27 तब मानिसहरू एलीममा आइपुगे जहाँ पानीका बाह्र वटा मूल र सत्तरी वटा खजूरका रूख थिए । तिनीहरूले पानी नजिकै पाल टाँगे ।