14
तब परमप्रभुले मोशालाई यसो भन्नुभयो,2 “इस्राएलीहरू फर्केर मिग्दोल र समुद्रको बीचमा बाल-सेफोनको अगाडि पी-हहीरोतका सामु पाल टाँगेर बसून् । तिमीहरूले पी-हहीरोतको सामुन्ने समुद्रनेर पाल टाँग्नुपर्छ ।3 फारोले इस्राएलीहरूको बारेमा भन्नेछन्, “तिनीहरू देशमा भौतारिरहेका छन् । उजाड-स्थानले तिनीहरूलाई थुनिदिएको छ ।4 म फारोको हृदय कठोर बनाउनेछु र त्यसले तिमीहरूको पिछा गर्नेछ । फारो र त्यसका सबै सेनाको कारणले गर्दा मैले आदर पाउनेछु । म नै परमप्रभु हुँ भनी मिश्रीहरूले जान्नेछन् ।” इस्राएलीहरूलाई आज्ञा गरिएझैँ तिनीहरूले पाल टाँगे ।5 इस्राएलीहरू भागे भनी जब मिश्रका राजालाई बताइयो फारो र तिनका अधिकारीहरूको मन इस्राएलीहरूको विरुद्धमा फर्कियो । तिनीहरूले भने, “हामीले के गर्यौँ ? हामीले इस्राएललाई हाम्रो सेवा गर्नबाट छाडिदिएछौँ ।6 तब फारोले आफ्ना रथहरू तयार पारे र आफ्नो सेना लिएर अगाडि बढे ।7 तिनले छ सय वटा रोजाइका रथसाथै मिश्रका अन्य सबै रथहरू र तीमाथि अधिकृतहरूलाई लिएर गए ।8 परमप्रभुले मिश्रका राजा फारोको हृदय कठोर पारिदिनुभएको थियो । त्यसैले राजाले इस्राएलीहरूको पिछा गरे । इस्राएलीहरू विजयका साथ गइसकेका थिए ।9 तर मिश्रीहरूले आफ्ना सबै घोडा, रथ, घोडचढी र सेना लिएर तिनीहरूको पिछा गरे । तिनीहरूले इस्राएलीहरूलाई बाल-सेफोनको अगाडि पी-हहीरोतनेर पाल टाँगेर बसिरहेको भेट्टाए ।10 जब फारो नजिक आइपुगे इस्राएलीहरूले माथि हेरे र तिनीहरू छक्क परे । मिश्रीहरू तिनीहरूको पिछा गर्दै अगाडि बढ्दै थिए । इस्राएलीहरू अत्यन्तै डराए । तिनीहरूले परमप्रभुलाई पुकारे ।11 तिनीहरूले मोशालाई भने, “के मिश्रमा चिहान नभएकोले तपाईंले हामीलाई यस उजाड-स्थानमा मर्न ल्याउनुभएको हो ? मिश्रबाट बाहिर निकाली किन तपाईंले हामीसित यसरी व्यवहार गर्नुभएको ?12 के मिश्रमा छँदा नै हामीले यसको भनेका थिएनौँ र ? हामीले तपाईंलाई भन्यौँ, ‘मिश्रीहरूका निम्ति काम गर्न हामीलाई एक्लै छाडिदिनुहोस् ।’ उजाड-स्थानमा मर्नु भन्दा त तिनीहरूकै निम्ति काम गर्नु असल हुनेथियो ।13 मोशाले मानिसहरूलाई भने, “नडराओ । स्थिर रहो, र आज परमप्रभुले तिमीहरूलाई दिनुहुने छुटकारालाई हेर । किनकि आज तिमीहरूले देखेका यी मिश्रीहरूलाई तिमीहरूले फेरि कहिल्यै देख्नेछैनौ ।14 परमप्रभु तिमीहरूका पक्षमा लड्नुहुनेछ । तिमीहरू केवल स्थिर भएर बस ।15 तब परमप्रभुले मोशालाई भन्नुभयो, “ए मोशा, किन तँ मेरो पुकार गर्दै छस् ? इस्राएलीहरूलाई अगाडि बढ्न आज्ञा दे ।16 तेरो लट्ठी उठाएर तेरो हात समुद्रतिर पसार् र यसलाई दुई भागमा विभाजन गर् ताकि इस्राएलका मानिसहरू सुक्खा भूमिबाट हिँडेर जान सकून् ।17 मिश्रीहरू तिमीहरूका पिछा गरून् भनेर म तिनीहरूका हृदय कठोर पारिदिनेछु भन्ने कुरामा सचेत हो । फारो र त्यसका सबै सेना, त्यसका रथहरू र त्यसका घोडचढीहरूको कारणले मैले आदर पाउनेछु ।18 तब फारो र त्यसका सबै सेना, त्यसका रथहरू र त्यसका घोडचढीहरूको कारणले मैले आदर पाउँदा म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन् ।19 इस्राएलीहरूको अगिअगि गएका परमेश्वरका दूत त्यहाँबाट तिनीहरूका पछिल्तिर सरे । मिश्रको छाउनी र इस्राएलको छाउनीको बीचमा बादल आएर बस्यो ।20 यो मिश्रीहरूको लागि अन्धकार बादल थियो जब कि यसले इस्राएलीहरूलाई रातमा प्रकाश दिन्थ्यो । तिनीहरू रातभरि एक-अर्काको नजिक आएनन् ।21 मोशाले समुद्रतिर आफ्नो हात पसारे । परमप्रभुले रातभरि सबै भन्दा शक्तिशाली पूर्वीय बतास चलाइदिनुभयो र समुद्रलाई सुक्खा भूमिमा परिणत गराइदिनुभयो ।22 इस्राएलीहरू समुद्रको बीचबाट ओबानो भूमिबाट गए । पानीले तिनीहरूको दायाँ र बायाँ खम्बाको रूपमा काम गर्यो ।23 मिश्रीहरूले तिनीहरूको पिछा गरिरहे । फारोका सबै घोडा, रथ र घोडचढीहरू समुद्रको बीचमा तिनीहरूको पछिपछि लागे ।24 तर बिहानी पखतिर परमप्रभुले आगो र बादलको खाँबोबाट मिश्री सेनालाई हेर्नुभयो । उहाँले मिश्रीहरूका बीचमा अलमल गराइदिनुभयो ।25 तिनीहरूका रथका पाङ्ग्राहरू फुस्काइदिनुभयो र घोडचढीहरूलाई अगाडि बढ्न मुश्किल भयो । त्यसैले मिश्रीहरूले भने, “हामी इस्राएलबाट भागौँ किनकि परमप्रभु नै तिनीहरूको पक्षमा रही हाम्रो विरुद्धमा लड्दै हुनुहुन्छ ।26 परमप्रभुले मोशालाई भन्नुभयो, “पानी मिश्रीहरू, तिनीहरूका रथहरू र तिनीहरूका घोडचढीहरूमाथि आओस् भनेर तेरो हात समुद्रमाथि पसार् ।27 त्यसैले मोशाले आफ्नो हात समुद्रमाथि पसारे र बिहान हुँदा यो आफ्नो सामान्य मार्गमा आयो । मिश्रीहरू समुद्रमा भागे, र परमप्रभुले मिश्रीहरूलाई समुद्रको बीचमा फ्याँकिदिनुभयो ।28 पानी फर्केर आयो र इस्राएलीहरूको पिछा गर्ने फारोका रथ, घोडचढी र तिनका पूरै सेनालाई पानीले ढाकिदियो । कोही पनि बाँचेन ।29 तर इस्राएलीहरू समुद्रको बीचमा ओबानो भूमिबाट हिँडेर गए । पानी तिनीहरूको दायाँ र बायाँ पर्खालको रूपमा खडा रह्यो ।30 यसरी त्यस दिन परमप्रभुले इस्राएललाई मिश्रीहरूको हातबाट बचाउनुभयो, र इस्राएलले समुद्री तटमा मिश्रीहरूका लाशहरू देखे ।31 परमप्रभुले मिश्रीहरूको विरुद्धमा प्रयोग गर्नुभएको महान् शक्तिलाई जब इस्राएलले देख्यो मानिसहरूले परमप्रभुको आदर गरे, र तिनीहरूले परमप्रभु र उहाँका दास मोशामाथि भरोसा गरे ।