17
परमप्रभुको निर्देशन मानी इस्राएलीहरूको सारा समुदाय सीनको उजाड-स्थानबाट यात्रा गरे । तिनीहरूले रपीदीममा छाउनी हाले, तर त्‍यहाँ मानिसहरूलाई पिउन पानी थिएन ।2 त्‍यसैले मानिसहरूले तिनीहरूको अवस्थाको निम्ति मोशालाई दोष लगाए र भने, “हामीलाई पिउन पानी दिनुहोस् ।” मोशाले भने, “तिमीहरू किन मसित झगडा गर्छौ ? तिमीहरू किन परमप्रभुको जाँच गर्छौ ?3 मानिसहरू तिर्खाएका थिए । त्‍यसैले तिनीहरूले मोशाको विरुद्धमा गनगन गरे । तिनीहरूले भने, “तपाईंले हामीलाई मिश्रबाट किन निकालेर ल्याउनुभएको ? हामी, हाम्रा छोराछोरीहरू र हाम्रा गाईवस्तुलाई तिर्खाले मार्नलाई ?4 तब मोशाले परमप्रभुलाई पुकारा गरे, “यी मानिसहरूलाई मैले के गर्ने ? तिनीहरू मलाई ढुङ्‌गा हान्‍न झण्डै तयार छन् ।5 परमप्रभुले मोशालाई भन्‍नुभयो, “मानिसहरू भन्‍दा अगाडि जा, र इस्राएलका केही धर्म-गुरुहरूलाई पनि आफूसँगै लैजा । तैँले नदीमा प्रहार गरेको लट्ठी पनि सँगै लिएर जा ।6 म होरेब पर्वतमा चट्टानमा तेरो सामु खडा हुनेछु, र तैँले चट्टानलाई हिर्का । मानिसहरूलाई पिउन चट्टानबाट पानी निस्केर आउनेछ ।” तब मोशाले इस्राएलका धर्म-गुरुहरूको दृष्‍टिमा त्‍यसै गरे ।7 इस्राएलीहरूको गनगन र “परमप्रभु हाम्रा बीचमा हुनुहुन्‍छ कि हुनुहुन्‍न ?” भनी तिनीहरूले परमप्रभुको जाँच गरेकाले तिनले त्‍यस ठाउँको नाउँ मस्साह र मेरीबा राखे ।8 तब रपीदीममा अमालेक जातिका सेना आएर इस्राएललाई आक्रमण गरे ।9 त्‍यसैले मोशाले यहोशूलाई भने, “केही मानिसहरू छानेर जाऊ र अमालेकीहरूसित युद्ध गर । भोलि म परमेश्‍वरको लट्ठी मेरो हातमा लिएर पर्वतको टुप्‍पोमा उभिनेछु ।10 त्‍यसैले मोशाको आज्ञामुताबिक यहोशू अमालेकीहरूको विरुद्धमा लडे जब कि मोशा, हारून र हूरचाहिँ पर्वतको टुप्‍पोमा उक्ले ।11 मोशाले आफ्ना हात माथि उठाउँदा इस्राएलले जित्थ्यो भने तिनले आफ्ना हात तल झार्दा अमालेकीहरूले जित्‍न थाल्थे ।12 मोशाका हात थाक्दा हारून र हूरले एउटा ढुङ्‌गा ल्याएर तीमुनि राखिदिन्‍थे । त्‍यसै बेला हारून एकापट्टि र हूर अर्कोपट्टि बसेर तिनका हात माथि उठाउँथे । सूर्यास्त नहोउञ्‍जेलसम्म मोशाका हात थामिए ।13 अनि यहोशूले अमालेकीहरूलाई तरवारले पराजित गरे ।14 परमप्रभुले मोशालाई भन्‍नुभयो, “यो कुरा एउटा पुस्तकमा लेख् र त्‍यो यहोशूलाई बताइदे किनकि म अमालेकीहरूको स्मृति आकाशमुनिबाट पूर्ण रूपमा नामेट पारिदिनेछु ।15 तब मोशाले त्‍यहाँ एउटा वेदी बनाए र त्‍यसको नाउँ “परमप्रभु मेरो झण्डा हुनुहुन्‍छ” राखे ।16 तिनले भने, “पुस्तादेखि पुस्तासम्म परमप्रभु नै अमालेकीहरूसित लड्नुभएको होस् भनेर उहाँको सिंहासनतिर हात उचालिएको थियो ।”