4
मोशाले जवाफ दिए, “तर तिनीहरूले विश्‍वास गरेनन् वा मेरो कुरा नसुनी ‘परमप्रभु तिमीकहाँ देखा पर्नुभएको होइन’ भनेमा के गर्ने नि ?”2 परमप्रभुले तिनलाई भन्‍नुभयो, “तेरो हातमा के छ ?” मोशाले भने, “लट्ठी ।”3 परमप्रभुले भन्‍नुभयो, “त्‍यसलाई भुइँमा फाल् ।” मोशाले त्‍यसलाई भुइँमा फाले र त्‍यो सर्प भयो । मोशा दौडेर भागे ।4 परमप्रभुले मोशालाई भन्‍नुभयो, “तेरो हात पसारेर त्‍यसको पुच्‍छर समात् ।” त्‍यसैले तिनले आफ्नो हात पसारेर त्‍यस सर्पलाई समाते । त्‍यो फेरि तिनको हातमा लट्ठी भयो ।5 “तिनीहरूका पिता-पुर्खाका परमप्रभु परमेश्‍वर अर्थात् अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वर तँकहाँ देखा पर्नुभएको थियो भनी तिनीहरूले विश्‍वास गरून् भन्‍नाका लागि यो चिन्ह हुनेछ ।6 परमप्रभुले तिनलाई यसो पनि भन्‍नुभयो, “अब तेरो हात आफ्नो खास्टोभित्र राख् ।” त्‍यसैले मोशाले आफ्नो हात खास्टोभित्र राखे । तिनले बाहिर निकाल्दा तिनको हातमा हिउँ जस्‍तै सेतो कुष्‍ठरोग लागेको थियो ।7 परमप्रभुले भन्‍नुभयो, “फेरि तेरो हात खास्टोभित्र राख् ।” त्‍यसैले मोशाले आफ्नो हात खास्टोभित्र राखे र तिनले हात बाहिर निकाल्दा त्‍यो तिनको शरीरको अरू मासु जस्‍तै स्वस्थ भएको थियो ।8 परमप्रभुले भन्‍नुभयो, “तिनीहरूले मेरो शक्तिको पहिलो चिन्हलाई ध्‍यान दिएनन् वा विश्‍वास गरेनन् भने तिनीहरूले दोस्रो चिन्हलाई विश्‍वास गर्नेछन् ।9 तिनीहरूले मेरो शक्तिका यी दुईवटै चिन्हलाई पनि विश्‍वास गरेनन् वा तेरो कुरा सुनेनन् भने नदीबाट थोरै पानी लिएर जा र त्‍यसलाई सुक्खा भूमिमा खन्‍या । तैँले लिएर जाने पानी सुक्खा भूमिमा रगत बन्‍नेछ ।10 तब मोशाले परमप्रभुलाई भने, “हे प्रभु, म बोल्नमा सिपालु छैनँ, न पहिले थिएँ न त तपाईं आफ्ना दाससित बोल्नुभएपछि नै । म बोल्न र जिब्रो चलाउनमा सुस्त छु ।11 परमप्रभुले तिनलाई भन्‍नुभयो, “मानिसको मुख बनाउने को हो ? मानिसलाई गुँगो वा बैरो वा दृष्‍टिविहीन बनाउने को हो ? के म परमप्रभुले नै होइनँ र ?12 त्‍यसैले अब जा र म तेरो मुखमा भएर के भन्‍ने भनी तँलाई सिकाउनेछु ।13 तर मोशाले भने, “हे प्रभु, तपाईंले इच्‍छा गर्नुभएको अरू कसैलाई पठाउनुहोस् ।14 तब परमप्रभु मोशासित रिसाउनुभयो र भन्‍नुभयो, “तेरो दाजु लेवी हारून छैन र ? त्‍यसले राम्ररी बोल्न सक्छ भनी मलाई थाहा छ । यसको अतिरिक्त, त्‍यो तँलाई भेट्न आउँदै छ र त्‍यसले तँलाई देख्दा त्‍यो हृदयमा खुसी हुनेछ ।15 तँ त्‍यससित कुरा गर् र त्‍यसले भन्‍नुपर्ने कुरा त्‍यसलाई बताइदे । म तिमीहरू दुवैसित हुनेछु र के गर्ने भनी म तिमीहरू दुवैलाई देखाउनेछु ।16 त्‍यसले तेरो लागि मानिसहरूसित बोल्नेछ । त्‍यो तेरो प्रवक्ता हुनेछ र तँ त्‍यसको लागि म जस्‍तै परमेश्‍वर हुनेछस् ।17 तैँले तेरो हातमा यो लट्ठी लैजा । यसले तैँले चिन्हहरू गर्नेछस् ।18 त्‍यसैले मोशा आफ्ना ससुरा यित्रोकहाँ गई तिनलाई भने, “मलाई मिश्रमा भएका मेरा आफन्‍तहरू जीवितै छन् कि छैनन् भनी हेर्न फर्केर जान दिनुहोस् ।” यित्रोले मोशालाई भने, “शान्‍तिसित जाऊ ।19 परमप्रभुले मिद्यानमा मोशालाई भन्‍नुभयो, “फर्केर मिश्रमा जा किनकि तेरो जीवन लिन खोज्‍नेहरू सबै मरिसकेका छन् ।20 आफ्नी पत्‍नी र आफ्ना छोराहरू गधामा चढाएर मोशा बाटो लागे । तिनी मिश्र देशमा फर्के र तिनले परमेश्‍वरको लट्ठी आफूसँगै लगेका थिए ।21 परमप्रभुले मोशालाई भन्‍नुभयो, “तँ मिश्रमा फर्केर जाँदा मैले तेरो शक्तिमा राखिदिएका सबै अचम्मका कामहरू तैँले फारोको सामु गरेर देखा । तर म त्‍यसको हृदय कठोर पार्नेछु र त्‍यसले मानिसहरूलाई जान दिनेछैन ।22 तैँले फारोलाई यसो भन्‍नू, “परमप्रभु यसो भन्‍नुहुन्‍छ, ‘इस्राएल मेरो जेठो छोरो हो,23 र म तँलाई भन्‍दछु, ‘मेरो छोरोलाई जान दे ताकि त्‍यसले मेरो आराधना गरोस् ।’ तर तैँले त्‍यसलाई जान दिन इन्कार गरेकोले निश्‍चय नै म तेरो जेठो छोरोलाई मार्नेछु’ ।24 अब बाटोमा बास बस्‍ने ठाउँमा तिनीहरू रोकिँदा परमप्रभुले मोशालाई भेटी तिनलाई मार्न खोज्‍नुभयो ।25 त्‍यसपछि सिप्‍पोराले चकमके कर्द लिई आफ्नो छोरोको खलडी काटेर त्‍यसलाई मोशाको खुट्टामा छुवाइन् ।26 तब उनले भनिन्, “निश्‍चय नै तपाईं रगतद्वारा मेरो दुलहा हुनुहुन्‍छ ।” त्‍यसैले परमप्रभुले तिनलाई एक्लै छाडिदिनुभयो । यो खतनाको कारणले “तपाईं मेरो दुलहा हुनुहुन्‍छ” भनी उनले भनिन् ।27 परमप्रभुले हारूनलाई भन्‍नुभयो, “उजाड-स्थानमा मोशालाई भेट्न जा ।” हारून गए र तिनले मोशालाई परमेश्‍वरको पर्वतमा भेटी चुम्बन गरे ।28 परमप्रभुले मोशालाई भनेर पठाउनुभएका सबै कुरा र देखाउनू भनी आज्ञा गर्नुभएका सबै चिन्हको बारेमा मोशाले हारूनलाई बताए ।29 तब मोशा र हारून गएर इस्राएलीहरूका सबै धर्म-गुरुलाई भेला गराए ।30 परमप्रभुले मोशालाई भन्‍नुभएका सबै कुरा हारूनले बताए । तिनले परमप्रभुको शक्तिका चिन्हहरू पनि मानिसहरूका सामु गरेर देखाइदिए ।31 मानिसहरूले विश्‍वास गरे । परमप्रभुले इस्राएलीहरूको वास्ता गर्नुहुन्‍छ र उहाँले तिनीहरूमाथि गरिएको थिचोमिचो देख्‍नुभएको छ भनी जब तिनीहरूले सुने, तिनीहरूले आ-आफ्ना शिर झुकाई उहाँको आराधना गरे ।