5
यी कुराहरूपछि मोशा र हारून फारोकहाँ गएर भने, “इस्राएलका परमप्रभु यसो भन्नुहुन्छ, ‘उजाड-स्थानमा चाड मनाउनलाई मेरा मानिसहरूलाई जान दे’ ।2 फारोले भने, “परमप्रभु को हुनुहुन्छ ? उहाँको कुरा सुनेर मैले इस्राएललाई किन जान दिने ? म परमप्रभुलाई चिन्दिनँ, र म इस्राएललाई जान दिन्नँ ।3 तिनीहरूले भने, “हिब्रूहरूका परमेश्वरले हामीलाई भेट्नुभएको छ । तीन दिनको यात्रा गरी उजाड-स्थानमा गई परमप्रभु हाम्रा परमेश्वरको निम्ति बलिदान चढाउन दिनुहोस् ताकि उहाँले हामीलाई विपत्ति वा तरवारले नाश नगर्नुभएको होस् ।4 तर मिश्रका राजाले तिनीहरूलाई भने, “ए मोशा र हारून हो, तिमीहरू मानिसहरूका काममा किन अवरोध गर्छौ ? तिमीहरूका काममा जाओ ।5 तिनले यसो पनि भने, “अहिले हाम्रो देशमा धेरै मानिस छन्, र तिमीहरू तिनीहरूलाई काम गर्नबाट रोक्दै छौ ।6 त्यही दिन फारोले मानिसका नाइकेहरू र मजदुरहरूलाई यस्तो हुकुम दिए,7 “पहिलेझैँ तिमीहरूले मानिसहरूलाई इँट बनाउन पराल नदेओ । तिनीहरू आफै गएर तिनीहरूका निम्ति पराल जम्मा गरून् ।8 तरै पनि तिमीहरूले तिनीहरूबाट पहिले जत्तिकै इँटको सङ्ख्या माग्नू । त्यो भन्दा कम स्वीकार नगर किनकि तिनीहरू अल्छे भएका छन् । त्यसैले तिनीहरू यसो भन्दै कराउँछन्, ‘हाम्रा परमेश्वरकहाँ गएर बलिदान चढाउन हामीलाई अनुमति दिनुहोस् ।’9 यी मानिसहरूलाई कामको बोझ बढाइदेओ ताकि तिनीहरू यसमा लागिराखेर छली वचनहरूतर्फ ध्यान नदिऊन् ।10 त्यसैले मानिसका नाइकेहरू र मजदुरहरू बाहिर गई तिनीहरूले मानिसहरूलाई भने,” फारो यसो भन्नुहुन्छ, ‘अबदेखि उसो म तिमीहरूलाई पराल दिन्नँ ।11 जहाँ-जहाँ पराल पाइन्छ तिमीहरू आफै गएर ल्याओ, तर तिमीहरूको कामको बोझ भने घटाइनेछैन’ ।12 त्यसैले मानिसहरू परालका टुक्राटाक्री बटुल्न मिश्रभरि छरिए ।13 नाइकेहरूले तिनीहरूलाई यसो भनिरहे, “तिमीहरूलाई पराल दिँदा जस्तै गरी तिमीहरूको काम सक ।14 फारोका नाइकेहरूले इस्राएली नाइकेहरूलाई पिटे । यी तिनै मानिसहरू थिए जसलाई कामदारहरूको रेखदेख गर्न राखिएको थियो । नाइकेहरूले यसो भनेर सोधिरहे, “तिमीहरूले विगतमा गरेझैँ हिजोआज किन चाहेजति इँटहरू बनाइरहेका छैनौ ?15 त्यसैले इस्राएली नाइकेहरू फारोकहाँ आएर बिन्ती गरे, “तपाईंले हजुरका दासहरूलाई किन यस्तो व्यवहार गर्दै हुनुहुन्छ ?16 हजुरका दासहरूलाई पराल नदिएको भए तापनि तिनीहरू हामीलाई यसो भन्दै छन्, ‘इँटहरू बनाओ ।’ अब हामी हजुरका दासहरूलाई पिटिन पनि थालिएको छ । तर यो त हजुरका आफ्नै मानिसहरूको दोष हो ।17 तर फारोले भने, “तिमीहरू अल्छे छौ । तिमीहरू अल्छे छौ । तिमीहरू भन्छौ, ‘परमप्रभुलाई बलिदान चढाउन हामीलाई जान अनुमति दिनुहोस् ।’18 त्यसैले काममा फर्केर जाओ । तिमीहरूलाई अब उसो पराल दिइनेछैन, तरै पनि तिमीहरूले उही सङ्ख्यामा इँटहरू बनाउनुपर्छ ।19 “तिमीहरूले दैनिक उत्पादन गर्ने इँटहरूको सङ्ख्या कम हुनुहुँदैन” भनी इस्राएली नाइकेहरूलाई बताइँदा तिनीहरू कष्टमा भएको तिनीहरूले देखे ।20 तिनीहरूले फारोकहाँबाट फर्केपछि मोशा र हारूनलाई भेटे जो दरबारबाहिर उभिरहेका थिए ।21 तिनीहरूले मोशा र हारूनलाई भने, “परमप्रभुले तपाईंहरूलाई हेरी दण्ड दिनुभएको होस् किनकि तपाईंहरूले हामीलाई फारो र उहाँका दासहरूको दृष्टिमा तिरस्कृत तुल्याउनुभएको छ । हामीलाई मार्न तपाईंहरूले तिनीहरूका हातमा तरवार थमाइदिनुभएको छ ।22 मोशा परमप्रभुकहाँ गई भने, “हे प्रभु, तपाईंले किन यो जातिमा कष्ट ल्याउनुभएको ? तपाईंले पहिले मलाई किन दरबारमा पठाउनुभयो ?23 तपाईंको नाउँमा म फारोसित बोल्न आएदेखि तिनले यस जातिलाई कष्ट ल्याएका छन्, र तपाईंले अझै पनि आफ्नो जातिलाई मुक्त गर्नुभएको छैन ।”