3
अब मोशा अझै पनि आफ्ना ससुरा मिद्यानका पूजाहारी यित्रोका भेडा-बाख्रा चराउँदै थिए । तिनले भेडा-बाख्रालाई उजाड-स्थानको परसम्म लगी परमेश्‍वरको पर्वत होरेबसम्म लगे ।2 त्‍यहाँ परमप्रभुका दूत जलिरहेको पोथ्रामा तिनीकहाँ देखा परे । मोशाले हेर्दा त्‍यो पोथ्रा जलिरहेको थियो तर भस्म भएको थिएन ।3 मोशाले भने, “म एकातिर गएर यो गजबको दृश्य किन भस्म भएको रहेनछ भनी हेर्नेछु ।4 जब तिनी हेर्नलाई एकातिर गएको परमप्रभुले देख्‍नुभयो तब उहाँले पोथ्राबाट तिनलाई भन्‍नुभयो, “मोशा, ए मोशा ।” तिनले भने, “म यहीँ छु ।5 परमेश्‍वरले भन्‍नुभयो, “अझ नजिक नआइज । तेरो खुट्टाबाट तेरो जुत्ता फुकाल् किनकि तँ उभिएको भूमि मेरो लागि अलग गरिएको छ ।6 उहाँले थप्‍नुभयो, “म तेरा पिता अब्राहाम, इसहाक र याकूबका परमेश्‍वर हुँ ।” त्‍यसपछि मोशाले आफ्नो अनुहार ढाके किनकि तिनी परमेश्‍वरलाई हेर्न डराएका थिए ।7 परमप्रभुले भन्‍नुभयो, “निश्‍चय नै मिश्रमा भएका मेरा मानिसहरूको दुःखकष्‍ट मैले देखेको छु । तिनीहरूका नाइकेहरूको कारणले तिनीहरूको रुवाइ मैले सुनेको छु किनकि मलाई तिनीहरूको दुःखकष्‍ट थाहा छ ।8 तिनीहरूलाई मिश्रीहरूको शक्तिबाट छुटकारा दिलाई असल, विशाल अनि दूध र मह बग्‍ने देशमा लैजान म ओर्लिआएको छु । त्‍यो कनानी, हित्ती, एमोरी, परिज्‍जी, हिव्वी र यबूसीहरूको देश हो ।9 अब इस्राएलका मानिसहरूको रुवाइ मकहाँ आइपुगेको छ । यसको अतिरिक्त, मिश्रीहरूद्वारा तिनीहरूमाथि गरिएको थिचोमिचोलाई पनि मैले देखेको छु ।10 अब म तँलाई फारोकहाँ पठाउनेछु ताकि तैँले मेरा मानिस इस्राएलीहरूलाई मिश्रबाट निकालेर लैजान सक् ।11 तर मोशाले परमेश्‍वरलाई भने, “फारोकहाँ गई मिश्रबाट इस्राएलीहरूलाई निकालेर ल्याउने म को हुँ र ?12 परमेश्‍वरले जवाफ दिनुभयो, “निश्‍चय नै म तँसित हुनेछु । मैले तँलाई पठाएको हुँ भन्‍नाका लागि चिन्हचाहिँ यो हुनेछ । तैँले ती मानिसहरूलाई मिश्रबाट बाहिर ल्याएपछि तैँले यही पर्वतमा मेरो आराधना गर्नेछस् ।13 मोशाले परमेश्‍वरलाई भने, “म इस्राएलीहरूकहाँ गई ‘तिमीहरूका पिता-पुर्खाका परमेश्‍वरले मलाई तिमीहरूकहाँ पठाउनुभएको छ’ भन्‍दा तिनीहरूले ‘उहाँको नाउँ के हो’ भनी सोधे भने मैले तिनीहरूलाई के जवाफ दिने ?14 परमेश्‍वरले मोशालाई भन्‍नुभयो, “म हुँ जो म हुँ ।” उहाँले भन्‍नुभयो, “तैँले इस्राएलीहरूलाई यसो भन्‍नू, ‘म हुँ भन्‍नेले मलाई तिमीहरूकहाँ पठाउनुभएको छ’ ।15 परमेश्‍वरले मोशालाई यसो पनि भन्‍नुभयो, “तैँले इस्राएलीहरूलाई यसो भन्‍नैपर्छ, ‘तिमीहरूका पिता-पुर्खाका परमेश्‍वर अर्थात् अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वरले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो । मेरो नाउँ सदासर्वादको लागि यही हो र यही नाउँद्वारा पुस्तौँसम्म मेरो सम्झना गरिनेछ’ ।16 गएर इस्राएलका धर्म-गुरुहरूलाई भेला गर् । तिनीहरूलाई यसो भन्‍नू, “तिमीहरूका पिता-पुर्खाका परमेश्‍वर अर्थात् अब्राहाम, इसहाक र याकूबका परमेश्‍वर मकहाँ देखा परी भन्‍नुभयो, ‘मैले वास्तवमै तिमीहरूलाई अवलोकन गरेको छु र तिमीहरूलाई मिश्रमा के गरिएको छ भनी देखेको छु ।17 तिमीहरूले मिश्रमा भोगेको थिचोमिचोबाट मुक्त गरी दूध र मह बग्‍ने देश अर्थात् कनानी, हित्ती, एमोरी, परिज्‍जी, हिव्वी र यबूसीहरूको देशमा लैजाने मैले प्रतिज्ञा गरेको छु ।’18 तिनीहरूले तेरो कुरा सुन्‍नेछन् । तँ र इस्राएलका धर्म-गुरुहरू मिश्रका राजाकहाँ गई त्‍यसलाई यसो भन्‍नू, ‘हिब्रूहरूका परमप्रभुले हामीलाई भेट्नुभएको छ । अब हामी तीन दिनको यात्रा गरी उजाड-स्थानमा जाऔँ ताकि हाम्रा परमप्रभु परमेश्‍वरलाई हामीले बलिदान चढाउन सकौँ ।’19 तर राजा बाध्‍य नपारिएसम्म त्‍यसले तिमीहरूलाई जान दिनेछैन भनी मलाई थाहा छ ।20 म मेरो हात फैलाइ मैले मिश्रीहरूका बीचमा गर्ने सबै आश्‍चर्यकर्मले तिनीहरूलाई आक्रमण गर्नेछु । त्‍यसपछि त्‍यसले तिमीहरूलाई जान दिनेछ ।21 म यस जातिमाथि मिश्रहरूलाई निगाह गर्न लगाउनेछु ताकि तिमीहरू जाँदा रित्तो हात जान नपरोस् ।22 हरेक स्‍त्रीले आ-आफ्ना मिश्री छिमेकीहरू र तिनीहरूका घरहरूमा बस्‍ने कुनै पनि स्‍त्रीहरूबाट सुन र चाँदीका गरगहनाहरूसाथै लत्ता कपडाहरू माग्‍नेछ । तिमीहरूले ती आ-आफ्ना छोराछोरीहरूलाई लगाइदिनेछौ । यसरी तिमीहरूले मिश्रीहरूलाई लुट्नेछौ ।”